Tuesday, October 1, 2024

बाघ पीडितको कथा

चितवनबाट फर्किएपछि (काठमाडाैं)– ५९ वसन्त पार गरेका हरिबहादुर तामाङलाई चार वर्ष अघि जंगलमा च्याउ खोज्न जादाँ बाघले आक्रमण गर्‍यो। च्याउको खोजीमा जंगल पुगेका उनी जसोतसो बाघको पञ्जाबाट जोगिएर घर फर्किएका थिए।

हरिको त्यही घटनाले नयाँ जीवन दियो। तर, उनकोे नयाँ जीवनमा पहिलेको जस्तो रौनक रहेन, निरश र फिक्का–फिक्का। वन, वन्यजन्तु संरक्षणका विषयमा सबैलाई जानकारी दिने अनि गाउँघरमा आएका नयाँ मान्छेसँग कुरा गर्न सिपालु हरि अहिले ठीक उल्टो व्यवहार देखाउँछन्।

वन्यजन्तुपीडितको अध्ययन र पछिल्लो अवस्थाको खोजीमा चितवनको बालुवाटार–९ मा पुग्दा उनको अवस्था हेर्दा निक्कै नै दयनीय थियो।

उनीसँगै दोहोरो कुराकानी गर्न नै नसकिने। बोले पनि बुझ्न नै गाह्रो। उनीसँगको कुराकानीमा ‘जंगलमा जाँदा मलाई बाघले आक्रमण गर्‍यो, आफैँ उपचार गरे र राहत पाइएन’ योभन्दा धेरै कुरा मौखिक रूपमा जानकारी पाउन सकिन।

यो एउटा घटनाबाट पनि हामीले अनुमान गर्न सक्छौं, वन्यजन्तु पीडितको अवस्था, पीडा अनि कहालीलाग्दो कथा। वन्यजन्तुबाटपीडितलाई कति असर पारिरहेको हुन्छ। एक जना वन्यजुन्तपीडितलाई परेको असर घरपरिवार अनि समाजमा पनि पर्ने गर्छ।

हरिका १८ वर्षीया छोरी रामुमाया तामाङले भनिन्,‘मेरो बुबालाई बाघले आक्रमण गरेर यस्तो भएको भन्छन् अरूले। बुबाले बोलेको नै केही बुझिँदैन्। काम पनि गर्न सक्नुहुन्न।’

हरिका छिमेकी ५२ वर्षीय देवन्द्र थापाकाअनुसार बाघले आक्रमण गर्नुभन्दा अघि उनको स्वास्थ्य अवस्था राम्रो थियो। राम्रोसँग बोल्न सक्थे। तर, बाघको आक्रमणपछि भने बोल्न नसक्ने अवस्था पुगेका हुन्।

छिमेकीकाअनुसार हरिको उपचारमा करिब ३० हजार खर्च भएको छ।

यहाँका स्थानीयको बाध्यता जंगलमा घाँस, दाउरा गर्नु रहेको छ। खाना पकाउन ग्यास किन्ने आर्थिक अवस्था नरहेको देवन्द्र थापा बताउँछन्।

कुमरोज वडा नम्बर ११ का टेक भट्टका १४ वटा भैँसी बाघले खाइदियो। त्यस घटनापछि उनले भैंसी नै पाल्न छाडिदए। ‘एउटै छोराको पनि खाडी मुलुकमा गएर मृत्यु भयो। उसले ल्याइदिएको टिभी छ त्यसमा यति राहत पाए वन्यजन्तुपीडितले भनेको त हेर्छु। तर आफूले पाएको छैन,’ भट्टले आफ्ना पीडा सुनाए।

चितवनको खैरेनी–१३ की ३५ वर्षीया रेखा कडेरिया बाघले हरेक वर्ष मान्छेलाई आक्रमण गर्ने गरेको बताउँछिन्। ‘यो ठाउँको नाम नै ‘मान्छे खाने ठाउँ’ भन्दा फरक पर्दैन,’ आफूहरूका पीडा सुनाउँदै रेखाले भनिन्, ‘बाघले मान्छे मार्छ भनेर नै जंगल जान छाडेको एक वर्ष भएको छ। बरू दाउरा किनेरै काम चलाउँछौं।’

