सहरमा किन बढ्दैछ रुखबिरुवाको महत्व ?


काठमाडौँ—‘आगामी आर्थिक वर्षलाई वृक्षरोपण वर्ष घोषणा गरी काष्ठ, गैरकाष्ठ तथा फलफूलका बिरुवा रोपिनेछ,’ राष्ट्रपति विद्यादेवी भण्डारीले २० वैशाखमा संघीय संसदमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा भनिएको छ ।

पछिल्लो समय नेपालमा वनजंगलको क्षेत्र बढेर कुल भूभागको ४४.७४ प्रतिशत अर्थात् ६२ लाख ३० हजार ५ सय ३७ हेक्टर पुगेको छ । सहरी क्षेत्रमा दिनप्रतिदिन वनजंगलको क्षेत्र घट्दै गएका बेला सरकारले नीति तथा कार्यक्रममै हरित सहरलाई प्रोत्साहन गरेको छ।

‘स्थानीय तहमा कम्तिमा १० प्रतिशत हरियाली कायम गर्ने हाम्रो लक्ष्य हो,’ वन तथा वातावरण मन्त्रालयका प्रवक्ता सिन्धु ढुंगाना भन्छन्, ‘विशेषतः सहरी क्षेत्रका स्थानीय तहमा न्यून वन भएकाले त्यसमा जोड दिएका छौँ।’

वन अनुसन्धान तथा सर्वेक्षण विभागको तथ्यांकले भन्छ—काठमाडौंमा महानगरपालिकामा १ सय ६ हेक्टर अर्थात् २.२ प्रतिशत मात्र वन क्षेत्र छ, भने ललितपुर महानगरपालिकामा ७१ हेक्टर अर्थात् आफ्नो कुल भुभागको २ प्रतिशत मात्र वन छ। एउटै प्लटमा आधा हेक्टरसम्म पनि वन नभएकालाई वनविहीन भनिन्छ ।

यसैगरी, सातवटै प्रदेशका अस्थायी राजधानीमध्ये प्रदेश १ को विराटनगर महानगरपालिका र प्रदेश २ को जनकपुर उपमहानरपालिकामा वन क्षेत्र शून्य छ।

सहरी क्षेत्रमा किन बढ्दैछ रुखबिरुवाको महत्व ?

यसरी प्रदेश राजधानी रहेका र कतिपय शहरी स्थानीय तहमा वन क्षेत्र न्यून हुँदै गएका बेला ‘सहरी वन’ को महत्तव झन बढ्दै गएको छ। वातावरणविद् टोप खत्री सहरको स्वच्छता अनि दीगोपन यहाँको हरियालीसँग जोडिएको बताउँछन्। उनी भन्छन्, ‘सहरी वन विकासमार्फत् सडक, गल्ली, चोक, गुम्बा, चर्च, मन्दिर, पार्क, ताल, सार्वजनिक जग्गा, स्कुल, घर कम्पाउण्डमा रहेका खाली ठाउँमा बिरुवा रोप्न सके वातावरण अनुकूलनका लागि योगदान हुन्छ।’ रुखबिरुवाले पानी सोस्छ त्यसका लागि पनि सहरी वनको आवश्यकता रहन्छ।

कतिपयको टिप्पणी छ, काठमाडौँ उपत्यका उजाड कंक्रिटको सहर भइसकेको छ, अब हरियाली कायम गर्नुको विकल्प छैन । वातावरणविद् खत्रीका भनाइमा हरियाली कायम भएमा एक चौथाइसम्म प्रदूषण घटाउन सकिने विभिन्न अध्ययनले देखाएको छ।

नेपालको औसत तापमान वृद्धि वार्षिक अधिकतम ०.००५६ डिग्रिसेल्सियस र न्यूनतम ०.००२ डिग्रिसेल्सियस रहेको छ। विश्वतापमान वृद्धि हेर्दा यो नगन्य हो । तर, सहरलाई जीवन्त राख्न, सहरको सोभा बढाउन पनि रुखबिरुवाको महत्तव बढ्दै गएको उनी बताउँछन ।

गत वर्ष मात्र सम्पन्न भएको काठमाडौँ उपत्यकाको चक्रपथ सुधार परियोजना अन्तर्गत कलंकी—कोटेश्वर सडक क्षेत्रका १ हजार २ सय रुख काटिए। तर, अब कहिले र कहाँ बोटबिरुवा रोप्ने ठेगान छैन।

