सगरमाथाको उचाइ मापन : चुचुरोमा पुग्ने ४ जनालाई प्रधानमन्त्रीले गरे बिदाइ

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्न जान लागेका कर्मचारीको टोलीलाई बुधबार बिदाइ गरेका छन्।

सगरमाथाकाे उचाइ नाप्न जाने टाेलीलाई विदाइ गर्दै प्रधानमन्त्री ओली । तस्बिर : कृष्ण पौड्यालको फेसबुकबाट

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट चार जना कर्मचारीको टोली बुधबार त्यस तर्फ जाँदैछन्। टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रबिन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल छन्। टोलीले करिब एक महिनामा सगरमाथाको उचाइ नापेर फर्कने योजना छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान आयोजित शुभकामना तथा बिदाइ कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ नाप्न लागिएकाले यस टोलीको प्रतिवदेन आधिकारिक हुने बताए । “नेपाल सरकारको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ मापन हुँदैछ । तपाईंहरूले सेन्टिमिटर सहितको उचाइ नापेर ल्याउनु होला ” प्रधानमन्त्री ओलीले भने, “तपाईंहरूले ल्याएको नाप नै सगरमाथाको आधिकारिक उचाइ हुनेछ ।”

प्रधानमन्त्री ओलीले टोलीलाई लक्ष्य हासिल गर्नका लागि शुभकामना दिनुका साथै मौसम र स्वास्थ्यलाईे ख्याल गर्न सुझाएका छन्।  ‘लक्ष्यमा अडिग रहनुहोस तर स्वास्थ्यले साथ दिएन वा मौसम प्रतिकुल भयो भने जिद्धी नगर्नुहोस’ उनले भने, ‘सगरमाथा त्यही हुन्छ । अर्को पटक गएर नापेर आए हुन्छ।’

सरकारको तर्फबाट सगरमाथाको उचाइ मापन कार्य ऐतिहासिक भएको प्रधानमन्त्री ओलीको भनाइ छ।। कार्यक्रममा मन्त्रालयका तर्फबाट प्रादेशिक विभाजन अनुसारको नेपालको प्रशासनिक नक्सा पनि प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार