कालिकोट–तलतिर तिलानदी माथि डाँडामा मान्मा बजार। मान्मा बजार र तिलाखोलाको बीचमा ३ वटा गाउँ पर्छन्। मेग्र, सुनार खोला र तोरीबारी । खेतबारीमा जौँ र गहुँका बाला झुलिरहेका छन्। स्थानीय काममा व्यस्त छन्। गाउँ निकै शान्त देखिन्छ। तर भित्री कथा भने अलि फरक छ । हरेक वर्ष पहिरोबाट आतङ्कित हुन्छ यो गाउँ । पछिल्लो समय गाउँको बीच भाग हुँदै बग्ने सुनार खोलो स्थानीयका लागि समस्या बन्दै गएको छ।
खाडाचक्र नगरपालिका–२, कालिकोटका महेश्वरी दमाईका छोरालाई सुनार खोलाले बगाएको चार वर्ष भयो।
सोही ठाउँका नवीन परियार वर्षा याममा स्थानीयले खोलाका कारण ठूलो समस्या भोग्नु परेको बताउँछन्। कर्णाली राजमार्गको तिला नदीदेखि मान्मा बजारसम्मको सडक खण्डमा सुनार खोला पर्छ। हरेक वर्ष सुनार खोलामा पहिरो आउँछ। सडकसँगै स्थानीयको दैनिकी पनि अवरुद्ध हुन्छ। वर्षा याममा यो गाउँका स्थानीय आनन्दसँग निदाउँन पनि पाउँदैनन्।
पहिले सुनार खोलाले यति धेरै दुख दिँदैन थियो। खोलो पनि ठूलो थिएन। सडक बने पछिका केही वर्षसम्म पनि बाढीको समस्या थिएन । तर बिस्तारै सुनार खोलोले विनाश गर्न थाल्यो।
‘घर त लगेको छैन । खेतबारी सबै बगाउँछ। चार पाँच वर्षअगाडि त हाम्रो धेरै खेत लग्यो। धेरै दुःख छ नि,’ खाडाचक्र नगरपालिका–२, सुनार खोलाकी अदमति विष्टले भनिन्।
दलित बाहुल्यता भएको यो स्थानमा खानेपानीको पनि समस्या छ। खोलाको वारिपारि दुबैतिर बस्ती छ। वर्षाको समयमा स्थानीयलाई खानेपानीको समस्या हुन्छ। जोखिम मोलेर उनीहरूले पानीको जोहो गर्नु पर्ने हुन्छ।
‘पानी त खानु परो । पारि पानी छ तर डर लाग्छ। डर लागेर नहुने। गाईबस्तु पनि पाल्नै पर्छ। बाढी आए पनि पहिरो आए पनि पानी लिन त जानै पर्छ,’ बेलपुरा दमाईले भने।
पछिल्लो समय वर्षामा आएको परिवर्तनका कारण पनि समस्या बढ्दै गएको उनीहरूको अनुभव छ। आजभोलि थोरै समयमा धेरै वर्षा हुने गर्छ। जसका कारण बाढी पहिरोको जोखिम पनि बढेको छ। एकै पटकमा आउने ठूलो बाढीले गर्ने क्षति पनि ठूलै हुन्छ।
‘पहिले यहाँ सम्म जमिन थियो। अहिले यस्तो भएको छ। बाटोघाटो छैन। पुरै बस्तीमा क्षति नै क्षति छ,’ कपुरी कामीले भने।
सडक विकासको पूर्वाधार हो। सडक बनेपछि स्थानीयको दिनचर्या सजिलो भएको छ। तर यो गाउँमा भने सडक बनेपछि सुनार खोलोमा आउने बाढीपहिरो नै स्थानीयका लागि समस्या बनेर देखापर्यो। स्थानीय मानिसहरू सडक बनाउँदा भौगोलिक अवस्थाको ख्याल नगरिएका कारण समस्या भएको बताउँछन्।
‘यो भू–क्षय भइ रहने स्थान हो। पहिलेदेखि नै पहिरो जाने ठाउँ हो। अहिले माथिल्लो भागमा बनेको सडकका कारण समस्या भएको छ। माथि बाढी आएपछि तलतिर क्षति पुग्ने नै भयो। यो सडक बन्नु भन्दा पहिलेको समस्या हो । पछि पहिरो भएकै स्थानमा सडक बन्यो,’ स्थानीय विरेन्द्रबहादुर विष्टले भने।
सडक आउनु भन्दा पहिले यस्तो थिएन। अहिले सबैतिरको पानी एकै स्थानमा जम्मा हुने भएकाले खोलामा ठूलो बाढी आउँने कुरा बताउँछन् घमानसिंह विष्ट।
प्राकृतिक प्रकोप हाम्रो नियन्त्रण भन्दा बाहिरको कुरा हो। कहिले काहीँ हामी आफँैले निर्माण गरेका भौतिक संरचनाका कारण प्राकृतिक प्रकोपको जोखिममा पर्छौँ। सरकारले विकासका पूर्वाधार निर्माण गर्दा अपनाउनु पर्ने मापडण्ड तोकेको छ। ती मापडण्डका आधारमा संरचना निमाण गर्ने हो भने प्राकृतिक प्रकोप पनि न्यूनीकरण गर्न सकिन्छ।
कर्णाली राजमार्ग, तिलानदी र मान्मा बजारमा निर्मित सडक खण्ड पहिले अध्ययन भएको स्थानमा बनेका होइनन्। अध्ययनले कर्णाली नदीको दोभानबाट मान्मा बजारको छेउमा निस्केर बाटो अगाडि जान सक्ने देखाएको थियो । तर केही मानिसको स्वार्थले फरक ठाउँमा सडक बनाइयो।
‘मान्मा बजार हुँदै बाटो लैजानु पर्छ भनी हामीले पछि राजालाई बिन्तीपत्र हाल्यौँ । राजाबाट आदेश भयो अनि यताबाट बाटो बन्यो । प्राविधिकहरूले अध्यनत गरे तर गतिलो चै भएन,’ कटकबहादुर शाहीले भने ।
यसरी प्राविधिक रूपमा राम्रोेसँग अध्ययन नगरी यो सडक खण्डको निमार्ण भयो । जसका कारण अहिले यो गाउँका बासिन्दाले प्राकृतिक प्रकोपको क्षति बेहोर्नु परेको छ । खोलाले दुःख दिएपछि समाधानका केही उपायहरू अवलम्बन गरिए। तर अपनाइएका उपायहरूले समाधान भने दिन सकेनन् ।
‘दुई चारपटक माथिल्लो सुनार खोलामा जाली हाल्ने काम भएको थियो । तर त्यसले पनि काम गरेन । बगाएर लगि हाल्छ,’कपुरी कामीले भनिन्।
बढीलाई जालीले नछेक्ने अजमति विष्ट बताउँछिन्। ‘के गर्नु जाली लगायो बगाइ हाल्छ । जालिले थाम्दैन अनि बाढी आउछ खेत बारी बगाउँछ । के गर्ने,’उनले भनिन्।
अब भने स्थानीयहरू समस्या समाधानको दीर्घकालीन उपाय खोज्दै छन् । खोलाको छेउछाउ बोटविरुवा लगाउन सके मात्र पनि केही रोकथाम गर्न सकिन्छ कि भन्ने स्थानीयको बुझाइ छ।
सुनार खोलाको दीर्घकालीन व्यावस्थापनका लागि खाडाचक्र नगरपालिका वडा नम्बर २ का अध्यक्ष विर्खसिंह विकले अगुवाइ गरेका छन् । अहिले वडा कार्यालयले विपद् व्यवस्थापनको योजना पनि बनाएको छ । बच्चा जन्मिदा २० र मानिस मर्दा २५ वटा विरुवा सुनार खोलाको प्रभाव क्षेत्रमा अनिवार्य रोप्नुपर्ने व्यवस्था गरेको छ।
‘हामीले वडा स्तरमा नै विपद् व्यावस्थापनको कार्ययोजना बनाएका छौँ। यो योजनामा वृक्षारोपणदेखि तटबन्ध निर्माणसम्म छन् । यी सबै काम हामीले स्थानीय स्तरमा गर्ने हुन्,’ खाडाचक्र नगरपालिका–२ का वडा अध्यक्ष विर्खसिंह विकले भने।
सुनार खोलाको व्यावस्थापन गर्न स्थानीय प्रयासले मात्रै पुग्दैन। वडा कार्यलयले नगरपालिकामा यसबारे कुरा राखेको छ। वडा अध्यक्षले नेपाल वातावरण पत्रकार समुहले आयोजना गरेको पानी छलफल कार्यक्रममा पनि सुनार खोलाको व्यावस्थापनको विषय उठाएका छन् । नगर प्रमुखले पनि यस विषयमा गम्भीरताका साथ पहल लिने प्रतिबद्धता गरेका छन्।
वडाध्यक्ष विकले नै खोलाका कारण भएको समस्या समाधानका लागि प्रदेश र संघ सरकारसँग सहयोगको पहल गरी रहेका छन्।
‘हामीले वडा स्तरमा नै विपद् प्रतिकार योजना बनाएका छौँ । विपद् रोक्न सकिन्छ। बाढी आउन नदिनका लागि केके काम गर्न सकिन्छ भन्ने कुरा तयार गरको छौँ। हामी वृक्षारोपण, तटबन्द निर्माण जस्ता काम गदै छाैँ, वडा अध्यक्ष विकले भने,‘स्थानीय स्तरमा हामीले गर्ने काम त पहिलेदेखि नै गर्दै आएको काम हो । दीर्घकालीन व्यावस्थापनका लागि हामीसँग बजेट छैन । त्यसका लागि प्रदेश र संघ कै सहयोगको जरुरी हुन्छ।’





