Tuesday, October 1, 2024

वनका उपभोक्तालाई गाउँमै रोजगारी 

महेन्द्रनगर–वैज्ञानिक वन व्यवस्थापन सञ्चालन भएका सामुदायिक वनको बढेको छ। कञ्चनपुरमा वन व्यवस्थापन सुरु भएको २ सामुदायिक वनको आम्दानी बढेको हो।

कञ्चनपुरमा विभिन्न ७ सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सञ्चालन भएको छ। आर्थिक बर्ष २०७३-०७४ मा कार्यक्रम सञ्चालन भएको सिंहपुर सामुदायिक वन र रामनगर सामुदायिक वनको आम्दानी बढेको सव डिभिजन वन कार्यालय वाणीका सहायक वन अधिकृत विश्वराज पण्डितले बताए। ‘वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमले वनको आम्दानी बढेको छ, लाखौं रुपैयाँ आम्दानी गर्ने सामुदायिक वनको आम्दानी करोडौँमा पुगेको छ,’ उनले भने।

वार्षिक १०÷१५ लाख गर्ने सिंहपुर र रामनगर सामुदायिक वनको आम्दानी डेढ करोड बराबर भएको उनले बताए। ‘सामुदायिक वनबाट भएको आम्दानी वन संरक्षण र समुदायमा खर्च गर्छौ,’ उनले भने। सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएपछि उपभोक्ताले रोजगारी पाएका छन् । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा सिंहपुर सामुदायिक वनका २ सय जना उपभोक्ताले रोजगारी पाएको सिंहपुर सामुदायिक वनका कोषाध्यक्ष बाबुराम चौधरीले बताए। ‘यहाँका बेरोजगार युवाले गाउँमै रोजगारी पाएका छन्, यो कार्यक्रम लागू भएपछि भारतमा रोजगारी गर्न जानुपर्ने बाध्यता हटेको छ,’ उनले भने।

वैजानिक वन व्यवस्थापन कार्यक्रम अन्तर्गत वन संरक्षणका क्रियाकलाप समेत भइरहेको उनले बताए। ‘सुरुमा कार्यक्रम लागु गर्न निकै चुनौती थियो,  धेरैले यस कार्यक्रमको विरोध गरे, वन विनास भयो भनेर प्रचार गरियो, हिजोका दिनमा विरोध गर्ने अहिले यस कार्यक्रमलाई सघाइरहेका छन्,’ उनले भने। वन व्यवस्थापन कार्यक्रमले सामुदायिक वनलाई आर्थिक लाभ कोषाध्यक्ष चौधरीले बताए।

उनले काठ बिक्री गरे बापत १ करोड ४६ लाख रुपैयाँ आम्दानी भएको बताए। ‘खेर गएको काठलाई वैज्ञानिक तरिकाबाट सङ्लन ग-यौं, काठलाई बिक्री गर्दा राम्रो आम्दानी भयो, आन्तरिक खपत पछि बाँकी रहेको काठ मात्र बाहिर बिक्री गरिएको हो,’ उनले भने । कार्यक्रम अन्तरगत सिंहपुर सामुदायिक वनमा रहेका ८० वर्ष पुगेका सालका रूख काटेर नयाँ बिरुवा रोप्ने तथा पुनःउत्पादन गर्ने कार्य भइरहेको छ।

वन व्यवस्थापन कार्यक्रम सञ्चालन भएको सिंहपुर सामुदायिक वनमा निर्माण गरिएकाे मचान।

चालु आवमा थप ५ वनमा कार्यक्रम
चालु आर्थिक बर्ष २०७५-०७६ मा कञ्चनपुरका थप ५ सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको छ। कृष्णपुर नगरपालिकाको सीता सामुदायिक वन, वडा नम्बर ४ को ग्वासी सामुदायिक वन, वडा नम्बर ६ को महाकाली सामुदायिक वन, वडा नम्बर १ को जगदम्बा मयुर सामुदायिक वन, र पुनर्वास नगरपालिका १० को अमर गोकुल सामुदायिक वनमा यस आर्थिक वर्षमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएको हो।

सिंहपुर र रामनगर सामुदायिक वनमा २-२ सय हेक्टर गरी ४ सय हेक्टर, सीता, महाकाली, जगदम्बा मयुर गरी ६ हेक्टर र  ग्वासी र अमर गोकुल सामुदायिक वनमा ५-५ सय गरी १ हजार हेक्टरमा चालु आवमा वैज्ञानिक वन व्यवस्थापन भइरहेको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख वन अधिकृत मोहन काप्mलेले बताए। उनले कञ्चनपुरमा वैज्ञानिक वन व्यवस्थापन भएसँगै आर्थिक, समाजिक र वातावरणीय पक्षमा सुधार भएको बताए। ‘कार्यक्रम अन्तर्गत अत्यन्तै बूढो बालीचक्रमा रहेका सालका रुख कटान गर्दै सो क्षेत्रमा वृक्षरोपण गरिरहेका छौँ,’ उनले भने।

वन व्यवस्थापन कार्यक्रम लागू भएका सामुदायिक वनबाट उत्पादन हुने काठ बिक्री बापत आएको रकमको २५ प्रतिशत वन व्यवस्थापन, ३५ सो क्षेत्रमा बसोबास गर्ने गरीब, विपन्न समुदायको जिविकोपार्जन र ४० प्रतिशत सामाजिक कार्यका लागि खर्च गरिने वन अधिकृत काफ्लेले बताए। कार्यक्रम अन्तर्गत जटिबुटी प्रशोधन केन्द्र, कृषकका लागि खेतबाली प्रशोधन केन्द्र, किसानलाई सीपमुलक तालिम समेत प्रदान गर्छौ, यहाँ स्थानीयले रोजगारी पाउँछन्,’ उनले भने।

वैज्ञानिक जिपीएस विधिबाट रुखको सर्वे गरी बढी उमेर भएका सालका रूख काटिने गरिएको छ। ‘उमेर पुगेका रुखको समयमा सदुपयोग भएन भने खेर जान्छन, समयमा सदुपयोग गरेर फाइदा लिनुपर्छ,’ उनले भने।  कञ्चनपुर जिल्लामा १ सय २७ सामुदायिक वन रहेका छन् । क्रमिक रुपमा सबै सामुदायिक वनमा कार्यक्रम लागू गर्ने तयारी छ।

ताजा समाचार

सम्बन्धित समाचार