महेन्द्रनगर– गर्मीयाम लागेसँगै कञ्चनपुरका जंगलमा डढेलो लाग्ने क्रम बढेको छ। कञ्चनपुर जिल्लाका सामुदायिक वन तथा चुरे क्षेत्रमा डढेलो लाग्ने क्रम बढेको हो।
दिनहुँ जसो हावाहुरी चलिरहेकाले सामुदायिक वन र चुरे क्षेत्रमा आगलागीको जोखिम बढेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ । हावाहुरीसँगै सामुदायिक वन र चुरे क्षेत्रमा लाग्ने डढेलोले विकराल रूप लिने गरेको डिभिजन वन कार्यालय कञ्चनपुरका योजना शाखाका रेन्जर शिवराज अवस्थी बताउँछन्। केही दिनदेखि दिनहुँ जसो हावाहुरी चलिरहेको र हावाहुरीका कारण चुरे क्षेत्र र नजिकका वनमा आगलागी भइरहेको उनले बताए।
केही दिन अघि सामुदायिक वन र चुरे क्षेत्रमा लागेको डढेलोले ठूलो मात्रामा क्षति पुर्याएको थियो । सुख्खा खडेरीका कारण सामुदायिक वनमा लागेको डढेलोले साना बिरुवासँगै ठूला रूखमा समेत क्षति पुगेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ। कञ्चनपुरका ५ वटा वनमा लागेको डढेलाले ६ सय हेक्टर बढी वन क्षेत्रमा क्षति पुगेको डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजन वन अधिकृत मोहन काफ्लेले बताए । उनका अनुसार गर्मी शुरु भएसँगै भीमदत्त नगरपालिका–९ को बैजनाथ सामुदायिक वन, बेदकोट नगरपालिका–७ को अम्मर सामुदायिक वन, चुरे क्षेत्रको बन्धा ताल, कृष्णपुरको वीरेन्द्र सामुदायिक र शुक्लाफाँटाको बैजनाथ सामुदायिक वनमा डढेलो लागेको थियो।
डढेलोले सबैभन्दा बढी कृष्णपुरको वीरेन्द्र सामुदायिक वनमा नोक्सान पुर्याएको उनी बताउँछन्। उनका अनुसार वीरेन्द्र सामुदायिक वनमा डढेलोले १ सय हेक्टर बढी वन क्षेत्रमा क्षति पुर्याएको थियो। ‘यी वनमा हावाहुरीसँगै डढेलो लाग्दा बढी नोक्सान भयो, यो वर्ष हावाहुरी बढी चलिररहेको छ, समयमै आगो नियन्त्रण गर्न समस्या भइरहेको छ,’ उनले भने।
हावाहुरीसँगै उडेर आएको आगो वीरेन्द्र सामुदायिक वनको एउटा रूखको टुप्पोमा लागेको आगो वनभरी फैलिएको डिभिजन वन अधिकृत काफ्लेले बताए। ‘यहाँ लागेको आगो स्थानीय र सशस्त्र प्रहरीको सहयोगमा तीन दिनपछि नियन्त्रणमा आयो, उनले भने, ‘आगो नियन्त्रण गर्न सालका रुख समेत काट्नु पर्यो। यसैगरी पछिल्लो समय चुरे क्षेत्रमा पनि डढेलो लाग्ने क्रम बढेको छ। एक हप्ता अघि भीमदत्त नगरपालिका–७ को चुरे क्षेत्र र बेदकोट नगरपालिकाको चुरे क्षेत्रमा पनि डढेलो लागेको थियो। वन तथा चुरे क्षेत्रमा मानवीय असावधानीका कारण डढेलो लाग्ने गरेको डिभिजन वन अधिकृत काफ्लेको भनाइ छ।
उक्त क्षेत्रमा स्थानीयवासीले नै सामुदायिक वनमा आगो लगाउने गरेको भनिए पनि अहिलेसम्म कसैलाई कारबाही भएको पाइँदैन। वनमा डढेलोे लगाउनेलाई बिगोअनुसार जरिवाना र ६ महिनादेखि १० वर्षसम्म कैदको व्यवस्था छ।
अग्नि नियन्त्रण समग्री वितरण
डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय कञ्चनपुरले अग्नि नियन्त्रण समग्री वितरण गरेको छ। राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत डढेलो नियन्त्रणका लागि सामुदायिक वनलाई अग्नि नियन्त्रण समग्री वितरण गरिएको हो।
चुरे क्षेत्र र सामुदायिक वनमा हुने आगलागी नियन्त्रणका लागि समग्री वितरण गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजन वन अधिकृत काफ्लेले बताए । उनका अनुसार भीमदत्त नगरपालिका–९ मटेनाको बैजनाथ सामुदायिक वन, शुक्लाफाँटा–८ को बैजनाथ सामुदायिक वन, पुर्नवास नगरपालिका–११ को अमर श्रीकृष्ण सामुदायिक वन र सव–डिभिजन वन कार्यालय बाणीलाई डढेलो नियन्त्रण समाग्री वितरण गरिएको छ । गर्मी मौसममा आगोको उच्च जोखिम हुने हुँदा अग्नि नियन्त्रणमा सहयोग पुगोस् भनेर सामुदायिक वनलाई स्वाटर, शोभेल, जम्प सुट, पानी ट्यांकीसहितको स्प्रे, हेल्मेट, टर्च, बुट लगायतका सामान वितरण गरिएको डिभिजन वन अधिकृत काफ्लेले बताए।





