काठमाडौँ –आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
राजधानी
–आजकाे राजधानीमा फर्सीको बीउ आयातमा करोडौँ खर्च शिर्षकमा कौशिला कुँवरको समाचार छापिएको छ। नेपालमा ठूलो परिमाणमा फर्सीको बीउ आयात गर्ने गरिएको छ। नेपालमा वार्षिक रूपमा करोडौं रुपैयाँ मूल्यबराबरको फर्सीको बीउ आयात भइरहेको व्यवसायीहरू बताउँछन्। धादिङ घर भई हाल कलंकी बस्दै आएका ३० वर्षीय फर्सी व्यवसायी गोपाल पौडेलका अनुसार नेपालमा वार्षिक १ करोड बढी मूल्यबराबरको फर्सीको बीउ आयात भइरहेको छ। उनले विगत तीन वर्षदेखि अमेरिकाको म्याक्सिकोबाट फर्सीको बीउ आयात गरेर काठमाडौंको कलंकीमा व्यवसाय गर्दै आएको बताए। उनले वार्षिक ६० लाख रुपैयाँ मूल्यबराबरको फर्सीको बीउ अमेरिकाबाट आयात गर्छन्।
चालू आवमा मात्रै पाँच टन फर्सीको बीउ आयात गरेको उनले बताए। प्रतिकेजी ४ अमेरिकी डलरमा आयात गरेको फर्सीको बीउ नेपालसम्म आइपुग्दा १ हजार २ सय रुपैयाँ पर्ने गरेको व्यवसायी पौडेलले बताए। नेपाली बजारमा प्रतिकेजी १ हजार ६ सयदेखि २ हजार रुपैयाँमा बिक्री गर्ने गरेको उनले बताए। अमेरिकाबाट आयात गरिएको बीउ प्याकेजिङ गरी नेपाली बजारमा बिक्रीका लागि पठाउने गरेको व्यवसायी पौडेलको भनाइ छ। ‘आयात गरिएका फर्सीका बीउ तरकारी खेतीका लागि नभई जन्डिस रोग निको पार्न प्रयोग हुने गरेको छ,’ पौडेलले भने, ‘आफूले आयात गरी ल्याएको बीउ विशेषगरी औषधिका रूपमा प्रयोग हुने गरेको छ।’
गोरखापत्र
– आजको गोरखापत्रमा पिउने पानीमा कोलिफर्म शिर्षकमा सीता शर्माको समाचार छापिएको छ। शुद्ध प्रशोधित भन्दै विभिन्न ब्राण्ड दिएर विक्री गरिएको पिउने पानीमा कोलिफर्मको जीवाणु भेटिएका छन्। कोलिफर्म दिसामा पाइने जीवाणु हो। खाद्य, प्रविधि तथा गुणनियन्त्रण विभागले शुद्ध पिउने पानीको ब्राण्ड दिएर विक्री वितरण गर्दै आएका प्रशोधित पानीको गुणस्तर परीक्षण गर्दा यस्तो पाइएको हो।
विभागले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा विभाग र मातहतका कार्यालयमा आएका उजुरीका आधारमा विभिन्न नौवटा उद्योगले विक्री गर्ने पानीको नमूना सङ्कलन गरी गुणस्तर परीक्षण गर्दा कोलिफर्मको जीवाणु पाइएको छ।
कोलिफर्म भेटिएका पानी उद्योगविरूद्ध सम्बन्धित् जिल्लाकै अदालतमा मुद्दा दर्ता भइसकेको भन्दै विभागका निर्देशक एवम् प्रवक्ता पूर्णचन्द्र वस्तीले भने, “कोलिफर्मको मात्रा र त्यसले मानव स्वास्थ्यमा पार्ने असरका आधारमा कारबाही हुन्छ।”
नागिरक
– आजको नागरिकमा त्रिपालको बास, मौसमको त्रास शिर्षकमा रितेश त्रिपाठीको समाचार छापिएको छ । चैत १७ गते साँझ आएको विनाशकारी हावाहुन्डरीले घरबारविहीन भएकाहरूले राहतको त्रिपालमा ओत लाग्न खोजिरहेका बेला मेघगर्जनसहित पानी पर्न थालेको छ। चैतमा दिउँसो घामको राप सहन नसकिने हुन्छ, रातको अन्तिम पहरमा पानी परेको बखत जाडोले खुब सताउँछ। हावाहुरीले बेघर भएकाहरू यतिखेर एकैचोटि घाम र पानीको मारमा परेका छन्।
‘शनिबार साँझैदेखि मौसम खराब भएपछि हामी निकै डराएका थियौं। हावा पनि चलेको थियो। घर नभएपछि सेनाले लगाइदिएको पालमा परिवारका १० जना बस्दै आएका छौं, चिउरा र चाउचाउले भोक टार्दै थियौं,’ सामूहिक भोजनालय ९मेस० मा भेटिएकी भरबलियाकी अञ्जली राउत कुर्मीले भनिन्, ‘यहाँ खाना पाइने थाहा भएपछि राति १० बजे आएर लग्यौं र खायौं।’ कलैया जेसिजले चलाएको मेसमा आइतबार बिहान १० बजे खाना लिन आएकी बालिकाले अघिल्लो साँझ मौसमले तर्साएको घटना सुनाइन्। शनिबार मौसम खराब भएपछि आँधीहुरीपीडितमा थप त्रास फैलिएको थियो।





