काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
कान्तिपुर
–आजको कान्तिपुरमा जुगल पिकमा मानव पाइला शिर्षकमा अनिश तिवारीको समाचार छापिएको छ। सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा ३ जनाले भर्जिन जुगल हिमालमा पहिलोपटक पाइला टेकेका छन्। जुगल गाउँपालिकाका प्रमुख होमनारायण श्रेष्ठकाअनुसार आरोही गुरुङसहित शर्मिला थापा, मिलन तामाङले पाइला टेकिसकेका छन्। जुगल हिमाल समुद्री सतहबाट ३ हजार ८ सय मिटर अग्लो छ।
काठमाडौंबाट सबैभन्दा नजिक रहेको जुगलमा गएको शुक्रबार टोली आरोहणको लागि लागेको थियो। ‘हामी अबको ५ मिनेटमा शिखरमा चढिसकेका हुनेछौं, भनेर फोनमा भन्नुभयो,’ गाउँपालिका महासंघका अध्यक्ष रहेका श्रेष्ठले भने । कम्तीमा ३० दिनसम्म हुन सक्ने अनुमान गरिएको जुगल आरोहण उत्साहजनक रहेको आरोहीले बताएको उनले प्रस्ट्याए । उनले ५ बजेर २० मिनेटमा शिखरमा चढिसक्ने आरोहीबाट सूचना पाएको जानकारी गराए।
अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्ण पोस्टमा आलु र प्याजमा आयातकै भर शिर्षकमा राजेश बर्माको समाचार छापिएको छ । नेपालीको भान्छामा वर्षमै साढे ११ अर्ब रुपैयाँको आलु र प्याज पाक्छ। यो सबै आयातित हो। नेपाल कृषि प्रधान मुलुकका रूपमा चिनिन्छ। कुल जनसंख्याको करिब ६६ प्रतिशतले कृषि पेसा अँगालेका छन्। प्रत्येक नेपालीको भान्छामा तरकारी स्वादिलो बनाउने प्याज भने करिब ९५ प्रतिशत आयात गरिन्छ।
आलु भने मागको ५० प्रतिशत भारतलगायत तेस्रो मुलुकबाट आयात हुन्छ। नेपालीले स्वदेशी उत्पादनबाहेक एक वर्षमा साढे ११ अर्बको आयातित आलु र प्याज उपभोग गर्दै आएका छन्। आलुको उत्पादन नेपालमा हुँदै नभएको होइन। उत्पादन हुन्छ तर मागको करिब ५० प्रतिशतभन्दा बढी छ।
राजधानी
–आजको राजधानीमा बजेट अभावमा गैँडा गणना अन्योल शिर्षकमा सविन शर्माको समाचार छापिएको छ । बजेट अभावका कारण एकसिङे गैंडाको गणना कार्य अन्योलमा परेको छ। प्रत्येक चार वर्षमा गैंडा गणना गर्ने गरिन्छ । यस अघि सन् २०१५ मा गैंडा गणना गरिएको थियो । यो वर्ष गैंडा गणना गर्नुपर्ने भए पनि सरकारले आवश्यक बजेटको व्यवस्था नगरेका कारण गैंडा गणना कार्य अन्योलमा परेको हो । संरक्षण गरिएको एकसिङे गैंडा गणनाका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दातृ निकाय गुहार्न थालिएको छ ।





