काठमाडौँ –काठमाडौँ उपत्यकाभित्र फोहोर संकलन गर्दै आएका कर्मचारीहरूले फोहोर फाल्दा कुहिने र नकुहिने फोहोर छुट्टाएर मात्र फाल्न आग्रह गरेका छन्।
विश्व स्वास्थ्य दिवसको अवसरमा आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनीहरूले आफ्नो घरको फोहोर फाल्दा फोहोर संकलन गर्ने कर्मचारीको स्वास्थ्यलाई पनि मध्यनजर गर्न सर्वसाधारणलाई आग्रह गरेका हुन्।
यसका साथै विभिन्न अस्पतालले फाल्ने औषधिजन्य फोहोर छुट्टाछुट्टै फाल्नु पर्ने उनीहरूको भनाइ छ। अस्पतालहरूले विभिन्न सुई, औषधिका खोल, शल्यक्रिया गर्दा निस्केका फोहोर लगायतलाई एकै ठाउँमा फाल्दै आएका र त्यसले गर्दा फोहोर संकलन गर्नेलाई पनि संक्रमण भइरहेको उनीहरूको गुनासो छ।

फोहोर संकलन गर्ने कर्मचारीले निजी घरलाई मात्रै नभइ सिंगो समाजको वातावरण पनि सफा पार्ने काम गरे पनि फोहोर संकलकको स्वास्थ्यमा कसैले ध्यान नदिएकाे भन्दै उनीहरूले सरकारले स्वास्थ्य बिमा गराउनु पर्ने माग गरेका छन्।






