Tuesday, October 1, 2024

वर्षेनि २ लाख हेक्टर वनमा डढेलो, जापानले दिएको ५३ मिनी दमकल खोइ?

काठमाडौं– सन् २०१२ मा जापान सरकारले डढेलो नियन्त्रणमा प्रयोग गर्नका लागि ५३ वटा गाडी उपलब्ध गरायो। जापनले वन डढेलो नियन्त्रणका लागि मिनि दमकलका रुपमा प्रयोग गर्ने गरी गाडीसहित उपकरण समेत उपलब्ध गराएको थियो।

डढेलो नियन्त्रण गर्ने काममा प्रयोगका लागि प्रदान गरिएका ती गाडीहरु उक्त कामका लागि कहिल्य प्रयोग भएनन् । ती गाडी सम्बन्धित कामका लागि प्रयोग गर्नुको सट्टा तत्कालीन जिल्ला वन कार्यालयका जिल्ला वन अधिकृत (डीएफओ) का लागि चढ्न प्रयोग गरियो।  वन तथा भू संरक्षण विभागका अनुसार उकालोमा डढेलो नियन्त्रणका सामाग्री बोकेर हिँड्न नमिलेपछि ती गाडी अन्य प्रयोजनमा ल्याइएको हो।

वन तथा भू संरक्षण विभागले यस्तो दाबी गरेपनि तराईका जिल्लामा ती गाडी प्रयोग गर्न सक्ने अवस्था छ। वन तथा भू संरक्षण विभागमा डढेलो ‘फोकल पर्सन’ रहेका उपसचिव सुन्दर शर्मा वन डढेलो नियन्त्रणका लागि जापान सरकारले मिनि दमकलका रुपमा ती गाडी प्रदान गरेको बताउँछन्। तर, त्यसको प्रयोगका सम्वन्धमा जानकार नरहेको शर्मा बताउँछन्।

रातामाटे सामुदायिक वन, उदयपुरमा लागेकाे डढेलाे निभाउँदै नेपाली सेना।

वर्षेनि २ लाख हेक्टरमा डढेलो
डढेलोबाट कम्तिमा पनि नेपालमा २ लाख वन हेक्टर वन नोक्सान हुने गरेको छ। तर, वन डढेलोले गर्ने क्षतिका बारेमा अहिलेसम्म पनि नेपालमा अध्ययन अनुसन्धान हुन सकेको छैन। खासगरी वन डढेलोले जैविक विविधतामा असर पुर्याउँछ। जस्तै वन्यजन्तु, वनस्पति, जडिवुटी लगायत जैविक विविधता डढेलोले नष्ट गर्दछ । त्यसबाहेक, डढेलोको असर माटोमा पनि पर्दछ। माटोमा सुख्खापन ल्याउँछ भने माटोका गुणहरु जलेर नष्ट हुन्छन्।

विश्वमा भएका अध्ययन अनुसार हरेक वर्ष डढेलोबाट २ सय खर्ब डलर बराबरको क्षति डढेलोले गर्दछ। करीब ४०० मिलियन हेक्टर वन डढेलोबाट नासिन्छ। नेपालमा सन् २००९ र सन् २०१६ मा भएका डढेलोका घटनालाई नै पछिल्ला दुई दशकयताका डढेलोका ठूला घटनाका रुपमा लिइन्छ।

आर्थिक वर्ष २०७१-०७२ मा मा १३ लाख हेक्टर वन क्षति भएको थियो भने वन डढेलोका कारण ११ जनाको मृत्यु भएको थियो। त्यसैगरी २०६५-०६६ मा मा ४९ जनाको ज्यान गएको थियो । करिव २ लाख हेक्टर वनमा डढेलो लागेको थियो ।

जानी जानी लगाइन्छ
नेपालको सन्दर्भमा जानी जानी बनमा डढेलो लगाउने गरेको पाइएको छ। एक अध्ययन अनुसार ६४ प्रतिशत आगो वनमा पालुवा आउने नाममा मानिसले जानी जानी लगाउने गरेका छन्। त्यसैगरी ३२ प्रतिशत लापरवाही तरिकासंग लगाइने गरेको पाइएको छ भने ४ प्रतिशत अन्जानमा डढेलो लाग्ने गरेको पाइएको छ।

अध्ययन अनुसार नेपालमा ८३ प्रतिशत डढेलोका घटना मध्य फागुनदेखि मध्य वैशाखसम्म हुने गरेका छन्। ६० प्रतिशत मध्य चैतदेखि मध्यवैशाखसम्म डढेलोका घटना हुने गरेका छन्। अहिलेसम्मको अध्ययनमा डढेलोको उच्च रुप मध्य वैशाखमा देखिने गरेको छ। त्यसबाहेक नियन्त्रित रुपमा डढेलो लगाउनुपर्नेमा अनियन्त्रि हुँदा त्यसले सम्पूर्ण वन नै सखाप पारेको पाइन्छ।

दक्षिण एसियाली डढेलो व्यवस्थापन सञ्जालका अध्यक्ष समेत रहेका सुन्दरप्रसाद शर्माका भनाइमा डढेलो न्यूनीकरण गर्न सकिने सम्भावना धेरै छ । तर, नेपालमा अहिलेसम्म त्यसको प्रभावकारी काम नै हुन सकेको छैन । डढेलो र त्यसले पुर्याउने क्षति सरकारको प्राथमिकतामा नपरेका कारण न्यूनिकरणको काम हुन नसकेको शर्माको बुझाइ छ।

पूर्वतयारी तथा नियन्त्रणात्मक उपाय नै डढेलो व्यवस्थापनका मुख्य उपाय हुन्। डढेलो लाग्नुअघि नै डढेलो लाग्न नदिनका लागि गरिने सम्पूर्ण निरोधात्मक उपाय जस्तै अग्नी रेखाको निर्माण र समुदायलाई प्रदान गरिने तालिम प्रशिक्षण आदी पूर्व तयारी भित्र पर्दछन्।  त्यसैगरी डढेलो लागेका ठाउँमा फायर फाइटर र तालिम प्राप्त जनशक्ति निर्माण गरेर डढेलो लागेका स्थानमा नियन्त्रण गर्न सकिन्छ ।

एक खर्बको क्षति !
नेपालमा डढेलोले बार्षिक रुपमा कति क्षति पुर्याउँछ त्यसको कुनै लेखाजोखा छैन । डढेलो विज्ञ शर्माका भनाईमा त्यस सम्वन्धी अध्ययन नै नभएका कारण डढेलोले गर्ने क्षतिका बारेमा बताउन सक्ने अवस्था नभएको हो।

उनका अनुमानमा जैविक विविधता सहित वातावरणीय मुल्याकंन गर्दा करिव १ खर्ब बराबरको क्षति हुन्छ । डढेलोबाट पुग्ने क्षतिको अध्ययनमा सरकारको ध्यान जान सकेको छैन ।

वन क्षेत्रको अध्ययन अनुसन्धानका लागि रहेको अनुसन्धान तथा सर्वेक्षण विभागलाई खारेज गरेर अनुसन्धानको दायरालाई खुम्चाइएको शर्मा बताउँछन् ।  वन क्षेत्रमा डढेलोले गर्ने क्षतिको अध्ययन गर्न सके थप कार्यक्रम गर्न र श्रोत साधन जुटाउन सकिने भएपनि अध्ययनको अभावमा त्यो हुन नसकेको वन क्षेत्रका जानकारहरु बताउँछन्।

ताजा समाचार

सम्बन्धित समाचार