पत्रपत्रिका आज : कागमा समेत बर्डफ्लु, वर्षाकै झल्को दिँदै प्रि–मनसुन

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् ।
गोरखापत्र
–आजको गोरखापत्रमा तुइनमुक्त बनाउने काम अन्तिम चरणमा शिर्षकमा भउचप्रसाद यादवको समाचार छापिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भएको अठोट अनुसार अत्यन्त जोखिम र बाध्यात्मक प्रयोगका रूपमा रहेका तुइनलाई झोलुङ्गे पुलबाट विस्थापित गरेर मुलुकलाई तुइनमुक्त बनाउने कार्य अन्तिम चरणमा पुगेको छ । तुइनको पहिचान भई झोलुङ्गे पुल बनाउन सम्भव भएका स्थानहरुमा आगामी आर्थिक वर्षभित्र तुइन विस्थापित गर्ने कार्य पूरा हुने भएको छ ।
प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा सिंहदरबारमा पदभार ग्रहण गर्दै मुलुकमा रहेका तुइन दुई वर्षभित्रमा झोलुङ्गे पुलले विस्थापित गरिने सरकारको पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको थियो । उहाँले पदभार ग्रहण गरेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय अनुमोदन गरेको थियो ।

कान्तिपुर
–आजको कान्तिपुरमा चटपटेको भरमा हुरीपीडित शिर्षकमा भूषण यादवको समाचार छापिएको छ । फेटा गाउँपालिका–६ पुरैनियामा शनिबार अपराह्न २ बजे पुग्दा ४२ वर्षीया सल्या खातुन प्लास्टिकको जगमा भुजामा तेल र नुन मिसाएर बनाइएको चटपटे खाँदै थिइन् । गत आइतबारको हावाहुरीले घर ध्वस्त बनाएपछि सेनाले निर्माण गरेको टेन्टमा बस्दै आएकी उनले बिहानको खाना अबेरसम्म खान नपाएपछि भोक मार्न चटपटे खाएको बताइन् ।

त्यस्तै कागमा समेत बर्डफ्लु शिर्षकमा अतुल मिश्रको समाचार छापिएको छ । राजधानीको नारायणहिटी राजदरबार क्षेत्रका कागमा बर्डफ्लु देखिएको छ। लैनचौरस्थित ब्रिटिस दूतावास र राहदानी विभाग क्षेत्रमा मरेका करिब २ सय कागमा बर्डफ्लु (एच५एन१) रहेको पुष्टि भएको हो।

सरकारले विश्व पशु स्वास्थ्य संगठनमा पठाएको प्रतिवेदनअनुसार कागहरू चैत ३ देखि मर्न थालेका थिए। प्रयोगशाला परीक्षणबाट चैत ७ मा ती कागमा बर्डफ्लु (एच५एन१) रहेको पुष्टि भएको थियो। बर्डफ्लु संक्रमणबाट मरेका उक्त कागबारे जानकारी संगठनको वेबसाइटमा समेत राखिएको छ।

नेपाल समाचारपत्र
–आजको समाचारपत्रमा वर्षाकै झल्को दिँदै प्रि–मनसुन शिर्षकमा टीका बन्धनको समाचार छापिएको छ । क्षणभरमा मौसम बदलिने, अपरान्ह्रपछि मेघ गर्जदै हल्का र क्षणिक वर्षा हुने मनसुन पूवाद्र्ध अर्थात् ‘प्रि–मनसुन’ को लक्षण हो। तर यसपटकको प्रि–मनसुन मध्य वर्षाद्को समयझै सक्रिय भएको छ।

हरेक दिन बिहान, दिउँसो, बेलुका जुनसुकै समयमा पनि वर्षा भइरहेको छ। स्थानीय वायु, बंगालको खाडी र अरब सागरको वायुको प्रभावले हिजोआज प्रि–मनसुन निकै सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताउनुभयो। ‘सामान्यतया स्थानीय वायुको प्रभावले प्रि–मनसुन सक्रिय र निस्क्रिय हुन्छ’, उहाँले भन्नुभयो– ‘यसपटक बंगालको खाडी र अरब सागरबाट पनि पर्याप्त मात्रामा जलवाष्पयुक्त हावा सजिलै नेपाल प्रवेश गरिरहेकाले प्रि–मनसुन सक्रिय भइरहेको छ।’

नागरिक
– आजको नागरिकमा अन्नभण्डारमाथि भोकको सिरानी शिर्षकमा मिथिलेश यादव सिरहाको उत्तरवर्ती धनगढीमाई नगरपालिका–८ का झबु यादव (६५) लाई सरकारसँग धेरै अपेक्षा छैन। सामान्य किसान यादवको एउटै अपेक्षा छ, त्यो हो पानी। अर्थात् सिँचाइको भरपर्दो व्यवस्था भइदिए बाँझो जमिनमा अन्न फलाएर गुल्जार बनाउने उनको धोको छ।

सिँचाइको व्यवस्था भए सरकारले न नोकरी दिनुपर्छ न रोजगार। सिँचाइको सुविधा नहुँदा खेतको उँखु पनि डढ्न थालेको छ। चना र दलहन खेतीको हाल पनि उस्तै छ। उनले भने, ‘सिँचाइ बेगर हामी किसानको सास नै अड्केको छ।’

ताजा समाचार

सम्बन्धित समाचार