Sunday, April 27, 2025

अब कोटेश्वरमा पनि ‘पिक एण्ड ड्रप’

काठमाडौँ- उपत्यकाको प्रमुख चोक कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ ।

ट्राफिक प्रहरी, काठमाडौँ महानगरपालिका र यातायात व्यवसायीबीच यसअघि भएको सहमतिअनुसार आइतबारदेखि कोटेश्वर चोकमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरेसँगै सवारी जाममा कमी हुने बताए।

“धेरै सवारी साधन ओहोरदोहोर गर्ने प्रमुख चोक कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ लागू गरेसँगै काभ्रे जगाती नाका हुँदै आउने सवारी साधनलाई काठमाडौँ भित्रन सहज हुनेछ”, उनले भने । सवारी साधनले यात्रु कुर्दा जाम अत्याधिक हुने गरेपछि उक्त व्यवस्था लागू गरिएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले उक्त व्यवस्था लागू भएसँगै कोटेश्वर चोकमा हुने जाममा कमी आउँने हुँदा यातायात व्यवसायी, चालक तथा सहचालकलाई घण्टौँ जाममा बस्नुपर्ने वाध्यता हट्ने बताए । जाम हटेसँगै एउटै सवारी साधन धेरैपटक ओहोरदोहोर गर्दा धेरै आम्दानीसमेत हुने उनको भनार्इ छ ।

यसअघि जमल, पुरानो बसपार्क, शहीदगेट, एनए, लैनचौर क्षेत्रमा उक्त व्यवस्था लागू गरेको थियो ।

आगामी दिनमा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त तथा दुरुस्त बनाउन उपत्यकाका विभिन्न स्थानमा उक्त व्यवस्था लागू गर्ने महाशाखाले जनाएको छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार