कैलाली– कैलालीको कैलारी गाउँपालिका-७ मिलनपुर/विपतपुर स्थित मुक्त कमैया शिविरमा खानेपानीको समस्या समाधान भएको छ।
कैलारी गाउँपालिकाले मिलनपुर/विपतपुर मुक्त कमैया शिविरमा ५०– ५० हजार लागतमा दुई वटा नल्का निर्माणपछि उक्त शिविरका मानिसहरू खानेपानीको समस्याबाट मुक्त भएका हुन्।
उक्त शिविरमा पौने दुई सय फिट गहिरो नल्का गाडेर पिउनयोग्य पानी निकालेको कैलारी–७ का अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए।
उनले वडा नं. ७ को प्राय बस्तीका स्थानीयहरूले आर्सेनिकयुक्त पानी पिउन बाध्य समुदायलाई सफा खानेपानीको पहुँचमा ल्याउन सफल भएको दाबी गरे। कैलारी गापाले हरेक वर्ष दुईदेखि चार वटासम्म गहिरो नल्का उपलब्ध गराइरहेको उनी बताउँछन्।
२०६४ सालदेखि बसेको उक्त शिविरमा १२४ घरधुरी मध्ये ६२ घरधुरी पुनः स्थापना भएको र ६२ घरधुरी पुनः स्थापना हुन बाँकी छन्। बस्तीमा खानेपानीको नल्का आएपछि बालबालिका र वृद्धहरूले खुसी मनाएको स्थानीय विनोद चौधरीकाे भनाइ छ।
हाकाहाकीले फागुन २७ गते ‘आर्सेनिकयुक्त पानी पिउन बाध्य, सरकारसँग फिल्टरको माग’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो।





