गत वर्षसम्म पानी आइरहेको इनार यसपटक सुक्यो । एक थोपो पानी पनि छैन। अब पानीको श्रोत ट्याङ्कर बनेको छ । गत वर्ष ढल तथा पानीको पाइप विछ्याउन खनेको खडक अहिलेसम्म हिलाम्य छ। ग्रामीण भेगका पँधेराहरू धमाधम सुकिरहेका छन् । कहिल्यै पहिरो नजाने गाउँमा पहिरो जान थालेको छ। केही वर्षअघिका स्वच्छ र सफा खोला अहिले ढलमा परिणत भएका छन् । डाँडाकाँडामा हरियाली कम हुँदै गएको छ।
वन्यजन्तु बासस्थानका लागि बस्तीतिर आउन थालेका छन् । खोलाको बहाब रोकिएको छ। जसले गर्दा खोलाले आफ्नो धार नै परिवर्तन गरेको छ । केही वर्षअगाडिसम्म खोलाको कञ्चन पानीमा माछाहरू खेलेको दृश्य स्पष्ट देखिन्थ्यो। अहिले माछा देखिँदैन । समुदायमा रहेका पोखरीहरू प्रदूषित छन् । केही सुक्न लागेका छन्। केही पोखरी मासेर हामीले ठूला भवनहरू निर्माण गर्न थालेका छौँ । त्यसबाट हामीले अरबौँ कमाएका छौँ र शक्तिमा रहेकाहरूलाई प्रभाव पारेका छौँ । हामी चारैतिर कम्पाउण्ड भएको घरमा सानका साथ बसेका छौँ । वरपरको खुल्ला ठाउँमा लुकेर फोहर फालिरहेका छाैँ अनि सरकारलाई फोहोर उठेन भनेर गाली गरिरहेका छाैँ। थोत्रा गाडी चलाएर प्रदूषण बढाइरहेका छौँ।
यी दृश्यहरू हाम्रा अगाडि किन छन् ? कसैलाई मतलब छैन । सामान्य जनता, समुदायदेखि सरकारी निकायसम्मलाई वातावरणमा एकपछि अर्काे आएको सङ्कटका बारेमा केही मतलब छैन । निश्चय नै आजभन्दा केही दशक अगाडिको तुलनामा हामीले भौतिक विकाशमा फड्को मारिरहेका छाैँ । भौतिक पूर्वाधारहरू निर्माण भइरहेका छन् जुन सकारात्मक हो । हामी कसैलाई पनि यसको चिन्ता छैन कि पानीको मुहान किन सुक्यो ? किनकि हामीले मुहान वरपरको वातावरण संरक्षणा गर्न सकेनौँ । सिमेन्टको प्रयोग गरेर आधुनिक पँधेराको निर्माण गर्यौँ तर पानीको स्रोतको अवस्थाको बारेमा कुनै अध्ययन नगरी आधुनिक पोखरीको निर्माण गर्यौँ । हामीले समुदायमा रहेका पोखरीहरूको संरक्षण गरेनौँ अनि नयाँ पोखरी निर्माण गर्नतर्फ कुनै ध्यान दिएनौँ । त्यही भएर पानीका मुहान सुके। यो कुरा न हामीलाई कसैले बुझाइ दिएको छ न त हामीले बुझ्ने प्रयास नै गरेका छौँ । वर्षा याममा पहिलेको तुलनामा पहिरोको प्रकोप निकै बढेको छ । बस्तीहरू जोखिममा छन् । सरकार सकेसम्म उद्धारका लागि संयन्त्र निर्माणमा लागिरहेको छ जुन सकारात्मक विषय हो । तर किन पहिरोको जोखिम बढेको छ? हामीले खोई सर्वसाधारण जनतालाई जानकारी गराएको ? के अहिलका स्थानीय सरकारहरूले यो विषयलाई सम्बोधन गरेका छन् ? पूर्वाधार निर्माणको क्रममा जथाभाबी डोजर चलाएका छौँ । त्यहाँको भौगर्भिक अवस्था र अन्य पक्षलाई ध्यान दिएका छैनाैँ। बाटो खन्नुभन्दा अगाडि त्यसको अध्ययन कसले गर्ने ? स्थानीय तहले टोलटोलको विकाशका लागि केही वजेट छुट्याउने र उपभोक्ता