सामाखुसी–ग्रीनल्याण्ड सडक बन्द हुँदा सर्वसाधारण मर्कामा

काठमाडौँ – काठमाडाैँको टोखा नगरपालिका अन्तर्गत सामाखुशीदेखि ग्रीनल्याण्ड चोकसम्मको मोटरबाटो बन्द हुँदा सर्वसाधारण मर्कामा परेका छन्।

नगरपालिकाले बाटाे विस्तारका लागि भन्दै बन्द गरेपछि यात्रुले सास्ती खेप्नु परेको स्थानीयहरूको भनाइ छ । टोखा नगरपालिका खरीबोट बस्ने रमा न्यौपाने बागबजार जानका लागि सामाखुशी चोक आएर बस चढ्नुपर्ने बाध्यता भएको बताउँछिन।

यस्तै, टोखा नगरपालिकाकै माधवटार हाइट बस्ने इन्द्रविलास घिमिरे पनि बाटो बन्द हुँदा आवतजावत गर्न अप्ठ्यारो भएको बताउँछन्।

यी त केवल प्रतिनिधि पात्रमात्र हुन् । सामाखुशीदेखि ग्रीनल्याण्डसम्म सवारी साधन चल्न नपाउँदा धेरै यात्रु समस्यामा परेका छन्। उक्त बाटोमा सामाखुशी यातायात, शिवपुरी, झोर टोखा हुँदै सामाखुशी चल्ने यातायात र माइक्रो सञ्चालन हुँदै आएका थिए ।

काठमाडौँको उत्तरी क्षेत्र टोखा, झोर, शिवपुरी र नुवाकोटको त्रिशूली जाने बाटो बन्द हुँदा लाखौँ यात्रुलाई समस्या परेको हो। सामाखुशी ग्रीनल्याण्डको बाटो बन्द हुँदा सवारी साधन सामाखुशी चोकदेखि वसुन्धरा चौकी धापासी हाइट हुँदै ग्रीनल्याण्ड जानुपर्ने बाध्यता रहेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका सरोज सिटौला ग्राण्डीजस्तो महत्वपूर्ण अस्पतालमा जाने मुख्य बाटो अवरुद्ध हुँदा सयौँ बिरामीलाई गाह्रो परेको बताउँछन। “सरकारले पूर्वाधार निर्माणमा ढिला हुँदा लाखौँ जनताले दुःख पाएका छन्”, उनले भने ।

महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख झलक थापामगर सामाखुशी चोकदेखि ग्रीनल्याण्ड चोकसम्म बाटो मर्मत गर्दा ट्राफिक व्यवस्थापनमा समेत समस्या परेको बताउँछन्। “ट्राफिक डाइभर्सन गर्दा साँघुरो बाटो र ठूला गाडी हुँदा धेरै जाम हुने अवस्था आउने गरेको उनको भनाइ छ ।

टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोल ढल निर्माण गर्दा बाटो बन्द गर्नुपरेको बताउँछिन। “टोखा नगरपालिकाले बाटो कालोपत्रे तथा ढल निर्माण गर्नका लागि बाटो बन्द गरेको हुनाले बाटो खुल्न अझै एक महिना लाग्ने उनको भनाइ छ।

ताजा समाचार

सम्बन्धित समाचार