समाचार टिप्पणी
काठमाडौँ – हाम्रा राजनीतिज्ञ र नीति निर्मातहरूले यतिबेला जताततै स्मार्ट सिटी निर्माणको घोषणा गरिहेका छन्। कतिपय सन्दर्भमा स्मार्ट सिटी के हो र यसका लागि कति समय लाग्छ भन्ने यकिन थाहा नभइकन पनि उनीहरू यस्तो अभिव्यक्ति दिइरहेका छन्।
यद्यपि स्मार्ट सिटी निर्माण यतिबेला संसारभरि नै अभियानको रूपमा अगाडि बढीरहेको छ। बृहत रूपमा भन्दा सूचना प्रविधिको व्यापक प्रयोग गरेर सिटीको पूर्वाधार, सेवा र सुविधाहरू व्यवस्थापन गर्नु नै स्मार्ट सिटी हो। धेरै सन्दर्भमा स्मार्ट सिटी निर्माण गर्दा राजमार्ग, सुरक्षा, सहरी सुविधा, विभिन्न मूल्यमा कमी र पूर्वाधारको व्यवस्थापन गरिन्छ । वास्तवमा स्मार्ट सिटीको अवधारणमा दीर्घकालीन सिटी निर्माण पनि पर्दछ । जसमा वातावरण र पर्यावरणलाई पनि विशेष ध्यान दिइन्छ।
तर, कतिपय सन्दर्भमा यो ख्याल गरिएको पाइँदैन। त्यसैले यतिबेला विश्वभर नै स्मार्ट सिटी कि दीर्घकालीन सिटी भन्ने तीव्र बहस भइरहेको छ। नेपालमा पनि यस सम्बन्धमा समयमा नै बहस हुन आवश्यक छ। विशेष गरी सहरमा विभिन्न प्रकारका पूर्वाधारहरूको निर्माण गर्दा वातावरणीय पक्षलाई ख्याल नगर्ने प्रवृत्ति नेपालमा छ। हामीकहाँ पूर्वाधार तथा कुनै आवास निर्माण गर्दा क्रंकिट निर्माणमा मात्र ध्यान दिने प्रचलन रहेको छ। हामी पानीको स्रोतको संरक्षण, हरियाली प्रबद्र्धन र जैविक तथा वातावरणीय पक्षलाई ध्यान दिँदैनौँ ।
दीर्घकालीन सिटीको अवधारणाले विशेष गरी वातावरण संरक्षण र त्यहाँ बस्ने व्यक्तिको गुणस्तरीय जीवनयापन दुबैलाई बराबर प्राथमिकता दिएको हुन्छ । दीर्घकालीन सिटीको निर्माण गर्दा विशेष गरी दीर्घकालीन प्रविधि, दीर्घकालीन यातायात व्यवस्था, संस्कृति र सम्पदाको संरक्षण, पर्याप्त खाली ठाउँ र बगैँचाहरूको निर्माणसँगै प्राकृतिक प्रकोपसँग जुध्न सक्ने पूर्वाधारहरूको निर्माण गरिन्छ ।
यतिबेला हामी पूर्वाधार निर्माणको चरणमा छाैँ। तीव्र रूपमा सहरीकरणको प्रक्रिया अगाडि बढेको छ। विशेष गरी विभिन्न सेवा र सुविधाहरूको खोजीमा मानिसहरू गाउँबाट सहरमा बसाइँ सरासई गर्ने क्रम बढेको छ। नेपालमा मात्र होइन संसारभरि नै सहरी क्षेत्रमा बसाइँ सराइको क्रम बढेको छ। जलवायु परिवर्तनका कारण पनि यो क्रम बढेको विभिन्न अध्ययनहरूले देखाएका छन्।
यसरी ठूलो मात्रामा गाउँबाट सहरमा बसाइँ सर्ने क्रम बढेपछि सहरी क्षेत्रको पर्यावरण संरक्षण चुनौतीका रूपमा देखा परेको छ। यदि हामीले यसलाई समयमा र्नै सम्बोधन नगर्ने हो भने यसले हाम्रो वातावरणमा गम्भीर असर गर्ने निश्चित प्राय छ। त्यसैले हामीले स्मार्ट सिटीको निर्माण कार्य अगाडि बढाउँदा त्यसलाई कसरी दीर्घकालीन बनाउन सक्छौँ भन्ने विषयमा सोच्ने बेला भइसकेको छ। विशेषतः हामीले प्रयोग गर्ने ऊर्जा, यातायात प्रणाली, वृक्षारोपण लगायतका विषयहरूमा विशेष ध्यान दिन ढिलो भइसकेको छ। त्योभन्दा पनि महत्वपूर्ण हामीले पानीका स्रोतहरूको संरक्षणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ। दीर्घकालीन रूपमा ठूलो परियोजनाबाट पानी ल्याउने भन्दा पनि स्थानीय स्तरमा नै पानीका स्रोतहरूको संरक्षणमार्फत पानीको व्यवस्थापन दीर्घकालीन रूपमा हितकर देखिने विभिन्न अध्ययनहरूले देखाएका छन्।
दीर्घकालीन सिटीको निर्माण गर्दा हामीले अहिलेको आवश्यकता पुरा गर्नका लागि मानव, प्राकृतिक र आर्थिक स्रोतसाधनको उपयो गर्ने र भावी पुस्ताको लागि पनि यी स्रोत र साधनहरूको उपलब्धताको सुनिश्चितता गर्ने तरिका अपाउनुपर्छ। मानव समुदायले आफ्नो हितका लागि स्रोत र साधानको प्रयोग गर्ने र यसबाट अन्य समुदायको पनि हित हुने सिद्धान्त नै दीर्घकालीन सिटी निर्माणको मूल मर्म हो। त्यसैगरी स्वस्थ पर्यावरण प्रणाली यस्तो सिटी निर्माणको पूर्वसर्त हो। विगतमा हामी शहरको डिजाइन र निर्माणमा ठूला ठूला गल्तीहरू गरिरहेका छौ । यस सन्दर्भमा आगामी दिनमा सो गल्ती नदोहोरियस भन्नका लागि हामी विशेष रुपमा चनाखो हुन आवश्यक छ ।





