पत्रपत्रिकामा आज : ब्रुमरलाई चुनौती बन्यो सडक सफाइ, सरकारको अस्वभाविक मौनताले मेलम्ची अन्योल

काठमाडौँ – आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
नागरिक
–आजको नागरिकमा सरकारको अस्वभाविक मौनताले मेलम्ची अन्योल शिर्षकमा हिमाल लम्सालको समाचार छापिएको छ। सरकारको अस्वभाविक मौनताले मेलम्ची खानेपानी आयोजना अनिर्णयको बन्दीमा फसेको छ। मेलम्चीको ठेकेदार कम्पनीले साइट छाडेर हिँडेको साढे तीन महिना भएपनि सरकारले उचित निर्णय गर्न नसक्दा मेलम्ची आयोजना अनिश्चयतर्फ धकेलिएको छ।
राष्ट्रिय गौरवको आयोजना तीनतीन महिनादेखि ठप्प हुँदा पनि सरकार अस्वभाविक रुपले मौन हुँदा मेलम्ची आयोजना अनिश्चयतर्फ धकेलिएको हो। तीस वर्षदेखि उपत्यकावासीको मेलम्चीको सपना अझै मृगतृष्णा जस्तै बनेको छ।

गोरखापत्र
–आजको गोरखापत्रमा ब्रुमरलाई चुनौती बन्यो सडक सफाइ शिर्षकमा समाचार छापिएको छ। राजधानी काठमाडौँका सडक सफा गर्न खटिएका पाँचवटा ब्रुमर यतिबेला चुनौती खेपिरहेका छन् । विदेशका चिल्ला सडक सफा गर्ने ब्रुमरलाई अव्यवस्थित शहरका सडक सफा गर्न चुनौती खेप्नुपरेको हो।

सडकमा थुपारिने गेग्रान, गिटीबालुवा र फोहोरले काठमाडौँ महानगरपालिकाको धुलो सफा गर्न ब्रुमरलाई निकै अप्ठ्यारो परेको छ। ‘तान्नै नसक्ने गिटी, इँटा, बालुवाले ब्रुमरलाई अप्ठ्यारो पारेको छ’ महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताए।

राजधानी
–आजको राजधानीमा सुरुवातमै सक्रिय बन्यो प्रि–मनसुन शिर्षकमा सविन शर्माको समाचार छापिएको छ । खडेकीका कारण विगतमा कृषकले दुःख झेल्दै आए पनि यो वर्ष समयमै वर्षा हुँदा कृषकमा उत्साह देखिएको छ । यस वर्ष चैतमा नै प्रि मनसुन सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मनसुन शुरु हुनुपूर्व हुने वर्षालाई प्रि मनसुन भनिन्छ । पूर्वबाट स्थानीय वायुको प्रभावमा न्यून चापीय क्षेत्रको विकासले मौसममा फेरबदल भएको महाशाखाले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार