मुस्ताङमा मात्र ३२ मेगावाट वायु ऊर्जाको सम्भावना


विकट हिमाली जिल्ला मुस्ताङमा मात्र उन्नत वायु (हावा) तथा सौर्य ऊर्जा (सोलार) बाट मात्र ३२ मेगावाटको विद्युत उत्पादन हुने एक अध्ययनले देखाएको छ ।

नेपाली र स्पेनिस नागरिकले संयुक्त रुपमा स्थापना गरेको बुद्ध पावर कम्पनीले मुस्ताङ उपत्यकाको बर्तमान अवस्था तथा भविष्यको हरित ऊर्जा विकास योजना सम्बनधी अध्ययनले यस्तो देखाएको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले नेपालभर ३ हजार मेगावाट बराबरको विद्युत हावाबाट उत्पादन हुन सक्ने प्रक्षेपण गरेको छ । कम्पनीले स्पेनिस इन्जिनियरहरू समेत ल्याएर तीन महिना मुस्ताङ उपत्यकाको अध्ययन गरेको थियो । कम्पनीका अध्यक्षसमेत रहेका स्पेनिस नागरिक राफेल भिनासपिच, सञ्चालक पुष्पराज तिमल्सिना, स्पेनिस इन्जिनियरद्वय मार्क भर्दागेर र कासी भर्दागेर, इन्जिनियर मनबहादुर खड्का लगायतले तीन महिना लगाएर मुस्ताङ उपत्यकाको अध्ययन गरेको थियो ।

अध्ययनको प्रतिवेदन कम्पनीले ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री वर्षमान पुनलाई हस्तान्तरण गरेको छ । स्पेनबाट हावा नाप्ने मेसिन ल्याएर विस्तृत रुपमा अध्ययन गरिएको सञ्चालक तिमल्सिनाले जानकारी दिए । ‘मुस्ताङ उपत्यकामा तीन महिनासम्म लगाएर गरेको अध्ययनले ३२.४२२ मेगावाट विद्युत उत्पादन हुने देखिएको छ ।’ उनले भने, ‘अध्ययनले यति धेरै हावाबाट बिजुली उत्पादन हुने देखिएपछि बिजुली निकाल्नका लागि युरोपबाट लगानी ल्याउने प्रयास थालेका छौँ ।’

कम्पनीले कागवेनी, जोमसोम, मुक्तिनाथ, मार्फा, थिनी र झोङमा अध्ययन गरी लेते, खुम्जो, खोवाङ, टुकुचे, मार्फा, जोमसोम, कागवेनी, मुक्तिनाथ, झोङ, छुसाङ, लोमाङथान, गामी, चराङ, सुर्खाङ, चोनुप, छोसेरलगायतका गाउँमा उन्नन वायु तथा सोलार ऊर्जा उत्पादन गर्न सकिने पत्ता लगाएको थियो । ठूला वायु ऊर्जाभन्दा साना निर्माण गरी नेपाल विद्युत प्राधिकरणको ग्रिडमा बिक्री गर्न सकिने अध्ययनले देखाएको छ । ‘आर्थिक तथा प्राविधिक दुबै रुपमा मुस्ताङमा वायु ऊर्जाको सम्भावना देखिएको छ ।’ कम्पनीका अध्यक्ष भिनासपिचले भने, ‘अध्ययनपछि हावाबाट विजुली निकालेर व्यापारिक रुपमा अघि बढाउन सकिने देखिएको छ ।’

कम्पनीले एक वर्षभित्र सबै गाउँमा हावाबाट विजुली निकाल्न सकिने दाबी गरेको छ । ‘सरकारले अनुमति दियो भने एक वर्षभित्र ऊर्जा उत्पादन गर्न सक्छौँ ।’ सञ्चालक तिमल्सिनाले भने, ‘ठूला क्षमताका भन्दा धेरै गाउँमा थोरै क्षमताको उत्पादन गरेर एकीकृत रुपमा ग्रिडमा जोड्ने गरी आयोजना बन्छन् ।’

हाइब्रिड प्रविधिको प्रस्ताव
कम्पनीले मुस्ताङमा हाइब्रिड प्रविधिको वायु तथा सोलार ऊर्जा आयोजनाहरू निर्माणको प्रस्ताव गरेको छ । दैनिक १० घण्टा हावाबाट र ८ घण्टा सोलारबाट विद्युत उत्पादन गर्न सक्ने प्रस्ताव गरेको छ । प्राविधिकहरूका अनुसार यो हाइब्रिड प्रणालीमा सोलार र वायु ऊर्जा प्रणाली संयुक्त रुपमा जडान गरिएको हुन्छ, जुन स्वत खपत प्रणालीमा आधारित हुन्छ । हावा चलेको बेलामा हावाबाट र नचलेको बेला सोलारबाट विद्युत उत्पादन हुनेछ । यो प्रविधिको प्रयोग गरी कम्पनीले मुस्ताङमा तीन किलोवाटको उन्नत वायु तथा सोलार आयोजना निर्माण गरिसकेको छ । उक्त आयोजना कम्पनीका अध्यक्ष राफेलले ऊर्जा जलस्रोत तथा सिञ्चाइ मन्त्री पुनलाई हस्तान्तरण गरिसकेका छन् । सो अवसरमा कम्पनीले निर्माण गरेको मौसम मापन केन्द्र पनि हस्तान्तरण गरेको थियो । १८ महिनादेखि सञ्चालनमा ल्याइएका ऊर्जा केन्द्र र मापन केन्द्र हालै सरकारलाई हस्तान्तरण गरिएको छ । सो केन्द्रको दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । उक्त प्रविधिबाट कम्पनीले विद्युत उत्पादन गरेर देखाइसकेकाले उक्त प्रविधि नेपालका लागि उपयुक्त हुने कम्पनीको दाबी छ ।

‘जलविद्युतभन्दा लागत सस्तो’
मुस्ताङमा गरेको अध्ययनले जलविद्युतभन्दा कम लागतमा हावाबाट बिजुली उत्पादन हुन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका सञ्चालक तिमल्सिनाका अनुसार, प्रति मेगावाट १४ करोडमै यस्ता आयोजनाहरू बनाउन सकिन्छ । जब कि जलविद्युत प्रति मेगावाटको लागत २० करोड रुपैयाँ पुग्न लागेको छ । अध्ययनका अनुसार, ब्याट्री बिनाको वायु तथा सोलार ऊर्जाको लागत प्रति युनिट ८.४० पैसा छ भने ब्याट्री बिनाको वायु ऊर्जाको लागत प्रति युनिट ९.०१ रुपैयाँ मात्र छ ।

‘आवश्यक लगानी युरोपबाट’
आयोजनाहरूका लागि आवश्यक पर्ने लगानी तथा ऋण युरोपबाट ल्याउन सकिने सञ्चालक तिमल्सिनाले जानकारी दिए । उनका अनुसार युरोपियन बैंकहरूमा कम्पनीले यसबारे छलफल गरिसकेको र बैंकहरू पनि दिन तयार भएका छन् भने कम्पनी पनि सरकारलाई प्रतिवेदन बुझाएर सरकारको अनुमति पर्खेर बसेको छ । कम्पनीले ५० मेगावाटसम्मको उन्नत वायु तथा सोलारबाट विद्युत उत्पादन गर्न सकिने जनाएको छ । कम्पनीले ७ अर्ब बराबरको लागत आयोजनाका लागि आवश्यकता रहेको जनाएको छ ।

प्रधानमन्त्रीको हावाबाट बिजुली निकाल्ने सपना उपयुक्त
दुई दशकभन्दा बढी युरोपियन मुलुकमा बिताएका बुद्ध कम्पनीका सञ्चालक तिमल्सिना प्रधानमन्त्री केपी शर्मा ओलीको हावाबाट बिजुली निकाल्ने सपना उपयुक्त र सम्भव भएको बताउँछन् । प्रधानमन्त्रीको हावाबाट बिजुली निकाल्ने सपनालाई हावादारी भन्दै व्यापाक विरोध भए पनि उनी ओलीको सपना सही भएको तर्क गर्छन् । आफूहरूले मुस्ताङमा उत्पादन गरेर देखाएको बताउँदै सरकारले अनुमति दिएमा हावाबाट एक सय मेगावाटसम्म बिजुली निकाल्न कम्पनी तयार रहेको उनको तर्क छ ।

१० स्थानमा साना वायुबाट बिजुली

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका अनुसार विभिन्न १० जिल्लामा साना हाइब्रिड वायु तथा सोलार ऊर्जा उत्पादन गरिएको छ । ओखलढुङ्गा, नगरकोट, बुटवल, मुस्ताङको कागवेनी र थिनी, पाल्पाको बतासेडाँडा, रामेछाप, मकवानपुरको फखेल, प्यूठानको नेटाका साथै केन्द्रको आफ्नो भवनमा वायुमार्फत विद्युत उत्पादन गरिएको छ । त्यसैगरी नवलपरासीको धौबढीमा एसियाली विकासले ५÷५ किलोवाटका दुई वायुबाट ऊर्जा उत्पादन गरिएको छ ।

वायुबाट ऊर्जा उत्पादन गर्न लाइसेन्स
विद्युत विकास विभागको तथ्याङ्कअनुसार ६ मेगावाटका चार आयोजनाले हावाबाट बिजुली निकाल्नका लागि सर्भे अनुमतिपत्र (लाइसेन्स) लिएका छन् भने एक मेगावाटको एक आयोजनाले लाइसेन्सका लागि विभागमा आवेदन दिएको छ । विभागले ग्रीन इलेक्ट्रिसिटी नेपाल कम्पनीले कैलालीको चुहामा एक मेगावाटको, एभ्रेष्ट वाइड इनर्जी कम्पनीले मुस्ताङको कागवेनीमा एक मेगावाटको, कागवेनी वायु ऊर्जा कम्पनीले नवलपरासीको रत्नपुरमा ३ मेगावाटको, रतनपुर तथा एभरेष्टले नै एक मेगावाटको अर्को वायु ऊर्जा परियोजनाका लागि लाइसेन्स लिईसकेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार