Monday, April 28, 2025

पत्रपत्रिकामा आजः मेलम्ची खानेपानी द्रुत प्रक्रियाबाट पूरा गरिने, पहिरोमाथि सामुदायिक भवन

काठमाडौं – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

गोरखापत्र
-आजको गोरखापत्रमा मेलम्ची खानेपानी द्रुत प्रक्रियाबाट पूरा गरिने भन्ने शिर्षकमा लक्ष्मण दर्नालको समाचार छापिएको छ । मेलम्ची खानेपानी आयोजना द्रुत प्रक्रियाबाट ९फास्ट ट्रयाक०बाट सम्पन्न गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिको बोर्डले द्रुत प्रक्रियाबाट काम सम्पन्न गर्ने निर्णय गरेको छ । निर्णय खानेपानी मन्त्रालयले मन्त्री परिषद्मा पेस गरिसकेको छ । मन्त्रिपरिषद्को निर्णयपछि द्रुतमार्गबाट आयोजना सम्पन्न गरिने समितिले जनाएको छ ।

-कर्णालीका बालीमा जीविकोपार्जनबारे अध्ययन भन्ने शिर्षकमा नेत्र शाहीको समाचार छापिएको छ । कर्णालीमा लगाइने बाली, उत्पादन हुने खाद्यान्नको सुरक्षा, वातावरणीय प्रभाव र जीविकोपार्जनको अवस्थाबारे अध्ययन सुरु गरिएको छ । नेपाल सरकार राष्ट्रिय योजना आयोग, कर्णाली प्रदेश सरकार र विश्व खाद्य कार्यक्रमको समन्वयमा उत्पादन हुने खाद्यान्नको अवस्था, असर, जोखिम क्षेत्र र सम्भावनाबारे अध्ययन गर्न एक टोली जुम्ला पुगेको छ ।

-झापामा तीन बाली धान वैशाखमा पनि पाक्यो भन्ने शिर्षकमा विष्णुप्रसाद पोखरेलको समाचार छापिएको छ । कात्तिक अन्तिम र मङ्सिर १ मा धान रोपेको देख्दा धेरैलाई अचम्म लागेको थियो । अहिले त्यो धान मज्जाले फलेपछि स्थानीयवासी सबै छक्क परेका छन् ।

कान्तिपुर
-आजको कान्तिपुरमा सडकपेटीमा हिँड्नै सकस भन्ने शिर्षकमा समाचार छापिएको छ । हिँड्नका लागि निर्माण गरिएका सडकपेटीमा साँझ र बिहानको समयमा गरिने फुटपाथ व्यापारले पैदल यात्रुलाई हिँडडुलमा सकस भएको छ  । सडक पेटीमा व्यापार गर्न नपाइने भए पनि प्रशासनको आँखा छलेर व्यापारीले मनलाग्दी ढंगले पसल थापेर सामान बेच्दा यात्रुलाई समस्या भएको हो  ।

-व्यवसायीले टेरेनन् सरकारी निर्देशन भन्ने शिर्षकमा प्रशान्त मालीको समाचार छापिएको छ । भृकुटीमण्डपमा अनाधिकृत तवरले कब्जा जमाएर बस्दै आइरहेका पसल व्यवसायी, संघरसंस्थाका सञ्चालकले सरकारी निर्देशन अटेर गरेका छन्  । समाज कल्याण परिषद् बक्यौता अध्ययन समितिले भाडा बुझाउने बारेमा दिएको निर्देशन पत्रबारे उनीहरूले प्रतिक्रिया नदिएका हुन्  ।

नागरिक
-आजको नागरिकमा पहिल्यै घर बनाएका भूकम्पपीडित अनुदानबाट वञ्चित भन्ने शिर्षकमा समाचार छापिएको छ । २०७२ सालको भूकम्पलगत्तै घर बनाएका भूकम्पपीडितले हालसम्म अनुदान पाउन नसकेको भन्दै खोटाङका जनप्रतिनिधिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आलोचना गरेका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सोमबार जिल्ला समन्वय समितिको हलमा आयोजना गरेको गुनासो तथा पुनरवलोकन कार्यविधिसम्बन्धी एकदिने अभिमुखीकरण तथा अन्तक्र्रिया कार्यक्रममा सहभागी जनप्रतिनिधिले २०७२ वैशाख १२ गतेको महाभूकम्पलगत्तै घर बनाएर बसिरहेका वास्तविक भूकम्पपीडितले हालसम्म राज्यको अनुदान पाउन नसकेको बताए।

