गोदावरीमा धमाधम डिप बोरिङ

ललितपुर – गोदावरी नगरपालिकाभित्रका वडामा धमाधम डिप बोरिङको काम अघि बढेको छ। गोदावरीले समृद्ध शहर निर्माणको लक्ष्य अघि बढाउँदै वडाहरुमा पानीको सुविधा दिन बोरिङको काम अघि बढाएको हो।

रु एक करोड ५० लाख लगानीमा वडा नं १० मूलडोलमा डिप बोरिङ गरी पानी निकालिसकिएको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए। “त्यहाँ ६ इञ्चको पानी निकाल्यौँ”, महर्जनले भने, “काठमाडौं उपत्यका खानेपानी लिमिटेडले रु ५० लाख, ललितपुर महानगरपालिकाले रु ५० लाख सहयोग गर्नुका साथै नगरपालिकाले छुट्टै रु २५ लाख लगानी गरेर पानी निकालेका हौँ।” यहाँ हाल प्रतिमिनेट एक हजार लिटर पानी उत्पादन भइरहेको छ।

त्यसैगरीे वडा नं ९ छम्पीमा नगरपालिकाले रु ३५ लाख लगानी गरेर ६ इञ्चको पानी निकालिसकेको छ। छम्पीमा पानी निकाल्न नगरपालिकालाई केही संस्थाले सहयोग पनि गरेको महर्जनले बताए। “अर्को वडा नं ८ डुकुछापमा रु ४० लाख लगानीमा ६ इञ्चको पानी निकाल्यौँ”, महर्जनले थपे, “वडा नं १० चारघरे टाखेलमा रु २२ लाख लगानीमा अर्को ८ इञ्चको पानी निकालेका छौँ।”

नगरपालिकाले वडा नं २ विशङ्खुमा पानी निकाल्ने सर्वेक्षण सम्पन्न गरेसँगै आइतबारदेखि रु ५० लाख लगानीमा पानी निकालिएको छ। पूरै नगरपालिकाको लगानीमा उक्त बोरिङको काम सम्पन्न भएको महर्जनले जानकारी दिए।रासस

ताजा समाचार

सम्बन्धित समाचार