Tuesday, October 1, 2024

सुदूरपश्चिममा साढे २९ हजार हेक्टर वन क्षेत्र अतिक्रमणमा

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशमा दिनप्रतिदिन वन विनास बढ्दै गएको छ। ९ जिल्ला रहेको सुदूरपश्चिममा ८ लाख ५४ हजार हेक्टर वन क्षेत्र रहेकोमा २९ हजार ७ सय १७ वनजंगल क्षेत्र अतिक्रमणको चपेटामा छ। त्यसमा पनि सबैभन्दा बढी कैलाली र कञ्चनपुर जिल्लाकाे वन अतिक्रमणमा छ।

प्रदेश वन निर्देशनालय, सुदूरपश्चिमका सहायक वन अधिकृत रबिना पन्थीका अनुसार कैलालीमा २२ हजार हेक्टर र कञ्चनपुरमा साढे ३ हजार हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ। त्यस्तै, अछाममा ३ हजार हेक्टर, डडेल्धुरामा ४ सय ९ हेक्टर, बझाङमा ७ सय हेक्टर, बाजुरामा २४ हेक्टर, बैतडीमा ४० हेक्टर र डोटीमा ४४ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेकाे वनकाे तथ्यांक छ।

नेपालमा कुल भूभागको ४४ दशमलव ७४ प्रतिशत (६२ लाख ३० हजार हेक्टर) वन क्षेत्र रहेकोमा सुदूरपश्चिम प्रदेशमा १४ दशमलव चार प्रतिशत वन छ। सबैभन्दा बढी वन क्षेत्र कर्णाली प्रदेशमा १८ दशमलव ९ प्रतिशत रहेको छ।

पन्थीका अनुसार अतिक्रमण खाली गर्न डिभिजन वन कार्यालयहरुले काम गरिरहेका छन्। कञ्चनपुरको लालझाडी–मोहना संरक्षित क्षेत्र अतिक्रमणको चपेटामा परेको डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजन वन अधिकृत मोहन काफ्लेले बताए। ‘अढाई हजार हेक्टर लालझाडी-मोहना संरक्षित क्षेत्रमा अतिक्रमण भएको छ, बाढीपीडित, मुक्तकमैया, सुकुम्बासी लगायतले वन अतिक्रमण गरेका छन्,’ उनले भने।

अतिक्रमित वन क्षेत्र खाली गराउन वन कार्यालयको प्रयास अहिलेसम्म सफल हुन सकेको छैन।  ‘प्रत्येक वर्ष वनको योजनामा वन अतिक्रमण हटाउने विषयले प्राथमिकता पाउँछ, तर अतिक्रमण खाली गराउन समस्या छन्, वन अतिक्रमणकारीहरुलाई विभिन्न संघसंस्थाले समेत सहयोग गर्दा समस्या भइरहेको छ,’ उनले भने।

कञ्चनपुरमा वन अतिक्रमणको समस्या जटिल बन्दै गएको डिभिजन वन अधिकृत काफ्लेलेले बताए। ‘कञ्चनपुरको लालझाडी–मोहना संरक्षित वन क्षेत्र चारैतिरबाट अतिक्रमणको चपेटामा परेको छ, सरकारी स्वामित्वमा रहेको वन क्षेत्र बढी अतिक्रमणको चपेटामा छ,’ उनले भने। लालझाडी मोहना संरक्षित क्षेत्र ३५ हजार हेक्टरमा फैलिएको छ।

चुरे फेदीदेखि दक्षिणी क्षेत्रको पुनर्वास नगरपालिकासम्मै फैलिएको यो संरक्षित क्षेत्र जताततै अतिक्रमणको चपेटामा छ। समुदायमा हस्तान्तरण भएका सामुदायिक वन क्षेत्रमा भने अतिक्रमणको समस्या न्यून रहेको उनले बताए। ‘सामुदायिक वनलाई हस्तान्तरण गरेर वन संरक्षणको जिम्मा समुदायलाई दिएका क्षेत्रमा वन अतिक्रमणको समस्या केही हदसम्म कम भएको छ, स्थानीयले वनको संरक्षण गरिरहेका छन्,’ उनले भने।

लालझाडी मोहना संरक्षित क्षेत्रको भेटघाट शिविरमा वन अतिक्रमण गरि बनाइएका घर टहरा ।

तराईका जिल्लामा बढ्दै गएको जनघनत्वले पनि वन अतिक्रमण बढ्दै गएको वन अधिकृत काफ्लेले बताए। लालझाडी- मोहना संरक्षित वनको मछेली खोला किनार बगर क्षेत्र पहिलो चरणमा संरक्षण गर्ने रहेको योजना सबडिभिजन वन कार्यालय बाणिका सहायक वन अधिकृत विश्वराज पण्डितले बताए। ‘विस्तारित अतिक्रमित क्षेत्र पनि खाली गर्ने योजना छ, बगर संरक्षण गरेर वन पनि संरक्षण हुन्छ, नदी कटान पनि रोकिन्छ भन्ने हाम्रो अपेक्षा हो,’ उनले भने।

बगर संरक्षण गर्नसके विरुवा पनःउत्पादन भई राम्राे वन बनाउन सकिने उनले बताए। लालझाडीकै भेटघाट शिविर क्षेत्रमा भएको अतिक्रमण गत वर्ष वन कार्यालयले हटायो। तर, उक्त क्षेत्रमा फेरी घना वस्ती भइसकेको छ। वनभित्रै घर टहरासंगै विद्यालय भवन समेत निर्माण गरिएको सहायक वन अधिकृत पण्डितले बताए। ‘यहाँ ८१ घर परिवार घर टहरा बनाइ बसेका छन्, उक्त क्षेत्रको अतिक्रमण हटाउन खोजएको हो, हटाउन सकिएन्,’ उनले भने ।

कृष्णपुर नगरपालिकाको बैलकुण्डी र भेटघाट शिविरमा सबैभन्दा बढी अतिक्रमण भएको उनले बताए। ‘कतिपयले त स्थायी संरचना नै निर्माण गरेका छन्, हामी अतिक्रमण हटाउन खोज्छौं, अन्यले अतित्रमणकारीलाई सहयोग गर्दा समस्या भएको छ,’ उनले भने।

लालझाडी संरक्षित क्षेत्रमा वन क्षेत्र संरक्षणका लागि विभिन्न गतिविधि भइरहेका डिभिजन वन अधिकृत काफ्लेले बताए। उनका अनुसार डिभिजन वन कार्यालयसँगै तराई भुपरिधि कार्यक्रम, सामुदायिक वन र स्थानीय तहले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेका छन्। ‘तराई भूपरिधिको सहयोगमा ताल संरक्षण, वन पथ निर्माण, वैज्ञानिक वन वयवस्थापन, बगर संरक्षण लगायतका कार्यक्रम भएका छन्,’ उनले भने ।

ताजा समाचार

सम्बन्धित समाचार