डोटी – गर्मी मौसम शुरु भएसँगै सेती नदीमा जलयात्रा (र्याफ्टिङ)का लागि आउने पर्यटकको सङ्ख्यामा एकाएक वृद्धि भएको छ। जलयात्राका लागि ख्याति कमाएको सेती नदीमा पर्यटकको आगमन हुन थालेपछि व्यवसायी समेत उत्साही भएका छन्। जाडोयामको समाप्तिसँगै गत फागुनको अन्तिम सातादेखि जलयात्राका लागि पर्यटक आउन थालेका छन्।
जिल्लामा रहेको चेम्बर अफ कमर्सले सेती नदीमा र्याफ्टिङ शुरु गरेपछि पर्यटक आउन थालेको पिपल्लाका व्यवसायी टीका भण्डारीले बताए। उनले भने, “चेम्बरले जलयात्रा शुरु गरेपछि अहिले जलयात्राका लागि विभिन्न ठाउँका मानिस आउन थालेका छन्, राम्रै भएको छ।” जलयात्रा शुरु भएसँगै यहाँ पर्यटकले निकै आनन्द लिन थालेकाछन्।
छोटो र पारिवारिक जलयात्राका लागि ‘फेमिली रिभर’का रुपमा चिनिएको सो नदीमा आउने पर्यटकको घुइँचो लाग्न थालेको चेम्बर अफ कमर्सका अध्यक्ष खगेन्द्रबहादुर साउदले बताए। उनले भने, “सेतीमा जलयात्रा गर्नु जस्तो अरु ठाउँमा कही छैन, पारिवारिक रुपमा आनन्द लिन सकिने भएकाले पनि यहाँको जलयात्रा राम्रो हुदैछ।” समथर र कम बहाब भएकाले नागरिक अन्य नदी भन्दा सेती नदीलाई बढी रोज्ने गरेको दाङ जिल्ला घर भई सेती नदीमा जलयात्रा गर्न आएका शुरेसचन्द्र डिसीले बताए।
उनले भने, “सुदूरपश्चिममा के छ भनेर सोध्दा टीकापुर पार्क, कर्णाली पुल, शुक्लाफाँटा निकुञ्ज, खप्तड भन्थ्ये, यतिमात्र होइन यहाँ त दिपायलको सेती नदीमा ¥याफ्टिङ पनि रहेछ सारै आनन्द आउँदो रहेछ।” जल यात्राका लागि सेती नदीमा अहिले स्वदेशी पर्यटकसँगै विदेशी पर्यटकको समेत आवागमन बढेको दिपायलका बासिन्दा तेज डुम्रेलले बताए।
उनले भने,“सेती नदीमा स्वदेशी मात्र नभएर विदेशी पर्यटक पनि जलयात्राका लागि आउने गरेका छन्, अरु ठाउँ भन्दा सेती नदी जलयात्राका लागि राम्रो भएको उनीहरुको अनुभव छ।” कुनै/कुनै पर्यटकले जिल्लाको शिखर नगरपालिका बानीडुग्रीसैनबाट आफनो जलयात्रा शुरु गरी कैलालीको कर्णाली नदीको चिसा पानीमा पुगेर यात्रा टुङ्ग्याउने गर्दछन्। करीब तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यका रुपमा रहेको स्थानीयवासी बताउँछन्।
सेतीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन्। उक्त नदीको जलयात्रा विश्वका अन्य नदीको भन्दा रोमाञ्चक हुने गरेको पर्यटको भनाइ छ। जलयात्राका लागि काम गर्ने कुनै निकाय नभएकाले जिल्ला बाहिरबाट विभिन्न पर्यटक व्यवसायीको सहयोगमा डुङ्गा ल्याएर चेम्बर अफ कमर्सले ¥याफ्टिङ सञ्चालन गरेको हो।
नदीमाथिका संरचना बिगार्ने, जलयात्रा शुरु हुने ठाउँमा पर्खाल लगाउने, जथाभावी बालुवा निकाल्ने कामले जलयात्रा सञ्चालन असहज हुने गरेको होटेल व्यवसायी गणेश बोहराले बताए। उनले भने, “जलयात्रा गर्ने ठाउँका संरचना भत्काउने, बालुवा झिक्ने काम बन्द गर्नुपर्छ।” उनले यात्राको क्रममा बस्ने ठाउँमा भौतिक संरचनाको विकास गर्न र नजिकै रहेका खोलाको बीचमा रहेका ठूला ढुङ्गा नहटाउँदा समस्या आउने गरेकाले हटाउन पहल गर्नुपर्ने बताए। रासस





