Tuesday, October 1, 2024

सिंहदरबारको पश्चिम भागलाई पनि रेट्रोफिटिङ गरिने

काठमाडौं–भूकम्पबाट क्षति पुगेको सिंहदरबारको मुख्य भवनको पश्चिम भागलाई पनि रेट्रोफिटिङ (प्रबलीकरण) गरेर संरक्षण गरिने भएको छ।

संघीय संसदको विकास तथा प्रविधि समितिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पछिल्लो अध्ययनले रेट्रोफिटिङ गरेर अझै बलियो बनाउन सकिने देखाएकाले प्राधिकरणले पश्चिम भागको रेट्रोफिटिङ गर्ने गरी प्रकृया अघि बढाएको जानकारी दिए। सिंहदरबारको उत्तर, पूर्व र दक्षिण भागमा रेट्रोफिटिङ कार्य भइरहेको छ।

अध्ययनले सिंहदरबारको मुख्य पर्खालहरुमा ठूलो क्षति नभएको, प्रयोग भएका इँटाहरु बलियो रहेको, केही काठहरु भने फेर्नु पर्ने देखाएको छ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुरातात्विक सम्पदा संरक्षणको अवधारणा अनुसार सिंहदरबारको रेट्रोफिटिङ गर्ने जानकारी दिए। उनले रेट्रोफिटिङको डिजाइन समेत प्राप्त भइसकेकाले प्रकृया छिट्टै अघि बढ्ने बताए।

प्रतिनिधिसभा रहेको संसद्को पुरानो भवनलाई भत्काएर नयाँ बनाउन सुझाव आएको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुरानो भवनलाई रेट्रोफिटिङ गरेर संरक्षण गर्ने कि नयाँ संरचना बनाउने त्यसबारे सुझाव दिन सांसद्हरुलाई आग्रह गरे। उनले परराष्ट्र मन्त्रालयबाट स्टेट हलका रुपमा कार्यक्रम अघि बढाउन सुझाव आएको जानकारी पनि दिए।

समिति सभापति कल्याणी खड्काले पछिल्लो समय पुनर्निर्माणको कामहरु देखिने गरी भइहरेको बताउँदै गुनासो सम्बोधन, गुम्बा पुनर्निर्माण लगायतलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिइन्।

ताजा समाचार

सम्बन्धित समाचार