उपत्यकाका ३० स्थानमा ‘वाटर एटिएम’ राख्दै खानेपानी व्यवस्थापन बोर्ड

काठमाडौँ – काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले उपत्यकाका ३० स्थानमा ‘वाटर एटिएम’ राख्ने बताएको छ।
यसअघि बोर्डले उपत्यकाका २० स्थानमा ‘वाटर एटिएम’ सञ्चालन गर्ने बताए पनि गत फागुन २१ मा ललितपुर महानगरपालिकामा राखिएको एटिएमबाट सकारात्मक प्रतिकृया आएपछि थप १० स्थानमा सञ्चालन गर्ने भएको हो।

वाटर एटिएमबाट सस्तोमा पानी पिउन सकिने, सजिलो र वातावरणमैत्री भएकाले सकरात्मक प्रतिक्रिया प्राप्त भएकोले पहिला तोकिएकोसँगै थप १० स्थानमा जडान गर्ने योजना रहेको बोर्डका कार्यकारी निर्देशक डा.सञ्जीव राणा बताए।

हाकाहाकीसँग कुरा गर्दै उनले भने, ‘हामीले १९ वटा ठाउँमा भनेका थियौं तर अब हामीले काठमाडौँ उपत्यकाका ३० भन्दा बढी स्थानमा राख्ने योजनामा छौँ।’ उनका अनुसार बढी भीडभाड हुने स्थान जस्तै पशुपति, स्वयम्भू, बौद्ध, ठमेल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन दरवार क्षेत्र, भक्तपुर दरवार क्षेत्रका साथै अन्य पर्यटकीय स्थलमा वाटर एटिएम राखिने छ।

आन्तरिक र बाह्य पर्यटकका लागि बढी उपयोगी ठानेर उक्त स्थानलाई बढी प्राथमिकतामा राखिएको राणा बताउँछन्। तर, कुन कुन स्थानमा वाटर एटिएम राख्ने भन्ने विषयमा विस्तृत अध्ययन भइरहेकाले सञ्चालनमा भने केही समय लाग्ने उनको भनाइ छ।

“टेण्डर प्रकृया अगाडि बढेको छ, अबको १५ दिन भित्रमा प्रकाशित हुन्छ,’ उनले भने, ‘वाटर एटिएम खरिद र जडान गर्नलाई ११ देखि १५ लाखसम्म लाग्छ त्यसैले अलि समय लाग्ने देखिन्छ।’

वाटर एटिएममा शुद्ध पानी बनाउनका लागि आवश्यक सबै किसिमका फिल्टर प्रणाली जडान भएको राणाको दाबी छ।
महङ्गो पैसा तिरेर पनि शुद्ध पानी पिउन नपाउने अवस्थामा वाटर एटीएम एउटा साना प्रयास भएको उनको बुझाइ छ। बोर्डको मातहतमा सो परियोजना शुरु गरिएकोले निजीस्तरबाट राख्न चाहे बोर्डसँग स्वीकृति लिनुपर्ने पनि राणाले प्रष्ट पारे।

गत फागुन २१बाट नेपालमै पहिलो पटक ललितपुर महानगरपालिकामा वाटर एटिएम सञ्चालनमा आएको थियो। उक्त एटिएमबाट दुई रूपैयाँमा २०० मिलिलिटर पानी पिउन सकिन्छ।

ताजा समाचार

सम्बन्धित समाचार