Wednesday, April 23, 2025

जीविकोपार्जनको राम्रो स्रोत बन्दै चिराइतो

अपी- अपी हिमाल गाउँपालिकामा किसानलाई चिराइतो खेती उत्पादनसम्बन्धी तालीम दिइएको छ । उच्च हिमाली क्षेत्रको सो ठाउँमा चिराइतो उत्पादन हुने भएकाले किसानलाई ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना र उक्त गाउँपालिकाले संयुक्तरूपमा सो तालीम दिएको हो ।

तालीममा चिराइतोको बीउ उत्पादन, नर्सरी निर्माण, तथा बिक्री वितरणबारे जानकारी दिइएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका जीविकोपार्जन अधिकृत राजेन्द्रप्रसाद गिरीले जानकारी दिए ।

चिसो मौसम र उच्च भूभाग भएका कारण चिराइतो उत्पादनको सम्भावना राम्रो छ, उनले भने, “किसानलाई व्यावसायिक रुपमा चिराइतोमा लगाउन सके जीविकोपार्जनको राम्रो स्रोत बन्ने छ । सबै वडाका बासिन्दा चिराइतोमा आकर्षण भएकाले करिव दुई दर्जन महिला पुरुष छनोट गरी तालीममा सहभागी गराइएको थियो ।

तालीमका क्रममा किसानले अपी वडा नं४ स्थित चौविसनमा चिराइतको नमूना खेती गरेका थिए । स्थानीय खण्डेश्वरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं व्यावसायी पोखरसिंह रोकायाका अनुसार खण्डेश्वरीमा मौसम अनुकुल भएकाले विगतदेखि नै चिराइतो खेती हुँदै आएको छ । विविध जडीबुटी पाइने यस गाउँपालिकामा मौसम सुहाउँदो खेती प्रणालीमा जोड दिइने गाउँपालिकाका अध्यक्ष धर्मानन्द मन्यालले बताए ।रासस

ताजा समाचार

सम्बन्धित समाचार