काठमाडौँ– नेपालको मकालु आधार शिविर नजिकै ‘यती’को पाइला भेटिएको विषयमा नेपाल सरकारले भारतीय सेनासँग विस्तृत जानकारी लिने भएको छ।
मकालु-बरुणमा यतीको पदचिन्ह भेटिएको दाबी गर्दै भारतीय सेनाले ट्वीटरमा तस्बिरहरू सार्वजनिक गरेपछि नेपाल सरकारले उनीहरूसँग त्यस विषयमा पूरा जानकारी लिने भएको हो।
हाकाहाकीसँग कुरा गर्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले भारतीय सेनाले पुष्टि हुने आधार बिना नै यतीको पाइला भनेको बताए।
अहिले भारतीय सेनाको टोली आरोहणको क्रममै भएकाले फर्केपछि उनीहरूसँग भएका तस्बिरहरू र विस्तृत जानकारी लिने तयारी भइरहेको उनले जनाए।
‘भारतीय सेनाको टोली अहिले अरोहणमा छन्,’ उनले भने ‘उनीहरू फर्केपछि त्यस विषयमा पूरा जानकारी हामी लिन्छौं।’
भारतीय सेनाले मकालु बरुण निकुञ्जको नाङ्लालेखमा ‘यती’को पाइला भेटिएको दाबी गरेपनि उक्त पाइला हिमाली ठूलो भालुको हुनसक्ने उनी बताउँछन्।
स्थानीयले उक्त पाइला हिमाली ठूलो भालुको हुन सक्ने आशंका गरेपनि पुष्टि गर्ने आधारहरू पर्याप्त नभएको खड्काको भनाई छ।
‘विगतमा पनि ठूलो भालु देखिएको भनिएको छ त्यसैको आधारमा हामीले ‘यती’को पाइला नभएर हिमाली भालुको हो कि भन्ने शंका मात्र गरेका हौँ,’ उनले भने।
‘हामी पनि ‘यती’ हो वा हिमाली भालुको हो यकीनका साथ भन्न सक्दैनौं,’ उनले थपे। ‘यती’को पाइला भेटिएको भन्दै फोटो सार्वजनिक गरेपनि उक्त तस्बिर र मिडियामा आएका समाचारहरू विरोधाभास भएको उनको भनाई छ।
‘विश्वका विभिन्न सञ्चार माध्यमले यसलाई प्राथमिकताका साथ प्रकाशित त गरिरहेका छन्,’ उनले भने, ‘तर यो आफैँमा विरोधाभास छ किनकी सेनाले फोटो हाल्दा पनि रहस्यमय पौराणिक कथाको जनावरको पाइला भनेको छ।’भारतीय सेनाको पोष्टमा ‘यती’ नै हो भनेर दाबी नगरिएको र यती काल्पनिक पात्रका भएको उनको बुझाइ छ।
पहिला यतीलाई प्रत्यक्ष देखिएको भन्दै समाचारहरू प्रकाशित भए पनि त्यसको पुष्टि आजको दिन सम्म हुन नसकेको उनी बताउँछन्।
‘तीन वर्षअघि फ्रान्सेली टोलीले पनि उक्त क्षेत्रमा यस्तै पाइला देखेर ‘यती’को हुन सक्ने दाबी गरेका थिए,’ उनले भने ‘पछि त्यो हिमाली कालो भालुको पुष्टि भएको थियो।’
भारतीय सेनाले यतीको फोटो सार्वजनिक गर्नु अघि आफूहरूलाई जानकारी नभएको र हिउँमा पदचिन्ह छिटै मेटिने भएकाले नेपाली विज्ञ टोलीलाई उक्त स्थानमा पठाउन सम्भव नभएको उनले बताए। भारतीय सेनाले दाबी गरेको स्थलमा पुग्न ६/७ दिन लाग्ने खड्को भनाई छ।
भारतीय सेनाको आरोहण टोली मे १९ मा फर्कने छन्। भारतीय सेनाले ‘यती’को पाइला भनेर दाबी गरे पनि ती पाइला हिमाली भालु वा कुनै हिमाली जनावरको हो भन्ने कुरा विज्ञहरूको अनुसन्धानपछि मात्र बताउन सकिने उनी बताउँछन्।
भारतीय सेनाको आमसञ्चार विभागले उक्त तस्बिरहरू अप्रिल ९ मा खिचिएको र साे पदचिन्ह ‘यती’काे भएकाे भन्दै पोस्ट गरेको थियो। सेनाले उक्त पदचिन्हको लम्बाई ३२ इन्च र चौडाइ १५ इन्च भएको भन्दै पोष्ट गरेपछि एकाएक चर्चा चुलिएको हो। भारतीय सेनाको उक्त पोस्टमा मकालु–बरुण राष्ट्रिय निकुञ्जमा पहिला पनि ‘यती’ देखिएको दाबी गरिएको छ।





