पत्रपत्रिकामा आज : प्रदूषणले समस्यै–समस्या, संकटापन्न चराले बच्चा कोरल्यो

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

नयाँ पत्रिका
– आजको नयाँ पत्रिकामा प्रदूषणले समस्यै समस्या शिर्षकमा समाचार छापिएको छ। काठमाडौँलगायत धेरै सहरमा वातावरण प्रदूषण छ। धुलो–धुवाँ आदिका कारण हुने यस्तो प्रदूषणले छातीसम्बन्धी विभिन्न समस्या देखापर्ने गरेका छन्। विशेषगरी, चैत वैशाखमा अत्यधिक सुक्खापन हुन्छ। यसले झनै प्रदूषण बढ्ने गरेको छ । वायु प्रदूषणको दीर्घकालीन असरस्वरुप स्वास्थ्यमा विभिन्न जटिल समस्या देखिने गरेका छन्। गाडीको चाप र यसबाट निस्कने फोहोरले सहरी क्षेत्रका मानिसको स्वास्थ्यमा गम्भीर असर पुर्‍याइरहेको छ।

राजधानी
–आजको राजधानीमा सगरमाथा सफाइ अभियान शुरु शिर्षकमा समाचार छापिएको छ । सरकारले यही अप्रिलदेखि आगामी जुनसम्मका लागि ४५ दिने सगरमाथा सफाइ अभियान सुरु गरेको छ । यस अभियानमा सगरमाथाबाट पाँच हजार र सरमाथाको अन्य क्षेत्रबाट गरी अर्को पाँच हजार किलोग्राम फोहोर संकलन गरिने भएको छ । बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर सगरमाथा सफाइको बारेमा जानकारी गराइएको हो । यस अभियानका लागि दुई करोड ३२ लाख रुपैयाँ खर्च गरिने बताइएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले सगरमाथा सफाइ अभियानले पर्वतारोहण पर्यटनको अन्तर्राष्ट्रिय छवि सुधार्ने अपेक्षा गरिएको बताए। उनले नेपालको पर्वतारोहण पर्यटनको अन्तर्राष्ट्रिय छविलाई सुधार गर्न र यो क्षेत्रलाई स्वच्छ बनाउन सफाइ अभियान सुरु गरिएको बताए।

कान्तिपुर
–आजको कान्तिपुरमा संकटापन्न चराले बच्चा कोरल्यो शिर्षकमा समाचार छापिएको छ । संकटापन्न कृष्णकण्ठ गरुडले १२ वर्षपछि बच्चा कोरलेको छ। गरुडले लुम्बिनी उपवनको पोखरीमा बचेरा स्याहार गरिरहेको छ। मायादेवी मन्दिरपूर्व, उत्तर र पश्चिम क्षेत्रको पोखरीमा एउटा बच्चासहित एक जोडी गरुड देखिएको हो।

नेपालमा पाइने आठ प्रजातिका गरुडमा यो सबैभन्दा राम्रो र आकर्षक मानिन्छ । कालो शरीरमा छाती र प्वाँख सेतो हुन्छ । लामो रातो खुट्टा र विशाल कालो ठोड हुन्छ । यो चरा लुम्बिनीमा देखिएपछि धेरै चराविद् र प्रकृतिप्रेमी हेर्न आएका छन् । ‘निकै कम देखिन्छन्,’ वरिष्ठ चराविद् हेमसागर बरालले भने, ‘रंगीन बनावटले मनै लोभ्याउँछ ।’

ताजा समाचार

सम्बन्धित समाचार