सिक्टा सिँचाइ आयोजना : समस्याग्रस्त मूल नहरको मर्मत सरकारले नै गर्ने

नेपालगञ्ज – बाँके जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको पटकपटक भत्किने मूल नहर खण्डको मर्मत संहार आयोजनाले नै गर्ने भएको छ । निर्माण सम्पन्न नहुँदै मूल नहर पटकपटक भत्किएर क्षतिग्रस्त भएपछि नहरको मर्मत संहार तथा सुधार आयोजना वा निर्माण कम्पनी कसले गर्ने भन्ने अन्यौल देखिएको थियो।

मन्त्रिपरिषदको वैशाख १२ गतेको बैठकले आयोजनाको क्षतिग्रस्त खण्डको मर्मत तथा सुधार गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषदको निर्णयपछि ९ महिनादेखि अलपत्र अवस्थामा रहेको नहरको मर्मत तथा सुधारको काम सुरु हुने आयोजनाका प्रमुख कृष्ण नेपालले बताए ।

गत वैशाख ३ गते भेरी बबई डाइभर्सन आयोजनाको ब्रेक थ्रू गर्नका लागि सुर्खेत आएका प्रधानमन्त्री केपी शर्मा ओली, सिँचाइ मन्त्री वर्षमान पुनलगायत नेपाल सरकारका उच्च अधिकृतहरूले सिक्टा सिँचाइ आयोजनाको क्षतिग्रस्त नहर खण्डको हवाइ निरीक्षण गरेका थिए ।

क्षतिग्रस्त नहर खण्डको मर्मत संहार गर्ने सम्बन्धमा देखिएको अन्यौल हटाउनका लागि आवश्यक निर्णय गरी उपयुक्त निकास निकाल्न आयोजनाले ६ महिनादेखि निरन्तर प्रयास गर्दै आएको थियो ।

सिक्टामा देखिएका समस्या

१) निर्माण सम्पन्न नहुँदै मूल नहर पटक पटक भत्किने, घुलनशील माटोका कारण भत्किएको निष्कर्ष निस्के पनि त्यसको समाधानका लागि के गर्ने भन्ने अन्यौल कायमै हुनु,

२) सिक्टा आयोजनाअन्तर्गतको साढे २३ किलोमिटर लामो डडुवा नहरको निर्माणमा लापरबाही गरेको जनाउँदै आयोजनाले ठेक्का तोडेर कालो सुचिमा राख्न गरेको निर्माण विरुद्ध कोस्टाल पप्पु कन्स्ट्रक्सनले उच्च अदालत र मध्यस्थता परिषदमा दायर भएको मुद्दा लम्बिँदै जानु ,

३) आयोजनामा कार्यरत कर्मचारी र निर्माण व्यवसायीमाथि अख्तियारबाट मुद्दा दायरपछि आयोजनाका कर्मचारीको मनोबल खस्किँदा काम गर्ने वातावरण नहुनु ,

४ ) ५० क्युमेक्स ( ५० हजार लिटर प्रति सेकेन्ड ) क्षमताको नहर ४ क्युमेक्स पानी छोड्दा २०७५ साउन ७ गते राती मूल नहर ढकेरीको चंगाई खोला नजिकै र २०७३ असार १४ मा पनि ढकेरी क्षेत्रमै मूल नहर भत्किए पछि सिक्टा नहरको भविष्यका बारेमा आशंकाहरू बढ्दै जानु ,

बाँके जिल्लाको करिब ३४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले १३ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा हालसम्म करिब १५ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

आयोजना सुरुवात गर्दा १२ अर्ब ७० करोडको लागतमा २०७० माघमा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।

आयोजना सम्पन्न गर्न राखिएको समय सकिएको ५ बर्ष बितिसक्दा पनि व्यारेज तथा मूल नहरबाहेक शाखा नहर निर्माणको कामले गति लिन सकेको छैन। निर्माण भएको मूल नहर पनि पटक पटक भत्किने समस्या दोहोरिँदै गएको छ।

आयोजनाको लागत अनुमान भन्दा दोब्बर बढी अर्थात २५ अर्ब २ करोड खर्च गरेर आर्थिक वर्ष २०७६/०७७ सम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

हालसम्म करिब ६० प्रतिशत मात्रै काम भएकाले आर्थिक वर्ष २०७६ /०७७ सम्ममा अनुमान गरिएको रकम खर्च भए पनि नहर निर्माणको काम सम्पन्न भइ किसानका खेतबारीमा सिँचाइ सुविधा पुग्ने सम्भावना निक्कै न्यून छ।

