लुम्बिनी – १३ वर्षअघि पार्क र चिडियाखाना बनाउने प्रस्ताव गर्दा हाँसोको रूपमा उडाइएका पात्र थिए बाबुराम अर्याल। शङ्करनगरमा भएको एउटा सार्वजनिक समारोहमा राजनीतिक दल, बुद्धिजीवी र समाजका अगुवा सबैको उपस्थिति थियो। त्यही सार्वजनिक मञ्चलाई उपयोग गर्दै साविक शङ्करनगर गाउँविकास समितिका पूर्व उपाध्यक्षसमेत रहेका अर्यालले शङ्करनगर सामुदायिक वनको हाताभित्र पार्क र सानो चिडियाखाना बनाउने प्रस्ताव गरेका थिए।

सबै जमघट भएको कार्यक्रममा प्रस्ताव राख्दा सकारात्मक प्रतिक्रिया प्राप्त हुने ठानेर प्रस्ताव राखेकोमा भइदियो उल्टो। “सबैले राम्रो प्रस्ताव भनेर सहयोग गर्लान् भनेको त यहाँका बुद्धिजीवी भन्नेहरूले मेरो प्रस्ताव सुनेर धेरै उपहास गरे। यहाँ १० औँ हजार मानिस ल्याउन सकिन्छ र पर्यटकीय स्थलको रूपमा शङ्करनगर विकास हुन्छ भनेर प्रस्ताव राखेको थिएँ,” उनले भने, “अमेरिकाको सेन्ट्रल पार्क जस्तो बनाउँ भनेर प्रस्ताव राख्दा मलाई उडाइयो। सबैले हाँसेर उडाए तर मलाई कति पनि ह्युमुलेसन भएन।”
आकर्षणको केन्द्र
आफ्नो प्रस्तावलाई उडाइए पनि उनले हरेस खाएनन्। समय कुरेर बसे। आफ्नो सोच र योजनाका बारेमा मानिसहरूलाई अझ प्रस्ट्याउँदै गए। शङ्करनगर सामुदायिक वन उपभोक्ता समितिको नेतृत्व परिवर्तन भयो। उमानाथ कंडेल वन समितिको नेतृत्वमा आए। अर्यालले आफ्नो योजना कंडेलसमक्ष राखे। अर्यालको प्रस्तावमा वन समितिका अध्यक्ष कंडेल सहमत भए। तत्कालै अध्यक्ष कंडेलले उपभोक्ता समितिको साधारण सभा बोलाए र शङ्करनगर पार्क र चिडियाखाना बनाउने प्रस्ताव राखे। साधारण सभाबाट अर्यालको प्रस्ताव पास भयो। साधारण सभाले पार्क र चिडियाखाना बनाउने जिम्मा अर्याललाई नै सुम्पियो । त्यसपछि उनले आफ्नो कामलाई बिस्तारै अघि बढाए।

सुरुमा मानिसले नपत्याएको तिलोत्तममा नगरपालिका–२ मा अवस्थित शङ्करनगर वन वाटिका तथा उद्यान केन्द्र अहिले प्रदेश नम्बर ५ कै प्रमुख पर्यटकीय स्थलका रूपमा विकाश भएको छ।
शङ्करनगर वन वाटिका उद्यान केन्द्रका अनुसार अहिले दैनिक ५ सय मानिस उक्त ठाउँमा घुम्न आउँछन्। पार्कमा वनभोज स्थलका साथै बाल उद्यान र जनावर पनि छन् । चितुवा, निलगाई, सारस, भालु, दुम्सीलगायत विभिन्न २५ प्रजातिका वन्यजन्तु तथा पंक्षी रहेको उद्यान केन्द्रका संयोजक बाबुराम अर्यालय बताउँछन् । उद्यान केन्द्रलाई अहिले चिडियाखानाको रूपमा विकाश गर्दै लगिएको छ।