समितिक निर्माण गरेर जथाभावी डोजर चलाउने कामलाई तीव्रता दिएको छ । अनि डोजर चाहिँ कि राजनीतिक दलका नेता कि ठेकेदारको । बाटो कसरी खन्ने, रूख कसरी जोगाउने र अन्य जैविक विविधताको ख्याल कसरी र कसले गर्ने ? भखरै गाउँपालिक र नगरपालिकाको नेतृत्व गर्नेहरूलाई विकाशको काम देखाउने डोडबाजी छ । उसो त वातावरणका बारेमा राम्रो जानकारी भएको जनशक्ति स्थानीय स्तरमा नै शुन्य प्राय छ।
खोलाहरूको अवस्था दिनप्रतिदिन बिग्रँदो छ। नदीहरूको दोहन तीव्र रूपमा बढेको छ। नदीमा रहेका जलचरहरूको संरक्षणका बारेमा चासो र ज्ञान दुबै छैन। नदीमा प्रदूषण बढेको छ। माछाहरू मर्न थालेका छन्। गत वर्ष मात्र हामीले स्याङ्जाको आँधी खोलामा कुखुराको सुली मिसाइएको समाचार निरन्तर सम्प्रेषणा गरेका थियौँ। सहरका खोलाहरू पुरै ढलमा परिणत भइसकेका छन् । यी खोलाहरूको अवस्थाबाट हामीले पाठ सिक्नुपर्ने हो तर सिकिरहेका छै्रनौँ । ग्रामीण भेगका खोलाहरूसमेत बस्ती बढ्दै जाँदा बिस्तारै प्रदूषित हुँदै गएका छन् तर त्यसलाई समयमा नै नियन्त्रण गर्नेतर्फ कसैको ध्यान पुगेको छैन। यति मात्र होइन हामीले निर्माण गर्ने पूर्वाधारले जलचरहरूमा गम्भीर असर गरेको बिभिन्न अध्ययनले देखाएको छ। गत वर्ष एसियाली विकास बैंकले जारी गरेको एक अध्ययनले ड्याम र अन्य पूर्वाधारहरूका कारण माछाको संख्यामा कमी आएको देखाएको छ।
विकाशको नाममा हामीले अहिले अपनाएको मोडेलले हामी विकाशसँगै विनाशतर्फ लम्किरहेका छाैँ तर यसलाई बेलैमा संहाल्ने तत्परता कसैले पनि देखाएको पाइँदैन। हामीले सहरी विकाशमा केही दशकअघि गरेको कमजोरी पुन नयाँ सहरहरूमा दोहोर्याएका छौँ। अन्य देशले गरेका गत्तीबाट पाठ सिकेका छैनौँ। यसका लागि हामी कहाँ स्पष्ट भिजन भएको राजनीतिक नेतृत्वको अभाब त छँदैछ, त्यसमाथि हामी सर्वसाधारण र समुदाय पनि लाचार छौँ।
सरकारी तहको केही कुरा गरौँ ।
कम्तीमा हाम्रा स्थानीय सरकारले जम्मा भएको फोहर समयमा नै उठाउन त सक्छ। फोहोर गर्नेलाई दण्डित गर्नसक्छ। तर मध्यदिनमा पनि काठमाडौँमा चोक–चोकमा फोहोरका थुप्रा झेल्न हामी विवश छाैँ। वातावरण सम्बन्धी कानुनहरूलाई कडा रूपमा त कार्यान्वयन गर्न सक्छौँ। ठूलो परियोजना निर्माण गर्दा हामीले गर्ने वातावरण प्रभाव मूल्याङ्कनलाई प्रभावकारी रूपमा कार्यान्वयन त गर्न सक्छौँ। वातावरण प्रभाव मूल्याङ्कनमा कर्मकाण्डी मात्र नबनाएर प्रभावकारी बनाउँन त सक्छौँ। यस विषयमा सरोकारवाला र सर्वसाधारणसँग गम्भीर परामर्श र छलफल त गर्नसक्छाैँ तर त्यसो भइरहेको छैन। सडक खन्दा बिभिन्न निकायसँग न्यूनत्तम सहकार्य र समन्वयसमेत भइरहेको छैन। सरकारले निजी र अन्य क्षेत्रलाई वातावरण संरक्षणमा एकै ठाउँमा ल्याउन समन्वयात्मक भूमिका खेल्न सक्छ तर त्यसो भएको छैन। हामी कहाँ वातावरणसँग सम्बन्धित पर्याप्त निकायहरू छन्। वातावरण विभाग छ तर काम प्रभावकारी हुन सकिरहेको छैन। हामीले अस्पतालहरूलाई तिमीहरूको फोहोर सिधै ढल र खोलामा फाल्ने होइन भनेर भन्न सकिरहेका छैनौँ।
