Tuesday, October 1, 2024

ब्रुमरपछि तीनवटा दमकल खरिद गर्दै काठमाडौं महानगर

काठमाडौं–हालै मात्र पाँचवटा ब्रुमर खरिद गरेर सडकको धुलो सफा गरिरहेको काठमाडौं महानगरपालिकाले दमकल समेत खरिद गर्ने भएको छ।

अहिले महानगरले आगलागीका घटना नियन्त्रणका लागि प्रयोग गरिरहेको दमकल नेपाल सरकार तथा अन्य दातृ निकायबाट उपहार स्वरूप प्राप्त भएका हुन्। महानगरले आफैं अत्याधुनिक दमकल खरिद गर्ने तयारी गरेको मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए।

उनका अनुसार नयाँ अत्याधुनिक दमकल खरिदका लागि प्राविधिक अध्ययनको काम भइरहेको छ। महानगर स्रोतका अनुसार कम्तिमा तीनवटा दमकल खरिद गर्ने गरी प्राविधिक अध्ययन भइरहेको हो।

काठमाडौं महानगरपालिकाको जुद्ध बारुणयन्त्र कार्यालयका प्रमुख बद्रीमान नगरकोटीका अनुसार जम्मा ६ वटा दमकल रहेकोमा तीनवटा मात्र सञ्चालनमा छन्। ‘दुई वटा काम नै नलाग्ने गरी बिग्रिएका छन्। एउटा मर्मत गर्न सकिने अवस्थामा छ,’ उनले भने।

अहिले सञ्चालनमा रहेका तीनवटा दमकलमध्ये दुईवटा दमकल र एउटा ३० मिटरको ल्याडर ०६४ सालमा गृह मन्त्रालयले प्रदान गरेको हो।

अहिले प्रयोगमा रहेका दमकल ‘नाम मात्रको दमकल’ भएको र अन्य प्रायोजनका लागि उत्पादित गाडीलाई मोडिफाइ गरिएको आरोप लाग्दै आएका बेला जुद्ध बारुणयन्त्र कार्यालयका प्रमुख नगरकोटी भन्छन्, ‘अब अत्याधुनिक दमकल खरिद गर्ने भनेर मेयरसावले भन्नु भएको छ।’

आगलागी भइसकेपछि भवनको बिजुली काट्नुपर्छ। तर, अब खरिद गर्ने दमकलबाट ट्यांकरमा विजली प्रवाह गरेर घटना भएको स्थान नजिकैबाट पानी भर्न मिल्ने सुविधायुक्त हुने नगरकोटीले बताए।

ताजा समाचार

सम्बन्धित समाचार