जंगल नजिकै बस्ने मान्छेले पनि आर्थिक रूपमा लाभ लिन सकेका छैनन्। भएको क्षतिको पनि पूण रूपमा राहत पाउन सकेका छैनन्।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बस्ने समुदाय पछिल्लो समय वन्यजन्तुबाट झनझन पीडित बन्दै गएका छन्। कसैले राहतको लागि प्रक्रिया थालेपनि राहत भने नपएको गुनासो उनीहरूको छ। कतिपयलाई त अब राहत पाइन्छ भनेर विश्वास समेत गुमिसकेको छ।

संरक्षणमा काम गर्ने सरोकारवालाले वन्यजन्तु पीडितको अवस्थालाई विश्लेषण र सहयोग गर्दै जान सकेमा संरक्षणतिर पाइला अगाडि बढ्न सक्छ।

मानव र वन्यजन्तुबीचको द्वन्द्वले धेरै मानिसको पीडामाथि पीडा थपेको छ। जंगलको नजिक प्रायः अदिवासी-जनजाति बस्ने गरेको पाइन्छ। संरक्षणमा उनीहरुको मुख्य भूमिका रहेको हुन्छ।

आर्थिक हिसाबले पनि जंगल नजिक बसेका मानिस निकै पछाडि रहेको पाइन्छ । जीविकोपार्जनका लागि जंगलसँग नाता जोडिएको छ। संरक्षण गरे हुर्काएको जंगलमा आज स्थानीयवासी जान नसक्ने अवस्था आइसकेको छ। जंगल जाने गर्नुहुन्छ ? भनेर प्रश्न गर्दा घरमै बस्न सक्ने अवस्था छैन जंगल त कसरी जाने ? बाघले आक्रमण गर्छ भन्ने जवाफ पाइन्छ।

बाघको संख्या बढ्यो भनेर आज संरक्षणकर्मी र सरोकारवालालाई गर्वको विषय बनेको छ। नेपालको बाघको संख्याको वृद्धि अन्तर्राष्ट्रिय स्तरमा नै सिकाइ भएको छ। तर, वन्यजन्तुपीडितको घाउमा मल्हम कसरी लगाउने भन्नेबारेमा त्यति ध्यान गएको पाइँदैन। विशेषगरी बाघको व्यवस्थापन मुख्य चुनौतीको विषय बनेको छ।

बाघको आक्रमणबाट यो आर्थिक वर्षमा मात्र बर्दियामा एक जना र चितवनमा दुई जना गरी तीन जनाको मृत्यु भइसकेको छ। वन्यजन्तुको आक्रमण र त्यसपछिको अवस्था कस्तो छ ? पीडितको त्यो बुझ्न आवश्यक छ। स्थानीयसँगको हातेमालो विना बाघको संरक्षण एवं व्यवस्थापन गर्न असम्भव छ।

त्यसैले पनि स्थानीयको हकहितमा यससम्बन्धी धेरैभन्दा धेरै अध्ययन हुनुपर्ने देखिन्छ। जसले गर्दा वन्यजन्तुपीडितलाई कसरी सामाजिक, मानसिक र आर्थिक सबै हिसावबाट सन्तुलन गर्न सकिन्छ भन्ने विषय भोलिका दिनमा आवश्यक पर्छ। हामी यो विषयमा ढिलो भइसकेका छौं।

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाको तेस्रो संशोधन पारित भएसँगै वन्यजन्तुले घाइते भएकाको सबै उपचार खर्च अब सरकारले गरिदिने व्यवस्था कायम भएको छ। वन्यजन्तुबाट मान्छेको मृत्यु भएमा परिवारलाई १० लाख रुपैैयाँ राहत दिने व्यवस्था रहेको छ। तर, वन्यजन्तुपीडितले राहत पाउँछन् वा पहिलेझैं ‘नाम मात्रको राहत’ हुन्छ, विस्तार खुल्दै जाला।

नेपालमा बाघ गणना २०१८ को नतिजाअनुसार पाटे बाघको संख्या २ सय ३५ पुगेको छ। नेपालमा चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको बासस्थान रहेको मानिन्छ। नेपालसहित विश्वका १३ मुलुकमा बाघ पाइन्छ।

ताजा समाचार

सम्बन्धित समाचार