यी सबै विषयमा के सरकार मात्रै जिम्मेवार हो त ? पक्कै होइन। खोइ हामी र हाम्रो समुदाय जागेको ? समुदायले पानीको रिचार्चका लागि पोखरी निर्माण गर्नसक्छ। खुल्ला ठाउँमा फोहोर नफाल्नका लागि सहकार्य गर्न सक्छ। समुदायमा रहेका सरकारी जग्गाहरूको संरक्षण गरेर त्यसलाई पार्क र हरियालीमा परिणत गर्नसक्छ। हाम्रो घर अगाडिको सार्वजनिक खाली ठाउँलाई पिच गरेर चिल्लो बनाउने होइन कि पार्क बनाउन सक्छौँ तर हामीलाई पार्क होइन, हाम्रो गाडी पार्किङ गर्न र हिलोबाट जोगिनका लागि हामीले पिच गर्नु परेको छ। भएभरको ठाउँ पिच गरेर हामी आफैँलाई प्रश्न सोधिरहेका छौँ। पानीको मुहान किन सुक्यो ? हामी आफूलाई पैसा र ज्ञानमा अब्बल ठान्छौँ तर त्यही पिचको कारणले पानी सुकेको भन्ने सामान्य ज्ञान छैन। चिया पसलमा हामी गम्भीर बहस गरिरहेका छौँ कि पानीका मुहान किन सुके ? उत्तर सरल छ। हामीले पानी रिजार्जको व्यवस्था गर्न सकेनाैँ।
त्यत्रि मात्र होइन व्यक्तिगत रुपमा हामी घरमा बिरुवा रोप्न सक्छौँ। हाम्रो इनार नसुकोस् भनेर हामीले पानीको रिचार्च गर्ने व्यवस्था गर्नसक्छौँ । घरभित्र र वरपर क्रङ्क्रिट होइन खाली ठाउँ छोड्न सक्छाैँ। आफ्नो घर अगाडि फोहोर फालेर गेट थुनेर भित्र बस्ने होइन घर बाहिर सफा राखेर स्वच्छ हावा खाने वातावरण सिर्जना गर्न हो । पार्कमा डुल्ने हो।
यतिबेला वातावरण संरक्षणको हिसाबले हामी निकै गम्भीर मोडमा छाैँ। आगामी दशकमा पूर्वाधार विकाशले झन तीव्रता पाउने छ। यस विषयमा हामी समयमा नै गम्भीर नहुने हो भने विकाशभन्दा छिटो विनाशलाई आमन्त्रण गर्ने छाैँ। यस विषयमा संघीय, प्रादेशिक र स्थानीय तहमा हस्तक्षेप नै गर्ने बेला भइसकेको छ। वातावरण संरक्षणको एजेण्डालाई डलर खेती भनी सतही आलोचना गर्नेहरूले पनि समयमा नै बुझ्न आवश्यक छ कि विकाश के हो ? हामीले पछिको पुस्तालाई दिन खोजेको के हो ? पानी बिनाको खोला ? रुखबिनाको जङ्गल ? अनि पानीका स्रोत यसरी नै सुक्ने हो भने ट्याङ्करले अबको १० वर्षपछि कहाँको पानी बोक्छन् ? हाकाहाकी अनलाइन तत्काल वातावरणको विषयलाई ध्यान दिन सरोकारवाला पक्षहरूलाई आग्रह गर्दछ। यही पाराले अगाडि बढ्ने हो भने हामीसँग पछुताउने समय पनि बाँकी रहने छैन। एकातिर जलवायु परिवर्तनको असरको रफतार बढ्दो छ भने अर्काेतर्फ हामी यति धेरै वातावरणका सवाललाई बेवास्ता गरिरहेका छौँ। विगत एक वर्षदेखि हाकाहाकी अनलाइनले वातावरणका विषयहरुलाई निरन्तर उठाइरहेकाे छ। आगामी दिनमा हामी अझ सशक्त रुपमा अगाडी बढ्नेछौँ।