Tuesday, October 1, 2024

वन्यजन्तु पाल्न दिने नीति बन्दै, वनमन्त्री भन्छन्–चोरीशिकार घट्छ

काठमाडौं–वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले कतिपय वन्यजन्तु पाल्न मिल्ने गरी नीति निर्माण गरिरहेको जानकारी दिएका छन्।

वन्यजन्तु पालन अन्तर्राष्ट्रिय रुपमै प्रचलनमा रहेकाले संरक्षित जनावरको चोरी शिकारी रोक्न पनि घरमै जनावर पाल्न दिने नीति प्रभावकारी हुने उनको भनाइ छ।

‘वन्यजन्तु पालन गर्न दिइयो भने चोरी शिकारी पनि घट्छ,’ मन्त्रालयको आगामी आर्थिक वर्ष ०७६-०७७ को नीति तथा कार्यक्रमबारे छलफल गर्न ललितपुरको गोदावारीमा आयोजित कार्यशालामा मन्त्री बस्नेतले भने, ‘घरमा जनावर पाल्न दिँदा वनको शिकार हुन्छ कि भन्ने पनि चिन्ता छ। तर, मूल प्रवृत्ति भनेको त्यसो गर्दा शिकार घट्छ।’

घरमै जनावर पाल्न पाइने भएपछि मानिसहरू कारबाहीको जोमिख मोलेर संरक्षित जनावरको शिकार गर्न जंगल नजाने उनले बताए।

वन तथा वातावरण मन्त्रालयले हालै जारी गरेको ‘राष्ट्रिय वन नीति, २०७५’ मा वन्यजन्तुको पालन, प्रजनन, व्यवसायीकरण तथा निर्यातका लागि सामुदायिक, सहकारी, तथा निजी क्षेत्रलाई प्रोत्साहन गरिने उल्लेख छ।

मन्त्री बस्नेतले नीति तथा कार्यक्रममा वनलाई समृद्धिको आधार बनाउने गरी कार्यक्रम ल्याउन सचिवसहित मन्त्रालयका कर्मचारीलाई निर्देशन दिए। उनले मन्त्रालयले जनताले देख्न, बुझन र अनुभव गर्न सक्ने खालका कार्यक्रम अघि सार्ने बताए।

कार्यक्रममा मन्त्रालयअन्तर्गतका विभिन्न विभाग र महाशाखाले आगामी आर्थिक वर्षका लागि प्रस्तावित कार्यक्रम र बजेटको अनुमानित खाका प्रस्तुत गरेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार