Wednesday, November 6, 2024

यसरी मापन गरिदैछ सगरमाथाको उचाइ

काठमाडौँ–२०७२ वैशाख १२ गते नेपालमा आएको भूकम्प र जलवायु परिवर्तनका कारण सगरमाथाको उचाइमा फेरबदल भएको हुनसक्ने भन्दै नापी विभागले विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने कार्य तीव्र बनाएको छ।

पहिले पूरानो प्रविधिबाट नाप लिइएकोले सगरमाथाका वास्तविक उचाइको विषयमा विभिन्न मत आएपछि अन्तर्राष्ट्रिय स्तरमै वास्तविक उचाइ बताउन मापन शुरु गरिएको विभागका सूचना अधिकारी समेत रहेका निर्देशक दामोदर ढकाल बताउँछन्।

कति सकियो काम?
विभागका निर्देशक ढकालका अनुसार गत आर्थिक वर्षबाट सगरमाथाको उचाइ नाप्न शुरु गरिएकोमा अहिलेसम्म ५० प्रतिशत काम सकिएको छ।

सिराहादेखि सोलुखुम्बुको पातले, फाप्लु नजिकै रहेको छ्याङमु डाँडा र पीके डाँडासम्म प्रारम्भिक काम सम्पन्न गरिसकिएको विभागका निर्देशक ढकालले बताए। सिराहाको माडरबाट मिर्चैया, कटारी ओखलढुंगा हुँदै सोलुको पातालेसम्म लेबलिङको काम सकिएको र अन्य विभिन्न स्थानको पनि रेखांकन अघि बढाइएको निर्देशक ढकाल बताउँछन्।

उनका अनुसार हालसम्म ग्लोबल नेभिगेशन स्याटेलाइट (जीएनएसएस) का लागि १ सय २ प्वाइण्टमा लेबलिङको काम सकिएको छ। यो बाहेक १ सय ७० किलोमिटरमा प्रिसाइज लेबलिङ गरिएको र ग्य्राभिटी सर्भेका लागि काम अघि बढेको छ। आगामी पुससम्म सर्भेको सबै काम सक्ने योजना रहको उनको भनाइ छ।

यस्तो छ प्रविधि
सगरमाथाको उचाइ ‘मिक्स मोडल’ मा गर्न लागिएको अधिकारी बताउँछन्। परिशुद्ध समतलन नापी प्रणाली, त्रिकोणमितीय समतल नापी विधि र जीएनएसएस प्रविधिमार्फत् सगरमाथाको उचाइ मापन गरिरहेको उनको भनाइ छ।

‘समतल नापी’ विधिमा प्रत्यक्ष रूपमा हिँड्दै उचाइ नापिन्छ। यसबाट ५० देखि ६० मिटरको दूरीको मापन गर्न सकिन्छ। हिँडेर मापन गर्नुपर्ने भएकाले केही स्थानमा मात्र यो विधि प्रयोग भएको ढकाल बताउँछन्। ‘त्रिकोणमितीय समतल’ विधिमा शुरूमा निश्चित बिन्दुलाई आधार बनाएर त्यसको कोण पत्ता लगाइन्छ र सोही आधारमा क्रमशः अन्य बिन्दुको कोण बनाउँदै उचाइ मापन गरिनेछ।

यस्तै, ग्लोवल न्याभिगेसन स्याटलाइट सिस्टम (जीएनएएस) अर्थात् जीपीएस प्रविधिले गुरूत्वलाई आधार बनाएर उचाइ मापन गरिन्छ।
यसका साथै गुरूत्वाकर्षण सर्भे पनि गर्नु पर्ने ढकालको भनाइ छ। तर, गुरूत्वाकर्षण सर्भेका लागि नेपालमा कुनैपनि उपकरण र जनशक्ति नभएको ढकाल बताउँछन्। ‘नेपालमा यससम्बन्धी कुनै पनि उपकरण र जनशक्ति उपलब्ध छैन,’ उनले भने, ‘त्यसैले नेपाल सरकारले उक्त प्रविधिका लागि आवश्यक यन्त्र उपकरण खरिद गर्न लागेको छ। उक्त मेशिन दुई करोड रुपैयाँमा नेपाल ल्याएसँगै विक्रेताले नै मेशिन प्रयोग गर्न तालिम दिने बताएको छ।’

खर्च कति ?
सगरमाथाको उचाइ मापनका लागि २० करोड खर्च हुने विभागले जानकारी दिएको छ। उक्त कार्यका लागि गत आर्थिक वर्षमा सरकारले २ करोड विनियोजन गरेको थियो, भने चालू आर्थिक वर्षमा १५ करोड बजेट छुट्ट्याएको छ। यसका साथै सगरमाथाको उचाइ नाप्ने काम पूर्ण रुपमा सम्पन्न गर्न थप ३ करोड आवश्यक पर्ने ढकाल बताउँछन्।

के के छन् चुनौती ?
सगरमाथा विश्वकै सर्वोच्च शिखर भएकाले पनि यसको उचाइ मापन गर्नु आफैँमा ठूलो विषय भएको ढकाल बताउँछन्। नेपालसँग गुरूत्वाकर्षण सर्भे गर्ने यन्त्र नहुनु पनि एउटा समस्या भएको उनको भनाइ छ। तर, यन्त्र खरिद पक्रियामा रहेको र केही महिना मै नेपाल भित्रने भएकोले समस्याको समाधान हुने उनी बताउँछन्।

उनका अनुसार उचाइ मापन गर्ने यन्त्र बोकेर सगरमाथाको आरोहण गर्नु सबैभन्दा मुख्य चुनौती हो। यसका लागि जनशक्ति उपलब्ध भएपनि यन्त्र बोकेर आरोहण गर्न सकिन्छ नै भन्ने यकीन भने गर्न सकिने स्थिति छैन। विभागले यस कामका लागि चारजना कर्मचारीलाई तालिम दिएपनि उनीहरू यन्त्र बोकेर सगरमाथाको चुचुरोसम्म पुग्न सक्ने नसक्नेमा अझै पनि दुविधा रहेको निर्देशक ढकाल बताउँछन्।

यी बाहेक चीन तथा भारतले पनि विभिन्न समयमा सगरमाथाको उचाइ मापन गरिरहेको छ। सन् १९५४ मा तत्कालीन सर्भे अफ इण्डियाले सगरमाथाको उचाइ मापन गरी ८ हजार ८ सय ४८ मिटर बताएको थियो भने सन् २००५ मा चीनले गरेको सर्भे अनुसार सगरमाथाको उचाइ समुद्री सतहदेखि ८ हजार ८ सय ४४ मिटर मात्र रहेको थियो।

हाल सगरमाथाको प्रमाणित उचाइ ८ हजार ८ सय ४८ मिटर रहेको छ। सन् १८५६ मा ब्रिटिस सर्भेयर जर्ज एभरेस्टले समतलन नापी विधिबाट सगरमाथाको उचाइ मापन गरेका थिए। सोही अनुसार मापन गरिएको तथ्यांक हो।

ताजा समाचार

सम्बन्धित समाचार