प्यूठान –ठुलासिम कृषि उत्पादनका लागि प्यूठान जिल्लाकै महत्त्वपूर्ण क्षेत्रका रूपमा चिनिन्छ। प्यूठान नगरपालिका वडा नम्बर ९ मा पर्ने ठूलासिम माछापालनका लागि पनि राम्रो सम्भावना बोकेको ठाउँ हो। त्यसैले यहाँ कृषि कर्म गर्नेले राम्रै नतिजा हात पारेका छन्। यसको एक सफल उदाहरण हुन नेहर सिंह केसी । उनले ४ वटा पोखरीबाट व्यावसायिक माछा पालन शुरु गरेका छन्।
नेहर सिंह केसी प्यूठान नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष हुन्। उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत धान जोन कार्यालय सञ्चालक समितिमा संयोजकको जिम्मेवारी पनि सम्हाल्दै आएका छन्। उनी कृषि गतिविधिलाई समय सुहाउँदो ढङ्गले अगाडि बढाउन चाहन्छन्।
खेर गइरहेको चुदेरी खोलाको पानी ठूलासिम क्षेत्रका कृषकहरूका लागि पानीको भर पर्दो स्रोत हो। त्यति मात्र नभई यही खोलाको पानीले यहाँ माछापालनमा पनि सहयोग पुगेको छ।
‘खेतीयोग्य जमिन नभएको अवस्था र सिमसार भएको जग्गालाई खाली छोड्नु भन्दा एउटा वैज्ञानिक तरिकाले पानीलाई उपयोग गर्ने र उत्पादनमा ध्यान दिए राम्रो हुन्छ होला भनेर मलाई भित्रै देखि त्यो मेरो चाहाना हो,’ अध्यक्ष केसीले भने।
चुदेरी खोलामा कलकल पानी बग्छ। धेरैजसो किसानका खेतबारी यही खोलाको पानीले सिंचित हुन्छन्। नेहर सिंहले पनि चुदेरी खोलामा बग्ने पानीलाई भरपुर उपयोगमा ल्याएका छन्। बगेर खेर गइरहेको खोलाको पानी कुला मार्फत पोखरीसम्म पु¥याइएको छ। खोला छेउमै लस्करै बनाइएका पोखरीमा पाँच प्रजातिका माछा हुर्किन्छन्।
‘यहाँ पाँच वटा प्रजातिको माछा एउटै पोखरीमा उत्पादन हुन्छ। कमन, ग्रास, सिल्भर, नैनी, रहु। कमन पिंधमा बस्छ। ग्रास बीचमा बस्छ। सिल्भर माथि बस्छ। सिल्भरलाई लेउ चाहिन्छ,’ उनले भने, ‘कमनलाई हिलो चाहिन्छ। ग्रासलाई घाँस चाहिन्छ। उनीहरू एक अर्कामा मिलेर पनि बसेका हुन्छन।’
चुदेरी खोला झिमरुक नदीको जलाधार क्षेत्रमा पर्छ। विगतमा यो खोलामा राम्रै माछा पाइन्थ्यो। अचेल भने माछाको सङ्ख्या घट्दै गएको अनुभव स्थानीयको छ। मानवीय गतिविधि जलचरमैत्री नहुनु यसको कारक भएकोे उनीहरू बताउँछन्।
‘त्यो तल झिमरुक भन्ने खोला छ। त्यहाँनेर माछा ठूल्ठूला आउँथ्यो। असला, गर्दी, कतला भन्ने बोदना माछा भन्नेहरू धेरै पाउँथ्यो। अहिले यस्तो चेक ड्याम, जो चाहिँ कुलाको बाँध बनाएको हुन्छ। त्यसको कारणले पनि माछालाई निस्कनलाई, खेल्नलाई, पानी सानो भएको कारणले पनि पाउँदैन आजभोलि,’स्थानीय वसन्त धर्तीमगरले भने।
विषहरू राख्ने, ठूला नदीहरूमा करेन्ट लगाउने गर्नाले साना खोलामा माछाहरू रोकिने वडा अध्यक्ष केसी बताउँछन्।
उनले माछा पालनको अभ्यास धान खेतबाट सुरुवात गरेका थिए। पछि उनले व्यवसायिक रूपमा माछा पाल्ने योजना बनाए। धान बाली मात्र फल्ने सिमसार जमिनलाई बाह्रै महिना प्रयोगमा ल्याउने उपाय अपनाए। अनि यही सिमससार जमिनमा पोखरी बनाए। वि.सं. २०६४ सालबाट माछा पालनमा जुटेका केसी यो व्यवसायबाट राम्रै आम्दानी गर्न सफल छन्। उनको यो सफलतासँगै गाउँमा माछा पालनप्रतिको आकर्षण पनि बढेको छ।
‘पहिला त मैले धान खेतीमा हाले। हुन्छ की हुन्न भनेर परीक्षणको लागि। धानखेतीमा हाल्दा कस्तो भइदियो भने धान पनि बढ्यो। उत्पादन पनि बढ्यो त्यो धान गोड्न पनि परेन। अनि माछाको उत्पादन पनि बढ्यो । त्यसपछि हामीले पोखरी खन्यौ,’विकास केसीले भने।
विकासको गतिमा अघि बढ्दा वातावरणीय पक्षलाई पनि ध्यान दिइनु पर्ने के.सी.बताउँछन्।
‘विकास भनेको बाटो खनेर, खानेपानीको धारा बनाएर मात्र, स्कुलमा एउटा मास्टर थपेर मात्र हामीले विकास ठानेका छैनौ। हाम्रो हिजोको जुन वातावरणीय शुद्धता हो त्यो शुद्धतालाई कायम गर्नु पर्यो । जलवायु परिवर्तनले विश्वलाई असर पारिरहेको अवस्थामा हामीले त्यो जलवायु परिवर्तनको असर रोक्नको लागि खास गरी हरियाली वातावरण जताततै हुनैपर्छ,’उनले भने।