-भृकुटीमण्डपको जग्गा सम्झौता खारेज भन्ने शिर्षकमा भाषा शर्माको समाचार छापिएको छ । समाज कल्याण परिषद्ले भृकुटीमण्डप परिसर जग्गा भाडामा दिइएको सम्झौतामा अनियमितता भएकाले खारेज गर्दै ६० दिनभित्र खाली गर्न पत्र पठाएको छ। जग्गा भाडामा लिने पूर्वमन्त्री टेकबहादुर गुरुङसँग, ल्याम्ह पुचः युवा क्लव, तरकारी बजार रहेको क्षेत्रको भाडा लेनदेन सम्झौता खारेज गर्दै जग्गा खाली गर्न पत्राचार गरेको हो।

-इन्दुशंकरसहित तीन चिनी उद्योग बन्द भन्ने शिर्षकमा टंक क्षेत्रीको समाचार छापिएको छ । मुलुकमै सबैभन्दा बढी उखु क्रसिङ गर्दै आएको सर्लाही हरिऔनस्थित इन्दुशंकर चिनी उद्योग चालु सिजनका लागि बन्द भएको छ। सोमबार बिहान साँढे १ बजेबाट उद्योगले यो सिजनका लागि उखु क्रसिङ बन्द गरेको उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए। रजकका अनुसार उद्योगले यस वर्ष ३५ लाख १३ हजार क्विन्टल उखु क्रसिङ गरेको जनाएको छ।

-सडक धुलाम्य हुँदा जनतालाई सास्ती भन्ने शिर्षकमा समाचार छापिएको छ । धनगढीको मोहना पुलदेखि अत्तरिया चोकसम्मको निर्माणाधीन ‘छ लेन’ सडक धुलाम्य हुँदा सर्वसाधारणको आवागमन असहज बनेको छ। बढ्दै गएको गर्मीसँगै चल्ने हावाहुरीका कारण सुदूरपश्चिम प्रदेशको राजधानी शहर धनगढी प्रवेश गर्ने उक्त सडकमा यतिबेला हिँड्नै नसकिने गरी धुलो उड्न थालेपछि सर्वसाधारणलाई सास्ती हुने गरेको हो।

नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा पहिरोमाथि सामुदायिक भवन भन्ने शिर्षकमा प्रकाश धौलाकोटीको समाचार छापिएको छ । भक्तपुरको गुन्डु-पीपलडाँडा सडकखण्ड अन्तर्गतको गुन्डुमा सडक छेउको पहिरोमाथि सामुदायिक भवन निर्माण गरिएको छ । सूर्यविनायक नगरपालिका-७ गुन्डु बजारनजिकै सडकको बायाँपट्टि दुई वर्षअघि पहिरको गएको थियो ।

-धुलिखेलमा सरसफाइ भन्ने शिर्षकमा समाचार छापिएको छ । धुलिखेल नगरपालिकाले ५२ हप्ते नगर सरसफाइ अभियान शुरु गरेको छ ।

-विस्थापनको जोखिममा जलविद्युत् आयोजना भन्ने शिर्षकमा पुष्प कोइरालाको समाचार छापिएको छ । पाँचथर र तेह्रथुमको सीमा नदी तमोरमा ७ सय ६२ मेगावाटको तमोर जलाशययुक्त आयोजना बनाउने योजना सरकारले अघि बढाएको छ । लगानी बोर्डले सोकेसमा राखेको यो आयोजनामा दुई विदेशी कम्पनीले प्रस्ताव ९आवेदन०समेत गरेका छन् । तर, यो आयोजना बन्यो भने यसले माथिल्लो तटमा बन्न लागेको ३७।६ मेगावाटको काबेली ए र निर्माण पूरा हुने क्रममा रहेको २१।४ मेगावाटको हेवा खोला आयोजना डुबाएर विस्थापन गर्छ ।

ताजा समाचार

सम्बन्धित समाचार