नहर निर्माणमा देखिएका अन्यौलको अन्त्य गरी सिक्टाको नहरबाट खेतबारीमा सिँचाइ गरी खाद्यान्न उत्पादन बृद्धि गर्ने बाँके बासीको वर्षौँदेखिको चाहाना छिटो भन्दा छिटो पुरा हुनु पर्ने सिक्टा सिँचाइ आयोजना जल उपभोक्ता समितिका अध्यक्ष शालिकराम डाँगीले बताए।

सिक्टा सिँचाइ आयोजनाको निर्माणमा ढिलाइ र अनियमिततासँगै निर्माण कम्पनी र आयोजनाबीचको मुद्दा मामिलाका कारण सिक्टा सिँचाइ आयोजनामा पैसाको खोलो बगिरहने तर नहर निर्माण रोकिएर खेतबारी बाँझै रहने अवस्था देखिनु विडम्बनापूर्ण भएको नेपालगञ्जका बुद्धिजीवी प्रा.डा. जर्नादन आचार्यले बताए ।

सिँचाइ मन्त्री वर्षमान पुन सिक्टा सिँचाइको स्थगत अनुगमनमा २०७५ फागुन १४ गते आयोजना स्थलमा पुगेका थिए । मन्त्री पुनले स्थानीय बासिन्दाहरूसँगको अन्तरक्रिया कार्यक्रममा भत्किएको संरचना मर्मत संहार गरेर थप क्षति हुन नदिने, बनेका संरचनाबाट सम्भव भएको क्षेत्रका किसानका खेतबारीमा सिँचाइ सुविधा उपलब्ध गराउनका लागि आवश्यक निर्णय मन्त्रिपरिषदबाटै गराउने बताएका थिए ।

निरन्तरको प्रयासपछि भत्किएको संरचना मर्मत संहार गरेर थप क्षति हुन नदिने, बनेका संरचनाबाट सम्भव भएको क्षेत्रमा सिँचाइ सुविधा पुराउने बाटो खुलेको बाँके क्षेत्र नं १ का सभासद महेश्वर गहतराज अथकले बताए । घुलनशील माटोका कारण नहर बारम्बार भत्किएको निष्कर्ष निकाली त्यसको समाधानका लागि विज्ञहरूको परामर्शका आधारमा प्रकृयाअगाडि बढाइने सभासद गहतराजले बताए ।

सिक्टा बनेपछि पहिलो चरणमा बाँकेको करिब ३४ र दोस्रो चरणमा ९ हजार गरेर करिब ४३ हजार हेक्टर क्षेत्रमा वर्षभरि नै भरपर्दाे सिँचाइ सुविधा पुग्ने छ । साथै उत्पादन र उत्पादकत्वमा करिब २ गुणा वृद्धि भइ एकैसाथ ४६ हजार ७ सय १५ घरपरिवारका करिब ४ लाख ५० हजार सदस्य प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।

सिँचाइ उपलब्धता भएमा सुक्खा र खडेरीको अन्त्य भइ उत्पादन र उत्पादकत्व वृद्धि हुने जस्ले किसानको आर्थिक समृद्धिको ढोका खुल्ने अपेक्षा गरिएको थियो ।

निर्माण कार्य सुरु भएको १३ बर्षमा १४ अर्ब ७० करोड खर्च भइसकेको छ। हालसम्म आयोजनाले करिब ४२ किलोमिटर मूल नहर निर्माण गरिसके पनि शाखा नहर निर्माण नहुँदा बाँकेका किसानहरूले सिँचाइ सुविधा पाउँन सकेका छैनन्। ५० क्युमेक्स क्षमताको नहर ४ क्युमेक्स पानी छोड्दा नै भत्किए पछि नहर निर्माणको गुणस्तरमाथि नै प्रश्न उठेको छ। मूल नहरको १८ किलोमिटरदेखि ३५ किलोमिटर खण्डको विभिन्न स्थानमा नहर चर्किनुका साथै ठाउँ ठाउँमा भत्किएको छ।

मूल नहरको करिब १७ किलोमिटर क्षेत्रमा घुलनशील माटो (डिसपर्सिभ सोयल) अर्थात माटोमा बालुवा र नुनको मात्रा धेरै भएर भत्किएको हो।

पटकपटक भत्किने क्षेत्रको मूल नहरको निर्माण ‘आइसीपी–टू’ ठेक्काअन्तर्गत कालिका कन्स्ट्रक्सनले गरेको हो। पटकपटक नहर भत्किएका कारण निर्माण कार्य लम्बिदै जाँदा बाँकेका किसानहरूले सिक्टाबाट कहिले सिँचाइ सुविधा पाउने हुन् भन्ने अन्यौल बढ्दै गएको छ।

ताजा समाचार

सम्बन्धित समाचार