Tuesday, October 1, 2024

दक्षिण अफ्रिका: गैँडा शिकारीलाई हात्तीले किच्यो, सिंहले खायो

काठमाडौं– एक जना गैंँडा शिकारी निकुञ्जमा प्रवेश गर्छन्। तर, उनी फेरि फर्कन पाउँदैनन्, सदाका लागि बिदा हुन्छन्।

वन्यजन्तु विशेषगरी गैँडाकाे शिकार गर्न सहयाेगीहरूकाे साथमा  दक्षिण अफ्रिकाको क्रुगर राष्ट्रिय निकुञ्जमा प्रवेश गरेका ती शिकारीलाई वन्यजन्तुले शिकार गरिदिन्छ। याे घटना गत साेमबारकाे हाे, ती शिकारीलाई हात्तीले किचेर मारेकोमा सिंहले खाएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार दक्षिण अफ्रिकी वन कर्मचारीले विशाल क्रुगर अभयारण्यमा शिकारीकाे खोपडी बरामद भएपछि याे रहस्य खुलेकाे हाे।

निकुञ्जका प्रवक्ता आइस्याक फल्लालका अनुसार ती व्यक्तिलाई एउटा हात्तीले किचेको थियो। पीडितका सहयोगीहरूको सहयोगमा दुई दिन विमानबाट खाेजिएकाे थियाे, भने वन कर्मचारी पैदल खोजीमा गएका थिए। र, सोमबार बेपत्ता भएका ती व्यक्तिको अवशेष बिहीबार मात्र भेटिएको थियो।

निकुञ्जका प्रवक्ताले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई बताए अनुसार त्यो क्षेत्र सिंह पाइने स्थान हो। र, ती व्यक्तिलाई सिंहले नै खाएको विश्वास उनीहरुको छ। उक्त घटनापश्चात मृतक शिकारीका चार सहयोगी पक्राउ परेका छन्। उनीहरुविरुद्ध अदालतमा मुद्दा दायर भएकोमा पेशी समेत यही हप्ता तोकिएको छ।

गैंडाको सिङको माग बढेसँगै अफ्रिका विश्वका शिकारी र तस्करको केन्द्रमा परेको छ। दक्षिण अफ्रिका यस्तो देश हो, जहाँ संसारका लगभग ८० प्रतिशत गैँडा  पाइन्छन्। र, सबैभन्दा प्रभावित क्षेत्र रहेको क्रुगर निकुञ्जमा शिकारी केन्द्रित हुन थालेपछि चिन्ताको विषय बनेको छ।

त्यहाँको वातावरण मन्त्रालयका अनुसार सन् २०१८ मा, ७ सय ६९ गैँडाको शिकार भएको थियो। पछिल्लो दशकमा मात्र ७ हजार १ सय भन्दा बढी जनावर मारिएको तथ्यांक छ। एजेन्सीकाे सहयाेगमा

ताजा समाचार

सम्बन्धित समाचार