धनगढी– ‘उफ धुलो !,’ मोहना अत्तरीया छ लेन सडकमा यात्रा गर्ने जोकोहीले आजभोलि यही भन्छ।
कहिल्यै मास्क नलगाएका यहाँका मानिसहरू आजभोलि धुलो छल्न मास्क, चस्मा नलगाइ अनि रुमालले नाकमुख नथुनी घरबाट निस्कँदैनन्।

‘धुलो धुवाँ भन्ने कुरा त हामीलाई थाहा नै थिएन,’५० वर्षीय रिक्सा चालक खटिराम चौधरीले भने,‘यत्रो वर्ष धनगढीमा रिक्सा चलाएँ तर, यस्तो सास फेर्नै गाह्रो हुने गरी धुलो उडेको थाहा छैन।’
दुई वर्ष भित्र काम सम्पन्न गर्ने गरी निर्माण शुरु गरिएको उक्त सडक हालसम्म ३० प्रतिशत मात्रै काम सम्पन्न भएको छ। तीन वटा प्याकेजमा ठेक्का सम्झौता भएर निर्माण भइरहेको मोहना–अत्तरीया ६ लेन सडकको पहिलो प्याकेज जेठ ९ र दोस्रो र तेस्रो वैशाख ३० मा सम्झौता अवधि सम्पन्न हुँदै छ। तर, विभिन्न बहानामा निर्माण कार्यमा ढिलासुस्ती गर्दा सडक धुलाम्मे बनी यहाँका स्थानीयले सास्ती खेप्दै आएका छन्।
‘कहिले यो सडक बन्छ र धुलो उड्न रोकिन्छ। हामीलाई साह्रै गाह्रो भइरहेको छ,’ स्थानीय शान्ति शाहले भनिन्,‘यो सडकमा हिँड्दा सास फेर्ने नसकिने अवस्था छ।’
कहिले मास्क लगाउने बानी नभएको तर, धुलोका कारण अहिले मास्क अनिवार्य प्रयोग गर्ने गरेको सन्तोष मगर बताउँछन्। ‘विकासका नाममा जनतालाई रोगी बनाउने काम भइरहेको छ,’ उनले भने, ‘चाँडो भन्दा चाँडो सडक नबनाएर जनतालाई दुःख दिने काम भइरहेको छ।’

गाउँ–गाउँमा विकाससँगै प्रदूषण पनि छिरेको नवीन शर्मा बताउँछन्। अगाडिको मान्छेसम्म नदेखिने गरी धुलो उड्दा प्रदूषणमा काठमाडौँ भन्दा धनगढी कम नभएको उनी बताउँछन्।
‘गर्मी उस्तै छ। त्यसमाथि अगाडिको मान्छे नदेखिने गरी धुलो उड्छ। हामीलाई गर्मी र धुलोले बस्नै गाह्रो भइसक्यो,’उनले भने।
मोहनापुल अत्तरिया ६ लेन सडक आयोजना कार्यालयका अनुसार समयमा निर्माण काम नसकिएपछि निर्माण अवधि थप्ने तयारी भइरहेको छ। समयमा काम नसकाउने तर, प्रमुख मात्र परिवर्तन हुने काम भइरहेको स्थानीयको गुनासो छ। दुई वर्षको अवधिमा छ लेन सडक आयोजनाले तीन प्रमुख पाएको छ।





