पत्रपत्रिकामा आज : कालीगण्डकीमा अवैध उत्खनन, आहारा खोज्दै बस्ती पस्न थाले वन्यजन्तु

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्ण पोस्टमा कालीगण्डकीमा अवैध उत्खनन शिर्षकमा समाचार छापिएको छ। म्याग्दीको रघुगंगा गाउँपालिका१ को बेग र २ को भगवती भएर बग्ने कालीगण्डकी नदीमा ठेकेदारले मापदण्ड र सम्झौताविपरीत नदीजन्य वस्तु उत्खनन् गरिरहेका छन्।

रघुगंगा गाउँपालिकाले ठेक्का लगाएको तिप्ल्याङको कालीओढार, भीरकोटर बेगखोला, ठाडिखोरिया, कुनौटा र रिठाबोट क्षेत्रमा मापदण्डविपरीत उत्खनन् भएको छ।

राजधानी
–आजको राजधानीमा स्थानीय र पश्चिमी वायु भुमरीले विपत्ति शिर्षकमा समाचार छापिएको छ। मौसमविद्हरूले स्थानीय वायु र पश्चिमी वायुको प्रभावले बारा र पर्सामा ठूलो जनधनको क्षति हुने गरी हावाहुरी आएको बताएका छन्। ४५ देखि ५५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको हावाहुरीको कुनै पूर्वानुमान गर्न नसकिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘यो हावाहुरी स्थानीय वायुको प्रभावका कारण उत्पन्न भएको देखिन्छ,’ जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजुकुमार वैद्यले भने, ‘हावाहुरीको गति कति थियो भनेर यकिन भइसकेको छैन। तर, प्रतिघण्टा ४५ देखि ५५ किलोमिटरको अनुमान गरिएको छ।’

उनका अनुसार पोखरामा सिर्जना भएको सो हावाहुरी चितवन हुँदै तराईमा प्रवेश गरेको हो। ‘पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय रेखा भेटिएपछि हावाले हुरीको रूप लिएको देखिन्छ,’ उनले भने, ‘हावाहुरी एकदेखि दुई घण्टा चलेको थियो।’

कान्तिपुर
–आजको कान्तिपुरमा तत्काल पूर्वानुमान नहुँदा ठूलो क्षति शिर्षकमा अब्दुल्लाह मियाँको समाचार छापिएको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार अपराह्न पूर्वी र मध्य भूभागका लागि मौसमबारे प्रक्षेपण गरेको थियो, ‘धेरै स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना छ ।’ मध्यको बारा र पर्सा क्षेत्रमा आइतबार साँझको मौसम मेघ गर्जन र क्षणिक वर्षामा मात्र सीमित भएन। कल्पनै नगरिएको हावाहुन्डरीले क्षणभरमै दर्जनौंको ज्यान लिनुका साथै करोडौंको क्षति गर्‍यो ।

महाशाखाले उपलब्ध प्रविधिका आधारमा मौसमी ‘फरकास्ट’ त गरेको थियो तर ‘नाउकास्ट’ गर्न नसक्दा राज्यले अनगिन्ती क्षति ब्यहोर्‍यो । पोखराको वायुमण्डलमा अपराह्न ५ बजेतिर मौसमी प्रणाली विकसित भएको थियो।

त्यस्तै आहारा खोज्दै बस्ती पस्न थाले वन्यजन्तु शिर्षकमा गोविन्द पोखरेलको समाचार छापिएको छ। कोसी गाउँपालिका–३ की विमला सरदार बिहान सबेरै उठ्न डराउँछिन्। डरको कारण हो, वन्यजन्तु। बिहान सबेरै उठेर शौच वा अन्य कामका लागि घर बाहिर निस्कँदा अर्ना र हात्तीले आक्रमण गर्न सक्छन्।

कोसी टप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा पर्ने सुनसरीको कोसी गाउँपालिका, सुनसरीको बराहक्षेत्र, सप्तरीको कञ्चनरूप र उदयपुरको बेलका नगरपालिकाका बासिन्दाको साझा समस्या हो ।कहिले हात्तीले घर भत्काइदिन्छ त कहिले अन्नबाली खाइदिन्छ ।

ताजा समाचार

सम्बन्धित समाचार