पत्रपत्रिकामा आज : पानी किनेर पिउँछन् कैदी, ४ वैशाखमा नेपालको पहिलो भूउपग्रह प्रक्षेपण हुँदै

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्ण पोस्टमा पानी किनेर पिउँछन् कैदी शिर्षकमा समाचार छापिएको छ। पश्चिम नवलपरासीमा रहेका कैदीबन्दीले पानी किनेर पिउनुपर्ने बाध्यता छ। कारागारमा शुद्ध खानेपानीको व्यवस्था नभएपछि उनीहरू जार र मिनरल वाटर किनेर पिउन बाध्य भएका हुन्।

पानीका लागि कारागारले हेन्डपाइपको व्यवस्था गरेको छ तर, त्यसबाट आउने पानीमा आर्सेनिक मिसिएको छ। जसकारण पिउनेबाहेक अन्य काममा मात्र कैदीबन्दीले हेन्डपाइपको पानी प्रयोगमा ल्याउने गरेका छन्।

नेपाल समाचारपत्र
आजको समाचारपत्रमा चार शहरको डीपीआर यसै वर्ष शिर्षकमा मधुसुदन रायमाझीको समाचार छापिएको छ। सरकारले घोषणा गरेको काठमाडौं उपत्यकाको चार वटा नयाँ शहरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) काम यसै बर्ष सम्पन्न गर्ने भएको छ। व्यवस्थित र आधुनिक शहर विस्तारकालागि सरकारले उपत्यका काठमाडौंको चार कुनामा नयाँ शहर निर्माणको काम अगाडि बढाएको हो।

चार वटा नयाँ शहरकोे डिपिआर धमाधम निर्माण भइरहेको उपत्यका विकास प्राधिकरणक कामु नायव विकास आयुक्त दिलिप भण्डारीले बताउनुभयो। भक्तपुरको चाँगुनारायण नगरपालिकामा एक लाख रोपनी,सूर्यविनायक नगरपालिकामा १० हजार रोपनी क्षेत्रफल, ललितपुरको खोकना बुगमती दस हजार रोपनी र काठमाडौंमा दस हजार रोपनी क्षेत्रफलमा नयाँ शहर निर्माण डिपिआर निर्माणको काम अगाडि बढेको छ।

नयाँ पत्रिका
– आजको नयाँ पत्रिकामा ४ वैशाखमा नेपालको पहिलो भूउपग्रह प्रक्षेपण हुँदै शिर्षकमा समाचार छापिएको छ। नेपाली वैज्ञानिकले बनाएको पहिलो नानो स्याटेलाइट (भूउपग्रह) ४ वैशाखको राति २ बजे अमेरिकाको भर्जिनियाबाट प्रक्षेपण हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिकहरूले जापानमा बनाएको स्याटेलाइट जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सी (ज्याक्सा) को सहयोगमा प्रक्षेपण गरिने भएको हो।

जेठको दोस्रो सातासम्म उक्त भूउपग्रहले अर्बिटमा प्रवेश पाउने गरी इन्टरनेसनल स्पेस स्टेसनसँग सहमति भइसकेको नास्टले जनाएको छ। नानो स्याटेलाइट लन्चिङ सफलताको दर ९० प्रतिशत तथा ‘अर्बिटल स्लट’मा तैनाथ हुने दर शतप्रतिशत रहेको नास्टको प्राविधिक संकायका प्रमुख इन्जिनियर डा। रवीन्द्रप्रसाद ढकालले बताए। सोहीअनुसार स्याटेलाइटको सफल प्रक्षेपण हुनेमा आफूहरू विश्वस्त रहेको उनको भनाइ छ। यो स्याटेलाइट लोअर बिटमा रहने पृथ्वीबाट करिब चार सय किलोमिटरको दूरीमा रहनेछ।

ताजा समाचार

सम्बन्धित समाचार