काभ्रेपलाञ्चोक- पाँचखाल नगरपालिका–९ भगवतीस्थानका कृषकलाई ५० प्रतिशत अनुदानमा ट्र्याक्टर (मिनी ट्रेलर) दिइएको छ । नगरप्रमुख महेश खरेलले आज आइतबार कृषक समूहका अगुवालाई २७ ट्र्याक्टर हस्तान्तरण गरे।
उनले मिनी ट्रेलरको प्रयोगले कृषकको समय र खर्चको बचत हुने बताए । उनले भने, “अब सबै वडाका कृषकलाई क्रमैसँग ट्र्याक्टर वितरण गर्नेछौँ ।” उनले यस आर्थिक वर्षको बजेटबाट सबै कृषकलाई अनुदानमा ट्र्याक्टर दिइने बताए ।
वडाले एक समूहमा पाँच कृषक सदस्य रहेको २७ समूह बनाएर प्रत्येक समूहलाई एक ट्र्याक्टर दिइएको वडाध्यक्ष किरण श्रेष्ठले बताए । उनले भने, “समूह बनाएपछि साधनप्रति माया हुन्छ र मर्मतमा समस्या नहुने भएकाले समूह बनाएर दियौँ ।” उनका अनुसार ७ दशमलव ५ हर्सपावरको मिनी ट्रेलर ३७ हजारमा खरीद गरी कृषकलाई ५० प्रतिशत अनुदानमा दिइएको हो ।