नेपालीका लागि मात्र होइन अहिले उक्त स्थल भारतीय पर्यटकहरूका लागि समेत आकर्षणको केन्द्र बन्दै गएको छ। भारतको गोरखपुर, कुशीनगरलगायतका ठाउँबाट भ्रमणका लागि आउने गरेको अर्यालय बताउँछन्। उनका अनुसार लुम्बिनी घुम्न आउने बौद्ध मार्गीहरूसमेत शङ्करनगर वनवाटिका तथा उद्यान केन्द्रमा घुम्न आउने गरेका छन्। यस वर्ष १० जना अमेरिकी र १० जना फ्रान्सका नागरिकसमेत आएका थिए । सरकारले हरेक प्रदेशमा चिडियाखाना बनाउने घोषणा गरेको छ। प्रदेश नम्बर ५ को चिडियाखानाका रूपमा यही वनवाटिका तथा उद्यान केन्द्रलाई बनाउने योजना रहेको अर्याल बताउँछन्।
रोलमोडल अर्याल
शङ्करनगर सामुदायिक वन उपभोक्ता समितिबाट पार्क तथा उद्यान निर्माणको जिम्मा पाएदेखि सुरु भएको अर्यालको यात्रा अहिलेसम्म जारी छ। बिहान ७ बजेदेखि साँझ अँध्यारो नहुञ्जेलसम्म उनको समय वन्यजन्तु, चराचुरुङ्गीको स्याहार तथा त्यहाँको व्यवस्थापनमै बित्छ।

एक जना कर्मचारीबाट सुरु भएको शङ्करनगर वन वाटिका तथा उद्यान केन्द्रमा अहिले ३० जना कर्मचारी छन् । कर्मचारी नहुँदा सुरुका दिनमा सम्पूर्ण काममा बाबुराम एक्लै खटिन्थे । बिहान गेट खोल्नेदेखि त्यहाँ रहेका जनावरलाई घाँस, अन्न खुवाउनेदेखि शौचालय सफा गर्ने सम्मका काम गरेको उनी सुनाउँछन् । तर, अहिले त पर्याप्त मात्रामा कर्मचारी भएको र आफू व्यवस्थापकीय भूमिकामा रहेको अर्याल बताउँछन्।
अहिले त वनवाटिकामा सहयोग गर्नेहरूको कमी छैन। विभिन्न संघसंस्थाले शौचालय, पार्क तथा बालउद्यान निर्माणका काममा समेत सहयोग गरेका छन्। तत्कालीन नेकपा एमाले, नेकपा माओवादी, तथा नेपाली काँग्रेस लगायतका प्रमुख राजनीतिक दलहरूले फरक–फरक ठाउँहरूको जिम्मा लिएर पार्क निर्माणमा सघाएका छन् भने लायन्स, रोटरीलगायतका अन्य संघसंस्थाले धारा, शौचालय निर्माण गरेर सहयोग गरेका छन् । तीन वर्ष भयो, घुम्न आउने मानिसहरूको टिकट र वनभोज स्थलबाट सङ्कलित रकमले कर्मचारीलाई तलब र त्यहाँ वन्यजन्तुको दैनिक खाना खर्च चलेको छ । कुनै समय यस्तो थियो खर्च नपुगेर अर्याल आफैँ व्यक्तिगत रूपमा जमानी बसेर ऋण ल्याई खर्च चलाएका थिए । रू ३,५,१० बाट सुरु भएको प्रवेश शुल्क अहिले प्रतिव्यक्ति रू.४० पुगेको छ।
बुटवल र तिलोत्तमामा पहिला प्रशस्त खाली जग्गा थिए। पार्क तथा टहलिने ठाउँहरूको खास समस्या थिएन । पछिल्ला २० वर्षमा पहाडबाट भएको बसाइसराइले खाली जग्गा घरले भरिभराउ छन् । बालबालिकालाई खेल्ने र घुम्ने ठाउँको अभावलाई पनि वनवाटिकाले पूरा गरेको छ ।





