बर्दिवास । महोत्तरी जिल्लामा यसपालि गहुँको उत्पादन निकै घटेको छ । बाली तयार भएर काट्ने बेलामा आएको हावाहुरी र असिनापानीले नोक्सान गरेपछि गहुँको उत्पादनमा कमी आएको हो ।
जिल्लाको ३० हजार हेक्टर क्षेत्रफलमा लगाइएको गहुँ बालीबाट ६५ हजार मेट्रिकटन उत्पादन हुने लक्ष राखिएको थियो । तर गत चैतको मध्यदेखि नै आएको हावाहुरी र असिनापानीले गहुँ बाली खेतबारीमै लडाएर नोक्सान हुँदा ३५ हजार मेट्रिकटन मात्र उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र डिभिजन कार्यालय मलङ्गवा (सर्लाही) को सम्पर्क कार्यालय जलेश्वर (महोत्तरी)ले जनाएको हो ।
जिल्लामा गहुँबाली धेरै गरिने भङ्गाहा, मनराशिशवा, बलवा, गौशाला र औरही नगरपालिका क्षेत्रमा असिनापानी धेरै परेकाले गहुँका बाला खेतमै झरेर नोक्सान भएको छ । वैशाख पहिलो साता सकिन लाग्दासम्म अझै किसानले खेतबाट गहुँबाली समेट्न नसकेका कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय जलेश्वरका प्रमुख सुरेशप्रसाद चौरसियाले बताए ।
अपेक्षित गहुँबाली थन्क्याउन नसकिएपछि यहाँका किसान यसपालिको जीवन गुजारा कसरी गर्ने भन्ने चिन्तामा परेका छन् । जिल्लाको मुख्य दोस्रो बाली मानिएको गहुँ सोचेजस्तो उत्पादन नभएपछि यसपालि अन्नको सङ्कट परेको किसानको भनाइ छ । जिल्लामा बाली लगाइने क्षेत्रफल र उत्पादनका आधारमा धान पहिलो र गहुँ दोस्रो मुख्यबाली मानिँदै आएको छ । रासस