सुक्न थाले स्याउका रुख

खलङ्गा – जुम्लाका किसानले लगाएका स्याउका बिरुवा र स्याउ फल्ने रुख सुक्न थालेका छन्। बिरुवा र रुख सुक्न थालेपछि किसान चिन्तित बनेका छन्।

सात वर्ष अघि लगाइएका १५० स्याउका बिरुवा सुक्दै गएको तातोपानी गाँउपालिका–७ ताम्तीका मुनबहादुर रावतले बताए। स्याउका हाँगाका जोर्नीमा दाग आएर सुक्न थालेका छन्। फल लागेपनि पूर्ण हुन नपाउँदै झर्ने गरेको रावतले बताए। स्याउका हाँगामा सेतो ढुसी लागेर असर पारेको छ। स्याउका बिरुवामा सानासाना प्वाल देखिने गरेको तिला गाँउपालिका–५ डुग्रिंका दिपक शाहीले बताए। प्राङ्गारिक विधिबाट उपचार गर्नुपर्ने कृषि ज्ञान केन्द्रका प्रमुख डा तपेन्द्र शाहीले बताए।

“स्याउका बिरुवामा कागज जस्तै मसिनो पत्र निस्कने गरेको छ”, उनले भने, “यसको उपचार निलोथुतोको मिश्रणबाट गर्नु पर्छ ।” स्याउका बिरुवामा प्वाल पार्ने किरा सुरुमा डाँठभित्र प्रवेश गर्ने र पछि वयस्क भएर निस्किने डा शाहीले बताए। कपासको माध्यमले मट्टितेलले सफा गर्न उनले कृषकलाई सुझाव दिए। डा शाहीका अनुसार स्याउ बगैंचाको उचित व्यवस्थापनको अभावमा फूल फुलेर झर्ने तथा फल परिपक्क हुनु अगावै झर्ने हुन्छ। आवश्यकताअनुसार सिँचाइ गरेमा बिरुवामा देखिने समस्या न्यूनिकरण गर्न सकिने उनको भनाइ छ।

ताजा समाचार

सम्बन्धित समाचार