Monday, September 30, 2024

प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन हुँदै

कठमाडौं–कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अन्तर्राष्ट्रिय प्राङ्गारिक विज्ञ सम्मेलन आयोजना गर्ने भएको छ।

रासायनिक मल र विषादी निरुत्साहित गरी प्राङ्गारिक खेतीलाइ प्रोत्साहन गर्न सम्मेलन आयोजना गर्न लागिएको हो।

प्राङ्गारिक कृषि प्रवर्द्धन उच्चस्तरीय कार्यदलको सोमबार मन्त्रालयमा बसेको तेस्रो पूर्ण बैठकले यस्तो निर्णय गरेको हो। सम्मेलन आगामी वैशाख ३१ र जेष्ठ १ गते काठमाडौमा हुन लागेको कार्यदलका सदस्य सचिव डा. गङ्गा आचार्यले जानकारी दिए।

आचार्यका अनुसार भारत, भुटान, क्युबा, र स्पेनका प्राङगारिक विज्ञ आउने निधो भैसकेको छ। सम्मेलनमा स्वदेशी र विदेशी गरी करिब १५० जना विज्ञको सहभागिता रहने कार्यदलले जनाएको छ ।

सम्मेलन व्यवस्थापनका लागि कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री रामकुमारी चौधरीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ।

कार्यक्रम प्रधानमन्त्री के पी शर्मा ओलीले उद्घाटन र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समापन गर्ने आचार्यले बताए।

सम्मेलनबाट आएका सुझावलाई समेटेर कार्यदलले प्रतिवेदन तयार गरी जेठको पहिलो हप्तासम्म प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेको छ।

प्राङ्गारिक खेतीलाई प्रवर्द्धन गर्न भन्दै गत पुस २९ गते कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन भएको थियो। कार्यदलले अहिलेसम्म सातै प्रदेश र उपत्यकामा गरी १० वटा अन्तक्रिया गरेर सुझाव सङ्कलन गरेको कार्यदलका सदस्य कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

ताजा समाचार

सम्बन्धित समाचार