पत्रपत्रिकामा आज : फोहोरका पोका घरघरै फिर्ता, दूषित पानी पिउन तँछाडमछाड

काठमाडौँ – आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
कान्तिपुर
– आजको कान्तिपुरमा फोहोरका पोका घरघरै फिर्ता शिर्षकमा प्रतीक्षा काफ्लेको समाचार छापिएको छ। नगरपालिकाको टिपर टक्क घरअगाडि रोकियो । कर्मचारीले घरधनीलाई पोका थमाउँदै भने, ‘लौ तपाईंको सामान तपाईं नै राख्नुस् ।’ अलमलमा परेका घरधनीले खुरुखुरु हात थापे । खोलेर हेर्दा त्यसमा फोहोर थियो । त्यही फोहोर जुन उनीहरूले राति सुटुक्क लगेर खोल्सामा फालेका थिए ।

वालिङ नगरपालिकाले शनिबार वडा नम्बर १० फेदी मोहोरियाका बासिन्दाले जथाभावी फालेको फोहोर उनीहरूलाई नै फर्काइदिएको हो । यसै कारण वालिङ बजारमा बिहान केही घण्टा निकै चर्काचर्की चलेको थियो । फोहोरका पोकामा बिल तथा प्रमाण पुग्ने कागजपत्र भेटिएपछि वडाध्यक्ष अनन्तराज गैरेमार्फत मिल्काउनेका घरमा पुर्‍याइएको नगरपालिकाले जनाएको छ । फोहोरका पोका फिर्ता पाउनेमा अधिकांश व्यवसायी छन् । फोहोरफाल्नेलाई फेरि त्यस्तो नगर्न सचेत गराइएको वडाध्यक्ष गैरेले बताए ।

नेपाल समाचारपत्र
-आजको समाचारपत्रमा दूषित पानी पिउन तँछाडमछाड शिर्षकमा कालीबहादुर मल्लको समाचार छापिएको छ । कालिकोटको तिलागुफा नपा १ नाग्ममका रहेको मालिका माध्यिमिक विद्यालयमा खानेपानी नहुँदा त्यहाँ अध्ययन गर्ने बालबालिका खानेपानीबाट वञ्चित भएका छन्।

विद्यालयमा आउने महाुनको पानी स्थानीय गाउँलेहरूले गाउँतिर लगेपछि यस विद्यायलमा अध्ययन गर्ने चार सयय स्कूले बालबालिका खानेपानीबाट वञ्चित भएका छन् ।

नागरिक
– आजको नागरिकमा जीर्ण सडक मर्मत गरिँदै शिर्षकमा दमन राईको समाचार छापिएको छ । पिच उक्किएर जीर्ण बनेको खोटाङको जयराम–हलेसी सडकको च्यास्मिटारदेखि हलेसीसम्मको सडकखण्ड मर्मतको तयारी गरिएको छ। आठ/नौ वर्षअघि गरिएको ओटासिल पिच उक्किएर खाल्डैखाल्डा भएकाले ३० किलोमिटर सडक (च्यास्मिटार–दुर्छिम–हलेसी) मर्मतको तयारी गरिएको हो।

मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकको प्रहरीचौकी च्यास्मिटारदेखि बडहरे र दुर्छिमदेखि हलेसीसम्मको जीर्ण सडक मर्मतका लागि चैत ८ गते टेन्डर आह्वान भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताए। स्वच्छन्द–भगवती निर्माण सेवाले पहिलोपल्ट २०६७ सालमा गरेको पहिलो ओटासिल कालोपत्रे उक्किएपछि सबैभन्दा बढी त्रि–धार्मिकस्थल हलेसी आउनेजाने पर्यटक तथा दर्शनार्थी मारमा परेका थिए। उक्त सडकको ठाउँठाउँमा खाल्डाखुल्डी परेको र जोखिमपूर्ण भएकाले मर्मतका लागि सडक विभागका महानिर्देशक र हलेसी तुवाचुङ नगरपालिकाबिच गत फागुन ३० गते सहमति भएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार