Tuesday, October 1, 2024

मुलुकभर ८ सय ५४ खानेपानी आयोजना निर्माणाधीन

काठमाडौ– सरकारले आगामी तीन वर्षमा शतप्रतिशत नागरिकमा आधारभूत खानेपानी सेवा पुर्‍याउने लक्ष्य लिएका बेला ८ सय ५४ वटा खानेपानी आयोजना सञ्चालनमा रहेका छन्।

खानेपानी मन्त्रालय अन्तर्गत ३ सय ९७ वटा र प्रदेश सरकार अन्तर्गत ४ हजार ५७ वटा खानेपानीका आयोजना निर्माणाधीन अवस्थामा रहेको खानेपानी मन्त्रालयको दोस्रो चौमासिक समीक्षा बैठकमा जानकारी दिइयो।

खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माका अनुसार ती आयोजना एक वर्षीय र बहुवर्षीय छन्। खानेपानी मन्त्रालयबाट सञ्चालित कतिपय आयोजना समेत प्रदेशलाई हस्तान्तरण गर्ने तयारी भइरहेको उनले बताए।

सचिव शर्माले जनताको मौलिक अधिकारको विषयसँग जोडिएको पम्पिङ प्रणालीमा आधारित खानेपानी आयोजनामा लाग्ने विद्युत शुल्कमा सहुलियत दिनुपर्ने बताए।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिलकुमार दासले ३ वर्षभित्र आधारभूत सुरक्षित खानेपानीको पहुँच पु¥याउन पर्याप्त बजेटको आवश्यकता रहेको बताए।  खानेपानीसँगै ढल प्रशोधन र सरसफाइका कार्यक्रममा समेत उत्तिकै ध्यान दिन जरुरी रहेको उनले बताए।

खानेपानी मन्त्री बिना मगरले सन् २०३० सम्ममा लक्ष्य हासिल गर्नुपर्ने भएकाले आगामी योजना र बजेट तर्जुमा गर्न विभागीय प्रमुखलाई निर्देशन दिइन्।

ताजा समाचार

सम्बन्धित समाचार