यति मात्र होइन पछिल्लो तीन वर्षमा मात्र काठमाडौँ उपत्यकामा ४ हजारभन्दा बढी रुखबिरुवा काटिएका छन्। वन तथा भुसंरक्षण विभागका अनुसार विभिन्न जलविद्युत आयोजनाको प्रशारण लाइन, सडक लगायत विकास निर्माणका नाममा रुख काटिएपनि सोधभर्ना बापत रोप्नुपर्ने बिरुवा रोपे, नरोपेको यकिन तथ्यांक छैन। नियमानुसार एउटा रुख काटेमा २५ बिरुवा रोप्नुपर्छ।

भएका प्रयास

हरियाली प्रवद्र्धननका लागि भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एक घर, एक विरुवा’ को घोषणा गरे, विश्व वातावरण दिवस (२२ जेठ २०७५) मा। ७ सय ५३ वटै स्थानीय तहमा कम्तिमा १० प्रतिशत हरियाली कायम गर्दै प्रदूषण नियन्त्रणसहितका योजना अघि सारिएको ‘नेपाल स्वच्छ महाभियान–२०७५’ घोषणा कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भने, ‘सहरको खाली भागमा हरियाली प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ ।’ सोही अनुसार काठमाडौंँ र ललितपुर महानगरपालिकाले समेत छुट्टाछुट्टै रुपमा वृक्षरोपण कार्यक्रमको आयोजना गरे ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वर डंगोलका अनुसार चालु आर्थिक वर्षमा १० हजार बोटबिरुवा रोप्ने लक्ष्य राखिएपनि ५ हजारभन्दा बढी बिरुवा रोपिएको छ।

नेपालमा विशेषगरी बर्खायाममा बोटबिरूवा रोप्ने गरिन्छ। भर्खर रोपेका बोटबिरूवालाई पर्याप्त पानी चाहिने भएकाले बर्खामा रोपेका बोटबिरुवा हुर्कने सम्भावना बढी रहन्छ भने अन्य याममा बोटबिरूवा रोप्न प्रचलन खासै छैन। प्रवक्ता डंगोल भन्छन्, ‘अब बर्खा लागेसँगै फेरि फुटपाथ, सार्वजनिक स्थान नदीखोला छेउमा वृक्षरोपण गरिनेछ। काठमाडौँलाई क्लिन एण्ड ग्रीन सिटी बनाउने हाम्रो लक्ष्य छ।’

ललितपुर महानगरपालिकाले पुल्चोकस्थित इञ्जिनीयरिङ अध्ययन सस्थान, संयुक्त राष्ट्रसंघय भवन कम्पाउण्ड र जावालाखेलमा पर्यवरणीय÷हरियाली ( इकोपार्क ) निर्माण गर्ने योजना अघि सारिसकेको छ।

वन मन्त्रालयले पनि गत वर्ष महाभियान अन्तर्गत कम्तिमा एक घर, एक विरुवाका वनको प्रवद्र्धन गर्ने, प्रत्येक घरले फल फल्ने, फूल फुल्ने र बासना आउने कम्तीमा एक रूखविरुवा रोप्ने, स्थानीय तहका सार्वजनिक खाली जग्गामा न्यूनतम शून्य दशमलव पाँच हेक्टरको एउटा नमूना उद्यान निर्माण गरी हरियाली प्रवर्द्धन गर्ने, सरकारी कार्यालय, विश्वविद्यालय, मन्दिर तथा धार्मिक क्षेत्रमा वृक्षरोपण गर्न अपील गरेको थियो। जुन अभियानलाई यो वर्ष पनि निरन्तरता दिइने मन्त्रालयले जनाएको छ।

वन तथा भूसंरक्षण विभागले आगामी साउन र भदौमा ललितपुरको बालकुमारी पुलदेखि कलंकीसम्म करिब ९ किलोमिटर सडकको दायाँबायाँ वृक्षरोपण गर्ने योजना सार्वजनिक गरेको छ।

विभागका महानिर्देशक रामप्रसाद लम्सालका अनुसार विभिन्न जातका करिब ३ देखि ५ वर्ष पुराना विरुवा रोप्ने योजना छ। ‘उक्त ९ किलोमिटरको दुबै तिर ६—६ मिटरको दुरीमा रुख रोपिने छ,’ उनले भने।

१ सय ५ पुनरोपणसहित ३ हजार ३ सय वटा ठूला साइजका विरुवा आवश्यक पर्ने र एउटा रुख रोप्न ५ हजारदेखि १० हजारसम्म लाग्ने अनुमान विभागको छ। वनस्पतिविद्हरुका अनुसार काठमाडौँ उपत्यका सहरी क्षेत्र भएकाले यहाँ अग्ला प्रजातिका रूख रोप्नु त्यति उपयुक्त मानिँदैन। तर, टुपुक्कका, होचा र फूल फुल्ने रुख रोप्न आवश्यक देखिन्छ। सडक, चउर र घरको बीचमा फाट्टफुट्ट रुख छन्।

ताजा समाचार

सम्बन्धित समाचार