दाङ–राप्ती गाउँपालिका–५ की कमलादेवी रेग्मी वन संरक्षण तथा चोरीसिकारी नियन्त्रणमा लागेको १६ वर्ष भयो। कमलादेवीले दुई वर्षदेखि वन डढेलो नियन्त्रण समितिको अध्यक्ष पदमा रहेर काम गरिरहेकी छिन्।
अहिले वनजंगलमा डढेलो लाग्न सुरु भएलगत्तै उनी र यहाँका स्थानीयहरू डढेलो नियन्त्रणमा जाने तयारीमा लाग्छन्। कमलादेवी रेग्मी र स्थानीयहरू आफ्नो मात्र होइन अन्य वनमा पनि आगो निभाउन पुग्ने गरेका छन्। उनीहरूलाई डिभिजन वन कार्यालय लमहीका कर्मचारीहरूले पनि सहयोग गर्छन्। दिउँसोको प्रचण्ड गर्मीको वास्ता नगरी उनीहरू संरक्षणको काममा जुट्छन्। वनमा लागेको आगो निभाउन यो टोली सधैँ यसैगरी एक भइरहेको छ।
यसरी वनमा आगो लाग्दा हुर्किन लागेका कलिला बोटबिरुवा जल्छन्। वयस्क विरुवा सुक्दै जान्छन्। पानीका मुहानहरू सुक्छन। वन्यजन्तुहरू पनि संकटमा पर्छन। यसले पारिस्थितिकीय प्रणालीमा नै असर पर्न जान्छ। यस्ता असरबाट जोगिन कमलादेवीको समूहले यो काममा सक्रियता देखाएको छ।
‘आगो निभाउन जाँदा के के सामग्री चाहिन्छ, त्यही अनुरुपको कपडा, टोपी, खानेपानी, औजारहरू, मलमहरू यी सबै सामान त्यही लिएर जान्छौँ’ कमला देवीले भनिन्।
यसरी पूर्व तयारी गर्दा आगो निभाउने उपाय मात्र नभएर यसक्रममा संकट आए कसरी सुरक्षित रहने भन्ने सम्मका कुरा थाहा हुन्छ।
डढेलो नियन्त्रण गर्न जाँदा टाढा–टाढा नजानी नजिकैबाट निभाउने। भुमरी परेमा भित्र नपस्ने। एक्लै नजाने। साथीहरूलाई कहाँ छ भनेर सम्पर्कमा रहिरहने, औषधी साथमा बोकेर हिड्ने लगायतका पूर्व तयारी गर्नुपर्ने उनी बताउँछिन्।
पहिला भन्दा अहिले अझ डढेलोको घटना बढी हुने कमलाको अनुभव छ। ‘चुरोट खानेहरूले ठुटा ननिभाइ त्यतिकै फाल्छन अनि आगो लाग्छ । रोकिएला भन्यो बढ्दै छ,’ उनले भनिन्।
डढेलो नियन्त्रण गर्दा धेरै नै चुनौतीको समाना गर्नुपर्ने उनको भनाइ छ । ‘आगोको बीचमा परिने जोखिम सबैभन्दा धेरै हुन्छ, पहाडमा जाँदा भिरबाट लडिने अर्को जोखिम पनि उत्तिकै हुन्छ । हाम्रो लागि बिमा हुनुपर्यो, परिचय पत्र हुनुपर्यो,’ अध्यक्ष रेग्मीले भनिन्।
सशस्त्र वन रक्षक डिभजन वन कार्यालय लमहीका बेद बहादुर जिसी वनमा आगो लागे आगो नियन्त्रण गर्ने टोलीसँग समन्वय गरेर जाने गरेको बताउँछन्। उनका अनुसार वनमा फायरलाइनको आवश्यकता छ।
आगलागी नियन्त्रणको काम त्यति सहज छैन। तर, कमला देवीको संरक्षण यात्रा निरन्तर छ। निरन्तरको मेहनतले नै आज उनलाई सफल बनाएको छ।
‘वन जोगाउनुपर्छ सबै मिलेर काम गर्ने गरेका छौँ ।समस्या पर्दा आफ्नै वनमा पर्दा जसरी त्यसरी गरिन्छ। गाउँघरमा सबैको सहयोग लिएर आगो निभाउँछौ। अलिकति आर्थिक समस्या मात्र हो। पहिला जंगलमा चरा समेत भेटाउन मुस्किल पथ्र्यो तर, अहिले अहिले बाघ भालु पनि देखिन्छन्,’ उनी भन्छिन्।
पछिल्लो ५ वर्षको तथ्यांक हेर्ने हो भने दाङमा आगलागीको घटना घट्दै गएको छ। आगलागी भइहाले पनि पत्ता लगाउने र निभाउने संयन्त्रहरू तयार भइसकेका छन्।
यो समस्यालाई समाधान गर्न कमला देवी जस्ता अभियान्ताहरूको आवश्यकता पर्छ । यो काममा उनले सबैलाई जागरुक गराएकी छिन्। समुदायको यस्तो अभियानले जिम्मेवार निकायहरूलाई जवाफदेही बनाउँछ।
उक्त वडाका वडाध्यक्ष गोवद्र्धन रावत आगलागी नियन्त्रणका लागि ठूलो योजना नआएपनि बजेट भने छुट्याउने गरेको बताउँछन्।
आगो निभाउने कामे एकदमै जोखिमको काम भएको र उक्त क्रममा धेरैको ज्यान जाने गरेको सब डिभिजन वन कार्यालय देउखुरीका वन अधिकृत शंकर प्रसाद गुप्ताको भनाइ छ। ‘वनकै पदाधिकारीहरूले पनि ज्यान गुमाएका धेरै घटनाहरू छन्। डिभिजन वनबाट पनि हामीले अग्नि नियन्त्रक उपकरणहरू खरिद गरेर ल्याएका छौँ। दुर्घटना भयो भने राज्यले सहयोग गर्ने नीति ल्याउनुपर्छ,’ उनले भने।





