काठमाडौँ – नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले ‘पानीको मूल तथा पोखरीको संरक्षण’ अभियान शुरु गरेका छन् ।
उनले शनिबारदेखि आफ्नो गृहजिल्ला तनहुँबाट उक्त अभियान शुरु गरेका हुन् ।
उक्त अभियानलाई देशव्यापी रुपमा लैजाने बताउँदै उनले सरकारले ठूलाठूला परियोजनाहरू सार्वजनिक गरेपनि वरपरको विकासलाई महत्त्व नदिएकाले उक्त अभियान शुरु गरिएको बताए ।
नेपालमा पानीका श्रोतहरू प्रशस्तै भएको तर त्यसको संरक्षणमा सरकारको ध्यान जान नसकेकोे भन्दै उनले पानी पधेँरोको संरक्षणबाट उक्त अभियानको सुरुवाता गरेको जानकारी दिए ।
पौडेलकै नेतृत्वमा तनहुँका विभिन्न स्थानमा रहेका पधेँरा आसपासका क्षेत्रमा १ सय २३ प्रजातिका विरुवा पनि रोपिएका छन् ।
पानीको सबै श्रोतहरूको संरक्षण हुनु पर्ने भन्दै राजनीतिक जनशक्तिको प्रयोग आफ्नो अभियानमा गर्ने उनको भनाइ छ।
“म कांग्रेसको केन्द्रीय सदस्य भएकाले पनि कांग्रेसकै बढी जनशक्ति प्रयोग हुन्छ” उनले भने “यसअर्थ अन्य पार्टीहरूलाई नआउनुहोस भन्न खोजेको भने होइन।”
उनी स्वच्छ खानेपानी सबै नागरिकको आधारभूत आवश्यकता भएकाले पानीको मूल आसपासको क्षेत्र सफा राख्नु सबैको दायित्व भएको बताउँछन्।
आफ्नो पहलमा उक्त अभियान शुरु भएपनि सफल हुन सबैको साथ आवश्यक पर्ने बताउँदै उनले सबैलाई आफ्नो अभियानमा हातेमालो गर्न आग्रह गरेका छन्।