नारायणपुर । दाङको लमही नगरपालिका–६ स्थित कुलमोहरवासी खानेपानीको सुविधा भएपछि खुशी छन् । नगरपालिकाकै विकट क्षेत्र पर्ने कुलमोहरमा यसअगाडि धेरै नेता आए विकास दिन्छु भने तर कसैले सिन्को भाँचेनन् । विकास गर्न धेरै बाँकी रहेको कुलमोहरमा पहिलो पटक धारामा पानी खसेपछि विकासको महसुस हुन थालेको स्थानीयवासी श्यामसिंह गिरीले बताउछन् ।
“साह्रै पछाडि परेको गाउँ हो हजुर यो, खानेपानीको धेरै समस्या थियो,” गिरीले भने, “यो बस्तीमा पहिलो पटक पानीको धारा खस्यो ।” कुलमोहर बस्ती बसेको करीब ४८ वर्ष भयो । त्यहाँका स्थानीयवासीले घर नजीकै रहेको खोलाको पानीले जीवन चलाउँदै आएका थिए ।
लमही–घोराही सडकखण्डको नजीकै पर्ने कुलमोहर गाउँ लमहीको बजारभन्दा पनि पुरानो गाउँ भनेर चिनिन्छ । अर्जुन खोलाको जरुवाको पानी खाएर कुलमोहर गाउँवासी हुर्किए । करीब ९० घरधुरी सङ्ख्या रहेको कुलमोहरवासीले वनको बाटो भएर करीब एक घण्टा पैदल हिँडेर पिउने पानी ल्याउनुपर्ने समस्या रहेको कमला गिरीले बताए। तर लमही नगरपालिका–६ को कार्यालयले कुलमोहरवासीको मुहारमा परिवर्तन ल्याइदिएको छ ।
लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको लागत अनुमानअनुसार कुलमोहर गाउँमा धारा जडानका निम्ति वडा नं ६ को वडा कार्यालयबाट दश लाख बजेट विनियोजन भएको थियो । सोही बजेट र लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको प्राविधिक सहयोगमा गाउँमा धारा पु¥याउन सफल भएको वडाध्यक्ष गणेशमान चौधरीले बताए । रासस