सफाइ अभियानमा ९२ वर्षीया मङ्गली

चिप्लेढुङ्गा – पोखरा सुन्दर छ, सफा छ, घुम्न आउनेहरु भन्ने गर्छन्। शहर सफा राख्न र सुन्दरता जोगाउनुपर्छ भनेर हरेक हप्ता हातमा कुचो बोकेर सफा गर्न सडकमा निस्कने अभियानकर्मीको पनि कमी छैन। ‘सके सफा गरौँ, नसके फोहोर नगरौँ’ ‘हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराकासाथ सडकमा निस्कन्छन् र भटाभट फोहोर सङ्कलन गर्न थाल्छन्।

यो अभियान केही वर्षदेखि पोखरामा निरन्तर चलेको छ। फेवाताल सफाइ अभियान सक्रिय छ। पोखरा लेकसाइडस्थित खहरे आमा समूहका ७० सदस्य समूहमा छन्। सोही समूहमा ९२ वर्षीय मङ्गली जलारी हातमा पञ्जा, सफाइ अभियानको टिसर्टमा अभियानमा जुट्छिन्। उनलाई कत्ति अल्छी लाग्दैन। हसिलोअनुहारमा भटाभट फोहोर सङ्कलन गर्ने सदस्यमध्ये अग्रपक्तिमा उनलाई देख्न सकिन्छ। उनको जागर देखेर सबै छक्क पर्छन्।

समूहका अध्यक्ष मैया थापाले भनिन्, “मङ्गला आमा यो संस्थाको संस्थापक सदस्य हुनुहुन्छ, हामीले सफाइ अभियान शुरु गरेदेखि उहाँ निरन्तर सहभागी हुँदै आउनुभएको छ।” विसं २०७० मा स्थापित यो समूह विगत दुई वर्षदेखि हप्तै पिच्छे सफाइ अभियानमा जुटेका छ । ११०औँ हप्ता पुगिसकेको छ।

“हामीले अब हजुर घर बस्नु हामी गर्छौँ भन्दा मान्नुहुन्न, सकेसम्म हात खुट्टा बाँधेर बस्नुहुन्न मैले जति गर्न सक्छु त्यति गर्छु भन्दै आउनुहुन्छ”, थापाले भनिन्।

“म सक्ने बेलासम्म सफाइ अभियानमा जान्छु”, मङ्गलीले भनिन्। “अञ्जुलीमा पानी भरेर खाएको फेवाताल दुर्गन्धित भइरहँदा नमज्जा लागेको छ, ताल बाराही मन्दिर छ, यस्तो पवित्र ठाउँमा पनि मानिस ढल मिसाएर पाप गर्छन्।”मानिस पढेलेखेका भए पनि संस्कार सभ्यता अनि नैतिकता बिर्सदै गएको उनको ठम्याइ छ।

पोखरा वृहत सफाइ अभियानका अभियानकर्मी रामबहादुर पौडेलले मङ्गलीको सक्रियताले अभियानमा लाग्नेहरुलाई ऊर्जा मिल्ने गरेको बताए। स्वच्छ र हराभरा पोखराका लागि उनको सक्रियताले सकारात्मक सन्देश प्रवाह गरेको छ। वृहत पोखरा सफाइ अभियानले पनि सोही नाराका साथ १४८औँ हप्ताको सफाइ अभियान पूरा गरेको छ।

पोखरा महानगरपालिकाको ३३ वटै वडामा अभियानलाई निरन्तरता दिँदै आएको छ। यो अभियानमा आजसम्म झण्डै एक लाख ६१ हजारले सहभागिता जनाइसकेको पौडेलको भनाइ छ।

सङ्कलित फोहरको व्यवस्थापन महानगरपालिका गर्दै आएको छ। खहरे आमा समूहबाट सङ्कलित फोहर व्यवस्थापनलाई ग्रीन पार्कका अध्यक्ष सुजन गुरुङले सहयोग गरेका छन्। विभिन्न सङ्घ सस्था एवं सहयोगीले फोहर सङ्कलनका लागि आवश्यक सामग्री प्रदान गर्दै आएका छन्। रासस

ताजा समाचार

सम्बन्धित समाचार