काठमाडौँ- बझाङ, बाजुरा, दोलखा, तेह«थुमलगायतका जिल्लाहरुमा पानीको मुहान र अन्य विवादका कारण केही खानेपानी आयोजनाको निर्माण कार्य अवरुद्ध भएको छ ।
उक्त जिल्लाका ९ डिभिजन कार्यालयहरुमा २३ करोड ९८ लाख लागत अनुमान भएका ११ खानेपानी आयोजनामा विवाद देखिदा हाल सम्म भएको खर्च १ करोड १८ लाख खेर जाने अवस्थामा रहेको महालेखा परीक्षाको प्रतिवेदनले औल्याएको छ ।
डिभिजन कार्यालय, ओखलढुङ्गा अन्तर्गत विजयटार सिंहदेवी खानेपानी आयोजनाको लागत अनुमान ८ करोड २७ लाख २२ हजार रहेकोमा यो वर्ष २८ लाख विनियोजन भएपनि स्थानीयस्तरमा उपभोक्ता बीच विवाद रहेको कारण ४ लाख २० हजारका फिटिङ सामग्री खरिद गरी मौज्दात राखेको प्रतिवेदनमा उल्लेख छ । दोलखाको लामिडाँडा उपभोक्ता समितिमा विवादकाकारण ५६ लाख विनियोजन भएकोमा ५ लाखमात्र खर्च गरेको छ ।
त्यस्तै, डिभिजन कार्यालय, रौतहटले १४ योजनाको लागि ८८ लाख विनियोजन भएपनि जग्गा उपलब्ध नभएको कारण उपभोक्ता समिति गठनमा विवाद भई कार्य सञ्चालन गरेको छैन ।
विवाद समाधान गरी निर्माण कार्य सञ्चालनगर्नुपर्ने र पूर्व तयारीका कार्य सम्पन्न गरी विवाद नहुने गरी योजना सञ्चालन हुनुपर्ने महालेखाको सुझाव छ ।