Tuesday, October 1, 2024

बारा र पर्सा: हावाहुरीका कारण कम्तिमा २५ जनाको मृत्यु, कयौं घाइते

काठमाडौं–तराईका जिल्ला बारा र पर्सामा आइतबार बेलुका अचानक आएको तीव्रगतिको हावाहुरीका कारण कम्तिमा २५ जनाको ज्यान गएकाे छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै घटनामा २५ जनाको ज्यान गएको र करीब ४ सय जना घाइते भएको जानकारी दिएका छन्। गृहमन्त्रालय, आपतकालीन कार्यसञ्चालन केन्द्रले हावाहुरीबाट २२ जनाको मृत्यु भएको र २०० जना घाइते भएको जनाएको छ।

प्रधानमन्त्री ओलीले ट्विट गर्दै भनेका छन्, ‘तत्काल उद्दारका लागि ‘नाइट भिजन’ हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ। मौसमले साथ दिने बित्तिकै खटाइने छ।’ ‘सुरक्षाकर्मीसँगै उद्दारमा संलग्न रहन म सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दछु’, प्रधानमन्त्री ओलीले भनेका छन्।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु रावतले पनिसुरक्षाकर्मीलाई उद्धार कार्यमा सहयोग गर्न आह्वान गरेका छन्। ‘घाइतेहरुको उपचारको लागि स्वास्थ्य सेवाका कर्मचारीरु अनुरोध छ।शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु,’ ट्वीट गर्दै उनले भनेका छन्।

घाइतेहरूको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको जनाइएकाे छ। ग्रामीण क्षेत्रमा आएको हावाहुरीका कारण घर, पर्खाल भत्किएका, घरका छाना उडेका र रूखहरू लडेको सुरक्षा अधिकारीहरुले जनाएका छन्।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले घाइतेको उद्धारमा नेपाली सेनाको कलैया र पथलैयाबाट टोली खटिएको र काठमाडौंमा हेलिकोप्टर अलर्ट अवस्थामा राखिएको जानकारी दिए। घाइतेको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगै स्थानीयवासी खटिएको आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार