बर्दिवास – महोत्तरीमा नदीजन्य पदार्थको उत्खनन दिनदिनै पेचिलो बन्दै गएको छ। यहाँका नदी र नदी उकास जग्गामा क्रसर सञ्चालकले मापदण्डविपरीत उत्खनन गर्दैआएकाले सर्वसाधारणले उत्खनन गर्न नदिने बताएपछि उक्त विषय पेचिलो बन्दै गएको हो।
स्थानीय तहले वातावरणीय प्रभाव मूल्याङ्न गरेर कानूनी प्रक्रियाअनुसार स्वीकृति दिने र जिल्ला समन्वय समितिको संयोजक नेतृत्वको जिल्ला अनुगमन तथा समन्वय समितिले नियमित अनुगमन गर्ने सङ्घीय र प्रदेश सरकारको कार्यादेश छ। क्रसर सञ्चालकले मापदण्डविपरीत उत्खनन गर्ने र सम्बद्ध निकायले अनुगमनप्रति उदाशीनता देखाएपछि समस्या बढ्दै गएको स्थानीयवासीले बताएका छन्।
“हामीले रातु नदीमा करीब फिटसम्मका गहिरा ठूलाठूला खाल्डा बनाएर बालुढुङ्गा निकाल्न प्रयोग गरिएका इस्काभेटर (उत्खननमा प्रयोग हुने यान्त्रिक साधन) र ओसार्न प्रयोग हुने ट्रिपर नियन्त्रणमा लिएर सम्बद्ध निकायलाई गुहार्यौं”, बर्दिवास नगरपालिका–६ का सामाजिक कार्यकर्ता राजु महतोले भने, “जिल्ला समन्वय समिति र स्थानीय प्रशासनले कुनै चासो देखाएनन्।”
बर्दिवास–६ का बासिन्दाले नियन्त्रणमा लिएका यान्त्रिक साधन आ–आफ्ना वडाध्यक्षलाई जिम्मा लगाएका छन् । “हामी मनपरी उत्खनन गर्न दिन्नौँ”, स्थानीयवासी इन्द्र खड्काले भने। जथाभावी उत्खननका कारण तटबन्ध भत्कने र बाढी बस्तीमा पस्ने खतरा बढेको छ। कुनै निकायले चासो नदिएको बर्दिवास–६ कृष्णपुरका ६० वर्षीय रामविलास महतो बताउँछन। जिल्लाका बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रका नदी तथा नदी उकास जग्गामा नदीजन्य पदार्थको उत्खनन गरिँदै आएको छ। क्रसर उद्योग सञ्चालकले नदीको कूल चौडाइको तीन भागमध्ये माझको भागमा तीन फिटसम्म खाल्डो खनेर नदीजन्य पदार्थ उत्खनन गर्न पाउने व्यवस्था छ। क्रसर उद्योग सञ्चालकले तटबन्ध बाँधिएको क्षेत्र र वृक्षरोपण गरिएका क्षेत्रमा ढुङ्गा तथा बालुवा उत्खनन गर्दैआएको भङ्गाहा–४ का नारायण दाहालले बताए। जिल्ला समन्वय समितिका संयोजक सुरेशप्रसाद सिंहले उत्खननका विषयमा आपूmलाई जानकारी नभएको बताए।





